मैनाकी आमा देवी का दाजुकी छोरीलाई तत्कालीन शाही सेनाले विना कसुर पक्रेर बलात्कारपछि हत्या गर्छ । त्यो घटनालाई देवीले पत्रकार र मानव अधिकारवादीसमक्ष पुर्याएर सार्वजनिक गर्न सहयोग पर्याउँछिन् । त्यो थाहा पाएर सेना २०६० चैत ५ गते माओवादीको आरोपमा उनलाई पक्रीन काभ्रेको खरेलथोक पुग्छ । तर, उनी माइतबाट फर्केकी हुन्नन् । त्यसैले घरमा भेटिएकी छोरी मैनालाई नै सेनाले लैजान्छ ।२०६० फागुन ५ गते नेपाली सेनाका अधिकृतहरूले १५ वर्षीय मैना सुनुवारलाई काभ्रेपलाञ्चोक जिल्लाको उनको आफ्नो घरबाट श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा लगे । सो तालिम केन्द्रमा दुई सहसेनानीसहित सात नेपाली सेनाका अधिकृत र सैनिकको उपस्थितिमा उनलाई यातना दिइयो ।
तत्कालीन प्रमुख सेनानी बबी खत्रीको आदेशबमोजिम ६-७ पटक एक मिनेट सम्म पानीको एउटा ठूलो भाँडोमा मैना सुनुवारको टाउको डुबाइयो । त्यसपछि सैनिकहरूले उनका भिजेका हात र खुट्टामा चार-पाँचपटक करेन्ट लगाए । यो यातना डेढघण्टा जारी रह्यो र यसपछि उनलाई तालिम केन्द्रको परिसरमा भएको एउटा भवनमा थुनियो जहाँ उनलाई आँखामा पट्टी र हातमा हतकडी लगाएर छोडियो । उनले पछि वान्ता गर्न र मुखमा फिंज काढ्न थालिन र औपधी उपचार नपाइकन उनको मृत्यु भयो ।मैना सुनुवारको यातनामा संलग्न अधिकृत र सैनिकहरूले यो मृत्युको ढाकछोप गर्न प्रयत्न गरे ।उनको शवको पिठ्यूँमा गोली हानिएको र यसलाई तालिम केन्द्रभित्र गाडिएको थियो । त्यसपछि उक्त तालिम केन्द्रका तत्कालीन इन्चार्ज महासेनानीले नेपाली सेनाको हिरासतबाट भाग्न खोज्दा मैना सुनुवारलाई गोली हानिएको भन्दै बनावटी प्रतिवेदन तयार गरे ।
रक्षा मन्त्रीले दोषि लाई बचाएपछि मैना सुनुवारको आमाको चिट्ठी
माननीय रक्षा मन्त्री बिद्या भण्डारी ज्यू,
मेरो नाम देवी सुनुवारहो । म तत्कालीन शाही नेपालीसेनाद्वारा पाँच बर्ष अघि निर्ममतापूर्वक हत्या गरिएकी १५ वर्षिया बालिका मैना सुनुवारकी आमा हुँ । मेरी छोरीको हत्या र उनी माथि भएको अन्यायका सम्बन्धमा तपाइलाईपक्कै पनि अवगतहोला भन्ने आशालिएकी छु । मेरी छोरीको हत्यामा संलग्न एकजना हत्यारा मेजर निरन्जन बस्नेतलाई प्रहरी निकायमा सुम्पन प्रधानमन्त्री र गृहमन्त्रीद्वारा आग्रह भएकोमा तपाईले सहयोग नगरेको संचार माध्यमहरुको समाचारप्रति आश्चर्य मान्दै यो पत्र प्रेषित गरेकी हुँ । सेप्टेम्बर २००९मा काभ्रे जिल्ला अदालतले निजलाई पद बाट निलम्बन गर्न गरेको आदेश तथा हालसालै अफ्रिकाको