गाउने कला भगवानको आर्शिवाद हो : प्रेम परियार

नेपाली चलचित्र ‘नाइँ नभन्नु ल २’ शुक्रबार (आज)देखि सार्वजनिक प्रदर्शनमा आएको छ । विकास आचार्य निर्देशित चलचित्रमा सुरजसिंह ठकुरी, प्रियंका कार्की, जीवन लुइँटेल, सरोज खनाल लगायतको अभिनय रहेको छ ।

‘नाइँ नभन्नु ल २’ले प्रदर्शन अगाडि निकै चर्चा बटुल्न सफल भयो । विशेषतः यसमा समावेश गीतले दर्शक/स्रोतालाई आकर्षित गर्‍यो
‘यी आँखामा तिमी छ्र्यौं
यो मनमा तिमी छ्यौ
देखाउन पो त गाह्रो
जीवनमा तिमी छ्यौ...’

‘मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाउँ
मान्छे नमर्ने सहर हुँदैन..’

‘नाइँ नभन्नु ल २’मा समावेश यी दुई गीतले यसअघि नै दर्शक/स्रोताको ‘वाहिवाही’ पाइसकेका छन् । र, यिनै गीतका १३ वर्षे गायक प्रेम परियार विश्वभरका धेरै नेपालीको मनमा बस्न सफल भइसकेका छन् । केही वर्षअघिसम्म धादिङको मलेखु आसपासमा गीत गाएर हिंड्ने एउटा ‘फुच्चे’ अहिले विश्वभरका नेपालीमाझ ‘हिट’ छन् ।भन्नेले त उनलाई ‘फुच्चे रामकृष्ण ढकाल’को उपमा समेत दिएका छन् । तर, स्वयं उनी भने त्यस्तो ‘परिचय’ रुचाउँदैनन् । उनै गायक प्रेम परियारसँग गरिएको कुराकानीको सम्पादित अंशः

हिजोआज के गर्दै हुनुहुन्छ ?
पढ्दै छु पाँच कक्षामा । झम्सिखेलमा रहेको ‘सुरशाला’मा गायक अमृत क्षेत्रीसँग गायन पनि सिक्दै छु, हप्ताको तीन दिन ।

काठमाडौं कसरी आइपुग्नुभयो, गायनमा कसरी लाग्नुभयो ?
मेरो घर धादिङको मलेखु हो । म मलेखुमा सडकमा गीत गाएर हिंड्थें । सडकमै गीत गाएर हिंड्ने क्रममा एक दिन ‘परिचय’ फिल्मको सुटिङ सकाएर शिशिर राणा भन्ने अनि सुशील क्षेत्रीहरु आउनुभा’को थियो मलेखुमा । उहाँ सुशील क्षेत्री त जसले पनि चिनिहाल्ने हिरो, आगो फिल्मको ! शिशिर राणा (कलाकार) चाँही त्यो बेलामा ‘झ्याइँकुटी झ्याइँ’मा बहुत चर्चित हुनुहुन्थ्यो ।

त्यहिबेला उहाँ (शिशिर राणा)लाई चिनेको भएर मैले गीत गाउँछु भने । उहाँले ‘गाउन त भाइ’ भन्नुभयो । उहाँलाई मेरो गीत राम्रो लागेछ ! त्यसपछि उहाँले मलाई मलेखुबाट काठमाडौं ल्याउनुभयो ।

‘यी आँखामा तिमी छ्रयौ..’ यो गीत गाउने अवसर कसरी मिल्यो ?
उहाँ हाम्रो विकास आचार्य (निर्देशक) सर हुनुहुन्छ । उहाँले यही (नाइँ नभन्नु ल २) फिल्मको लागि बच्चाको स्वर चाहियो भनेर खोज्दै हुनुहुँदोरहेछ ! अनि, अर्को बसन्त सापकोटा (संगीतकार) सरले पनि मलाई एउटा गाउने ठाउँमा चिन्नुभएको थियो । बसन्त सरले विकास सरलाई मेरो बारेमा भन्नुभएछ ! विकास सरले मैले गाएको एउटा गीत यु–ट्युवमा हेर्नुभएछ ! उहाँलाई मेरो स्वर राम्रो लागेपछि मैले यो गीत गाउने अवसर पाएँ ।

अहिलेसम्म तपाइँका कतिवटा गीत रेकर्ड भएका छन् ?
३ वटा ।

प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
मलाई भेट्नुहुनेहरुले यसरी नै गाउँदै जाउ, भविष्यमा ठूलो सिंगर बन्छौं भन्नुहुन्छ ।

तपाइँलाई ‘सानो/फुच्चे रामकृष्ण ढकाल’ पनि भन्न थालिएको छ । यो कुरा तपाइँलाई थाहा छ ?
छ ।

