१९ वर्षीय भरत बि.क विरुद्ध बालविवाह गरेको आरोप

०७० वैशाख १५ गते, रुकुम ।बाफीकोट गाविस - ८ बस्ने १९ वर्षीय भरत बि.क विरुद्ध बालविवाह गरेको आरोपमा वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । वैशाख १२ गते स्यालापाखा गाविस- ४ की १५ वर्षीया बिस्मती बिसीलाई भगाएर विवाह गरेको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।

उजुरी दर्ता भएपछि प्रहरीले आरोपित वि.कलाई वैशाख १४ गते गिरफ्तार गरेको छ । आरोपितलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।आरोपित पक्षले भने गाउँ घरमा सानै उमेरमा विवाह गर्ने संस्कार भएकाले केटाकेटीले मन पराएर विवाह गरेको बताएका छन् । साथै अन्तरजातीय विवाह भएका कारण बाल विवाहको आरोप लगाएर मुद्दा दर्ता गरेको दावी गरेका छन्  । बालिकाका दाजु टीकाराम विसीले बहिनीको मन्जुरीबिना १५ वर्षीया बालिकालाई जबरजस्ती विवाह गर्न बाध्य गराउने भरत वि.कलाई मुलकी ऐन विहावारी महलको २ (३) नम्बर बमोजिम हदैसम्मको कारबाही गरिपाँउ भनि उजुरी दर्ता गरेका छन् । 

यसै गरी गरिरुघा गाविस-७ का २२ वर्षीय तेजबहादुर परियारले स्यालापाखा गाविस-३ की १५ वर्षीया कल्पना वि.कलाई वैशाख ११ गते बालविवाह गरेको भन्दै माइती पक्षले वैशाख १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । उजुरी दर्ता भएपश्चात जिल्ला प्रहरी कार्यालयले आरोपितलाई वैशाख १५ गते खलंगाबाट गिरफ्तार गरेको छ । 

दुवै घटनामा आरेपितपक्षले आफूहरूको सहमतिमै विवाह भएको बताएका छन् । जिल्लामा बालविवाह मौलाइरहेको भए पनि यी घटनाहरू पहिलो पटक उजुरीको रुपमा दर्ता भएपछि केही हदसम्म रोकिने अधिकारकर्मीहरू भनाई रहेको छ । जिल्लामा पहिलो पटक बालविवाहको घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment