सहानुभूतिसम्म दिन आएनन् माधव नेपाल

काठमाडौं : 'यही क्षेत्रका नेता हुन् तर दुर्घटनापछि सहानुभूतिसम्म दिन आएनन्', एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको गाडीले किचेर मृत्यु भएकी तीन वर्षीया कसिस्मा मिजारकी दिदी नाता पर्ने रन्जना रम्तेलले महानगरीय प्रहरी वृत्त बानेश्वरमा आइतबार भनिन्, 'सोमबार नानी (मृतक कसिस्मा) को जन्मदिन थियो। सबै मिलेर मनाउने योजनामा थियौं।' यसो भनिरहँदा उनका आँखा आँसुले भरिएका थिए।

सुविधानगर टोल सुधार समितिका पदाधिकारी भने लगातार नेता नेपालका सम्पर्क सूत्रमार्फत परिवारको गुनासो पुर्याउन प्रयासरत थिए। समितिका शशिविक्रम राणा नेता नेपालको मोबाइल स्विच अफ रहेकाले अग्नि खरेलमार्फत सम्पर्क गर्न खोजेको सुनाउँदै थिए। 'नेता नेपालले आएर परिवारलाई भेटे समस्याको समाधान हुने थियो, हामी त्यही प्रयासमा छौं', बानेश्वर वृत्तका प्रमुख रेवती ढकालको कार्यकक्षमा रहेका राणाले भने।

बालिकाका आफन्तले नेपाल आफैं वा उनका आधिकारिक प्रतिनिधिले माफी माग्नुपर्ने माग राख्दै आएका छन्। कसिस्माका आफन्त न्याय माग्न आइतबार बिहानैदेखि बानेश्वर वृत्तमा भेला भएका थिए। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्र्टमार्टम भए पनि शव आफन्तले बुझेका थिएनन्।

कान्तिपुर अस्पतालनजिक जुत्ता पसल चलाएर बस्ने सुन्दर मिजार र कविताकी एक्ली सन्तान थिइन् कसिस्मा। घटना भएको दिन शनिबार सुन्दर पसलमै थिए। आमा कविता र बालिका पनि सँगै थिए। सडकमा खासै चहलपहल थिएन। तर एक्कासि दुईवटा गाडी हुइँकिएर आए। अघिल्लो गाडी अगाडि बढ्यो। नेपालको सुरक्षामा खटिएको पछाडिको गाडीले कसिस्मालाई ठक्कर दियो। भुइँमा लडेकी कसिस्माको टाउको पांग्राले किच्यो। 'पन्ध्र सेकेन्डमा सबै भयो', सुन्दरले भने।

घटनालगत्तै बालिकालाई त्यहीं अगाडि रहेको कान्तिपुर अस्पतालमा पु:याइयो। अस्पतालले उपचार सम्भव नभएको जबाफ दिएपछि उनलाई तत्काल न्युरो अस्पताल बाँसबारी पु:याइए पनि बचाउन सकिएन। न्युरो अस्पतालले शनिबार राति कसिस्माको मृत्यु भएको घोषणा गरेको थियो।

घटनाबारे छलफलका लागि वृत्तमा पुगेका सशस्त्र प्रहरीका उपरीक्षक रत्न पोखरेलले सडक दुर्घटनाको विषय भएकाले प्रचलित कानुनअनुसार कारबाही अघि बढ्ने बताए।परिवारका सदस्यसहितको टोलीले आइतबार नै गृहमन्त्री वामदेव गौतमलाई भेटी आफ्ना माग राखेको छ। गौतमले परिवारले राखेका माग पूरा गर्न प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्ने बताएपछि सोमबार यसबारे कुरा हुने बालिकाका आफन्त विष्णु बिसंखेले बताए।

पूर्वप्रधानमन्त्री नेपालको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको बा १ झ ९५३५ नम्बरको गाडीले ठक्कर दिँदा बालिकाको मृत्यु भएको थियो। नेपाल शनिबार साँझ कोटेश्वरस्थित घरबाट पुरानोबानेश्वरमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएको हो।साभार: अन्नपुर्ण

No comments:

Post a Comment