कस्तो लाग्छ गायक रामकृष्ण ढकालसँग तपाइँको नाम जोड्दा ?
मलाई राम्रो लाग्दैन । कुनै पनि मान्छेलाई अरुसँग कम्पेयर गर्नु ठीक होइन । मलाई प्रेम परियार भनेर मान्छेले चिनुन्, ‘रामकृष्ण ढकाल’ भनेर नचिनुन् ।

मलेखुमा तपाइँले गीत गाएर हिंड्दाको भिडियो यु–ट्युवमा राखिएको छ भन्ने थाहा थियो काठमाडौं आउनुअघि ?
थिएन । जतिखेर थाहा पाएँ, कम्प्युटरमा आफैंलाई देखेर खुशी लाग्यो । त्यही भिडियोले पनि म यहाँसम्म आइपुग्नुमा मद्दत गरेको छ । त्यसरी भिडियो खिचेर राख्ने मान्छेहरुलाई अहिले यदी भेटें भने ‘थ्यांक यु’ भन्छु ।

मलेखुमा गीत गाएर हिंड्दा तपाइँलाई कस्तो लाग्थ्यो ?
मलेखुमा सडकमा गीत गाएर हिंड्दा मलाई म भविश्यमा ठूलै गायक हुन्छु होलाझैं लागिरहन्थ्यो । त्यसरी गीत गाएर हिंड्दा पैसा पनि पाउँथे । त्यो पैसा लगेर ममीलाई दिन्थें । अहिले आम्दानी भएको पैसा मेरो आफ्नै खातामा राख्छु । स्कुलमा मैले पैसा तिर्नुपर्दैन, निःशुल्क पढ्न पाएको छु ।

अहिले काठमाडौंमा कोसँग बसिरहनुभएको छ ?
शिशिर राणा । उहाँको साथ पाउनुलाई म आफूलाई ठूलो भाग्यमानी भएको ठान्छु ।

घर कत्तिको जानुहुन्छ ?
लामो छुट्टी भएको बेला घर जान्छु । घरमा ममी, बाबा र म भन्दामुनिका ३ वटा भाइ छन् । मेरो सानो भाइले पनि गीत गाउँछ ।

गायनलाई कसरी अगाडि बढाइरहनुभएको छ ?
म फुर्सदको समयमा मात्रै गाउने गर्छु, अरु बेला पढाईलाई समय दिन्छु । मेरो पहिलो प्राथमिकता अहिले पढाईमा छ ।

गायक अमृत क्षेत्रीले कस्तो सहयोग गरिरहनुभएको छ ?
अरुलाई भन्दा मलाई धेरै ध्यान दिनुहुन्छ । प्रोग्रामहरुमा लैजानुहुन्छ । म उहाँ सँगसँगै प्रोग्राममा हिंड्छु । उहाँसँगै केहीअघि कोरिया गएर आएँ ।

अहिलेसम्म कुन–कुन देश घुम्नुभयो ?
कोरिया, कतार, हङकङ । विदेशमा पुगेर नेपालीहरु भेट्दा धेरै खुशी लाग्यो ।

‘नाइँ नभन्नु ल–२’मा गीत गाएपछि अरु गीतहरुको अफर आयो कि ?
छैन । विदेश भ्रमण चाँही जुरेको छ । जेठ २५ गते अष्ट्रेलिया अनि भदौतिर लण्डन भ्रमण हुने लगभग निश्चित जस्तै भएको छ ।

विदेश भ्रमणले गर्दा पढाइमा असर गर्ला कि ?
स्कुलबाट टाइम मिल्यो भने जान्छु । मिलेन भने जान्न ।

मलेखुमा घुम्दै गाएर हिंड्ने दिनमा र आजको दिनमा के अन्तर पाउनुभएको छ ?
त्यो दिनमा मलाई कसैले चिन्थेनन् । राम्रो ठान्थेनन् । अहिले सबैले राम्रो व्यवहार गर्छन् । अहिले सबैले प्रेम परियार भनेर चिन्छन् ।

तपाइँ जस्तै गीत गाउन चाहने साथीहरुलाई के भन्न चाहनुहुन्छ ?
गाउने कला भगवानको आर्शिवाद हो ! यो कला मलाई भगवानले दिनुभएको हो । गायक बन्नलाई भगवानले नै कला दिनुपर्छ !

अन्त्यमा तपाइँलाई भन्न मन लागेका कुरा ?
मलाई यसरी नै माया गर्नुहोला । मैले गीत गाएको फिल्म ‘नाइँ नभन्नु ल २’ हेरिदिनु होला ।

प्रेम परियारले मलेखुमा हुँदा गाएको गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः
स्रोत: इमेज खबर

No comments:

Post a Comment