दलित किशोरीको पत्र -डा. अरूणा उप्रेती

आदरणीय काठमाडौंबासी,
म सिरहा जिल्ला बस्तीपुर गाउँकी १४ वर्षीया धन्नो पासवान हुँ। बस्तीपुरमा २००४ सालमा खुलेको त्यो विद्यालयमा पहिले छात्रछात्रा टाढाटाढाबाट पढ्न आउँथे रे। तर त्यही विद्यालय वरिपरि भएका डुम, पासवान, चमार आदिले कहिल्यै त्यो विद्यालय जान पाएनन् वा सकेनन् त्यसैले हाम्रा बाजेबज्यै र आमाबाबा सबै निरक्षर छन्।

मलाई पनि आमाबाबाले नपढाउने र ५/६ वर्षमा विवाह गरिदिने विचार गरेका थिए। तर केही वर्षअघि बस्तीपुरमा केही संस्था आएर बालकबालिकालाई विद्यालयमा पढाउनैपर्छ भनेर आवश्यक कपीकलम दिएपछि म विद्यालय जान पाएकी छु। अहिले सात कक्षामा पढ्दैछु। हरिया राम, कुसुम पासवान, कमला डुमहरूको त १० वर्षको उमेरमै विवाह भयो र उनीहरूले त विद्यालय पनि छोडिसके।मेरो बाबा कहिलेकाहीँ सहरतिर जाने गरेकाले जानिफकार भएकै कारण मेरो विवाह चाँडै गरिदिएनन्। तर बुबाआमाले पढाउन पठाए पनि घरमा पढ्न पाइँदैन। विद्यालयमा शिक्षकले पाठ बुझाइन भनेर रिसाउनुहुन्छ। विद्यालय त जानै मन लाग्दैन, गए पनि कहिले भागौं जस्तो हुन्छ।

नेपाल सरकारले दलितलाई पढ्न पैसा पनि दिएको छ रे। बस्तीपुरका सबै विद्यालयमा दलितहरू पढ्ने भए पनि त्यहाँ पैसा कहिले आउँछ, कहिले आउँदैन, शिक्षकहरूले माथिबाट पैसा आएको छैन भन्नुहुन्छ। अनि मेरा साथीका आमाबाबाले पैसा नदिए विद्यालय जानु पर्दैन भनेर मेरा साथीलाई विद्यालय पठाउन छोड्नुभयो। म विद्यालय जाँदा मेरा साथी मलाई एकोहोरो हेरिरहन्छन्। मलाई पनि उनीहरू विद्यालय आए कति रमाइलो हुन्थ्यो होला,जस्तो लाग्छ तर के गर्ने दलितले पढेर के पो लछार्छन्? हामीलाई कसैले जागिर दिँदैन। किन पढ्न जानु र?

कतिका आमाबाबुले शुल्क तिर्नुपर्छ भनेर आफ्ना नानीहरूलाई विद्यालय पठाउन छोडेका छन्। सरकारले शुल्क नलिनु भनेको छ रे। तर शिक्षकहरूले अनेक निहुँमा पैसा मागिरहनुहुन्छ। कहिले घर बनाउने भनेर, कहिले परीक्षा शुल्क भनेर, कहिले कम्प्युटर पढाउने भनेर (जबकी कम्प्युटरको क पनि विद्यालयमा छैन), कहिले पुस्तकालय शुल्क (पुस्तक कतै पनि छैनन्) कहिले सरस्वती पूजा भनेर। यसरी पैसा तिर्दातिर्दा दलित परिवार वाक्क व्याक्क भइसकेका छन्। 'न रहे बाँस, नबजे बाँसुरी' भनेर आमाबाबाले 'बरू विद्यालय जान छोडिदेऊ' भन्नुहुन्छ।घरमा नै घाँसदाउरा गर, भाइबहिना हेर भनेपछि म जस्ता किशोरी के गरुन्? जिल्ला शिक्षा कार्यालयमा केही व्यक्तिले यसरी शुल्क लिएकोमा उजुरी पनि दिएका थिए रे। तर जिल्ला शिक्षा अधिकारी त जिल्लामा हुनुहुन्न रे, अरूलाई खासै वास्ता छैन रे भनेर कोही पनि विद्यालयमा हेर्न आउँदैनन्। २००४ सालमा बनेको पुराना विद्यालयमा अहिले खासै पढाइ हुँदैन। त्यसैले विद्यालयमा सय जनाले एसएलसी दिए भने मुस्किलले २/४ जना मात्रै पास हुन्छन्।

सरले भनेको दस कक्षा पास गर्ने मानिस साक्षर हो रे, आफ्नो नाम मात्र लेख्न सक्ने मात्र भए पनि पुग्छ रे। म त साक्षर मात्र होइन पढ्न पनि सक्छु लेख्नु पनि सक्छु। तर कति मेरा साथी दस कक्षामा आफ्नो नामबाहेक अरू केही लेख्न सक्दैनन्। बाहिरबाट आउनु भएको मिस र सरले दस कक्षाको विद्यार्थीको परीक्षा लिँदा धेरैजसोको त ५ कक्षाको विद्यार्थीको जस्तो लेखाइ थियो भनेर उहाँहरू रिसाउनुभयो।किन यस्तो भएको भनेर सोध्दा सरहरूले भन्नुभयो-'हाम्रो विद्यालयमा अहिले दलित वस्तीका छात्रछात्रा पढ्न आउँछन् तर धेरैजसो आउँदैनन्। अनि कक्षामा फेल भयो भनेर कक्षा चढाएन भने आमाबाबु झगडा गर्न आउँछन्। सरकारले कसैलाई पनि फेल गर्न पाइँदैन भनेको छ, तपाइँले किन फेल गराएको? अनि हामीलाई पनि माथिबाट त्यस्तै निर्देशन आएको छ कसैलाई पनि फेल नगराउनु भनेर।

