मानव बेचबिखनविरुद्ध अभियानकर्ता तिलसरा सुनार पक्राउ

बाँके, वैशाख १६ -
महिलालाई भारतमा पुर्‍याएर बिक्री गर्ने गिरोह सक्रिय पाइएको छ । उक्त आरोपमा एक अभियानकर्मी नै पक्राउ परेकी छिन् । मानव बेचबिखनविरुद्ध अभियानकर्ता तिलसरा सुनार पक्राउ परेकी हुन् । उनीमाथि अनुसन्धान जारी रहेको समयमा  रुकुम रुघा ३ का २५ वर्षीय तपिलाल बिक (तपेन्द्र सुनार) पक्राउ परेका छन् । अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेत नेतृत्वको टोलीले गिरोह बारे सूक्ष्म अनुसन्धान थालेको छ । 'पक्राउ परेका व्यक्तिहरूको बयानबाट महिला बेचबिखनमा गिरोही नै सक्रिय रहेको खुलेको छ,' बस्नेतले भने । बैतडी, काठमाडौं र स्याङ्जाका २० वर्षमुनिका ४ युवतीलाई सिंगापुर, मलेसिया र दुबई पठाइदिने प्रलोभनमा भारत लान खोजेको आरोपमा प्रहरीले तिलसरालाई पक्राउ गरेको थियो । उनीहरूलाई काठमाडौं बोलाई नेपालगन्ज नाकाबाट भारत लान खोजिएको थियो । सीमामा जाँचका क्रममा उनीहरूको उद्धार गरिएको हो ।

तिलसरा मानव बेचबिखनविरुद्धको अभियान चलाउँदै आएको पारालिगल समूहकी सदस्य हुन् । उनलाई विभिन्न संघसंस्थाले आर्थिक सहयोग पनि गर्दै आएका थिए । प्रहरीले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । उनी यसअघि वैदेशिक रोजगारमा पुगेर फर्केकी हुन् ।

वैदेशिक रोजगारमा गएका यस क्षेत्रका करिब ४ सय महिला सम्पर्कविहीन छन् । गत वर्ष मात्र खाडीलगायत मुलुकमा लगिएका मध्यपश्चिमका ४ सय १६ महिला वर्षौंदेखि हराइरहेको भन्दै खोजीका लागि परिवारजनले निवेदन दिएका थिए ।

No comments:

Post a Comment