५ कक्षाका विद्यार्थीले अक्षर लेख्न नजाने पनि हामीले पास गराउनैपर्छ। दस कक्षासम्म हामी जसरी भए पनि पुर्‍याउँछौं अनि फेल नभए के गर्ने? हामो तलब त सरकारले दिने हो, सरकारको नियम मान्नुपर्‍यो।' भनेर सरहरूले भन्नुहुन्छ। यसैले हाम्रो विद्यालयमा अहिले धेरै दलित पढे पनि कमै मात्रले एसएलसी पास गर्छन्। जसले पास गर्छन् उनीहरू पनि राम्रोसँग पढ्न लेख्न जान्दैनन्। त्यसैले हाम्रो वस्तीका दलित आमाबाबाले बेकाममा छोरोछोरीलाई किन विद्यालय पठाउनु भनेर काममा दलाउँछन्।

छोरीको विवाह १०/११ नपुग्दै गरिहाल्छन्। मेरी दिदी हल्दिया पासवानको पनि १४ वर्षको उमेरमा पल्लो गाउँको १८ वर्षको किशोरसँग विवाह भएको थियो। विचरी मेरी दिदी, १५ वर्षमा बच्चा पाउन नसकेर मरिन्। मलाई पनि याद छ मेरी दिदी छट्पटिएर आमाका हात समात्दै मलाई दुख्यो,बचाउ भनेकी थिइन। रुँदारुँदै उनी सुस्त भइन् र एकछिनपछि मरिन्।पछि केही व्यक्ति हाम्रो घरमा आएर उनले सानो उमेरमा बच्चा पाएकाले मरिन् भने। मलाई त कस्तो डर लागेको थियो। म पनि धेरै रोएँ। कतै आमाबाबाले विवाह गरिदिए भने मेरो पनि यस्तै अवस्था त हुने होइन, भन्ने सोचें। तर धन्य मेरा आमाबाबाले त्यस्तो गरेनन्।

बालविवाह त हाम्रो गाउँमा जताततै हुन्छ। कति मानिस आएर बाल विवाह अपराध हो। प्रहरीले आएर लैजान्छ भन्छन्। तर प्रहरीले अपराध मान्दैनन्। उनीहरू भन्छन्- बाल विवाह अपराध हो भने सिराहाका धेरै गाउँका मानिसलाई अपराधी मानेर ल्याउनुपर्ने हुन्छ। बरू थाहा नपाएको जस्तै गर्‍यो, ढुक्क। मलाई त कहिलेकाहीँ मनमा आउँछ म पुलिस बन्छु, अनि यसरी बाल विवाह गर्न दिन्न।बाल विवाह नगरेपछि दिदीको अवस्था त भोग्नुपर्दैन होला। तर ओहो ! यो त सपना मात्र हो जस्तो छ। मैले कहिले दस कक्षा पास गर्नु, कहिले प्रहरीको जागिर खानु, कहिले दलितलाई शिक्षा दिनुपर्छ भनेर शिक्षकलाई भन्नु र कहिले बालविवाह रोक्नु? त्यो बेलासम्म मेरा कतिपय साथी बस्तीपुरका दिदीबहिनी विवाह गरेर, आमा बन्दा मरि पनि सक्छन् होलान्। म पनि त भर्खरै १४ वर्षको भएँ के थाहा अर्को वर्ष दलित समाजको दबाबमा परेर मेरा आमाबाबाले विद्यालय छुटाएर विवाह गरिदिने पो हुन् कि? किताबमा लेखिएको कानुनले मलाई बचाउन सक्दैन पनि।

मेरो १५ वर्षको उमेरमा विवाह भए पनि प्रहरीले रोक्न आउँदैनन्। ओहो ! सम्झँदा पनि डर लाग्छ, रुन पनि मन लाग्छ। अबको दुईतीन वर्षपछि म यो संसारमा बाँच्छु कि बाँच्दिन भनेर मुटु ढुकढुक हुन्छ। तर के गर्नु र मेरो भाग्यमै मर्नु रहेछ भने कसले बचाउन सक्छ र? राम्रो पढ्ने, जागिर खाने भाग्य भएको भए म पनि कतै सहरिया आमाबाबाको घरमा जन्म लिएको हुन्थें होला। जसले यी शब्द पढिरहनुभएको छ, उहाँहरूकै बहिनी, छोरी, नातिनी भएर जन्मिथें कि?काठमाडौंबासीले म जस्तै सिरहाका दलित किशोरीलाई बाल विवाहबाट बचाउन प्रहरीलाई भनिदिन सक्नुहुन्छ कि? बस्तीपुरका सबै दलितलाई पढ्ने वातावरण बनाइदिनु हुन्छ कि?

धन्नो पासवान
सिरहा।

(धन्नो महतो दलित किशोरीको अवस्था र आवश्यकता बताउने प्रतिनिधि पात्र हुन्। यो आलेख उनी जस्तै केही किशोरीहरूसँग प्रत्यक्ष संवाद गरी तयार पारिएको हो)
स्रोत : अन्नपुर्ण

No comments:

Post a Comment