चाड गणतन्त्रमा पठाइएका निज बस्नेतलाई संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिशनमा सम्मिलित हुनबाट रोक लगाई नेपाल फर्काइएपछि अन्ततः कमसेकम एकजना आरोपीलाई मात्र भए पनि अदालत समक्ष प्रस्तुत गरिनेछ भन्ने केही आशा पलाएको थियो । सेनानी बस्नेतलाई संयुक्त राष्ट्रसंघले फिर्ता पठाएपछि न्यायप्रति पलाएको झिनो आशा मन्त्रीज्यूबाट सहयोग नभएको भन्ने भर्खरैको समाचारले मरेर गएको छ ।
म त साधारण लेखपढ मात्र गर्नसक्ने महिला हुँ र म धेरै कुरा जान्दिन । मेरो बुझाईमा रक्षामन्त्री भनेको आफना देशका जनता र देशको सार्वभौमतालाई रक्षा गर्ने जिम्मा पाएका व्यक्ति हुन् । तथापि राज्य र जनताको सुरक्षा गर्ने कसम खाएका तपाईको मन्त्रालय अन्तर्गतका तिनै सैनिकहरुले मेरी छोरीलाई यातनादिई निर्ममतापूर्ण ढङ्गले मारिदिए । हाल आएर संयुक्त राष्ट्रसंघले समेत निरञ्जन बस्नेतलाई शान्ति स्थापना मिशनबाट बर्खास्त गरिदिएको परिप्रेक्षमा निज बस्नेतलाई प्रहरीकहाँ बुझाई नागरिक अदालतको कठघरामा उभ्याउन बाट तपाईलाई के त्यस्तो अप्ठेरो आइलाग्यो ? मलाई आश्चर्य लागेको छ ।
तपाई जस्तै म पनि एक विधवा हुँ । विधवा हुनुको पीडा तपाई र म दुवैलाई राम्ररी थाहा छ । तर मलाई लाग्छ सन्तान गुमाउनुको पीडा अन्य कुरा गुमाउनुको पीडा भन्दा पनि असह्य हुदो रहेछ । कल्पना मात्र गर्नुस् त आफ्नो प्यारो सन्तानलाई सैनिकहरुले लगेर लगेको हैन भन्ने- आफनो छोरीको अवस्था केछ भनेर बर्षौसम्म बाच्नु पर्ने- र त्यसपछि आफ्नो घर गाउँर सपनाहरु छाडेर आफ्नो छोरीको अवस्थापत्ता लगाइ दिनु भन्दै एउटा संस्थादेखिअर्को संस्थामा भौतारिदै याचना गर्ने र छोरीको खोजी गर्ने क्रममा लुक्दैलुक्दै हिड्नुपर्ने, कति पीडा हुन्छ त ? र त्यसपछि छोरीलाई सैनिकहरुले पक्राउपछि पानीमा डुबाए र उनकोभिजेको शरीरमा मृत्यु नहुन्ञ्जेल करेण्ट लगाए भन्ने कुरा सुन्नुपर्ने- त्यसपछि पनि छोरीको शवका अवशेषहरुको खोजी गरिदिनुस भन्दै एक संस्थाबाट अर्को संस्थामा याचना गर्नुपर्ने ।
मन्त्री महोदय, मेरो पीडाको बयानम शब्दबाट गर्न सक्दिन । मलाई थाहा छ कसैले पनि त्यो वेदनाको सायद कल्पना सम्म मात्र पनि गर्न सक्दैन । तर म त त्यस्तो अभागी आमा हुँ जसले आफ्नी प्यारी छोरीको अस्थिपञ्जर जस्तो विभत्स दृश्य हेर्न वाध्य हुनुपर्यो । रातमा मात्र देख्न सकिने दुःख स्वप्न मैले दिउँसै देख्नुपर्यो । यति मात्र भएको भए त हुन्थ्यो तर मैले त मेरी छोरीको अन्तिम काजक्रिया समेत गर्न सकेकी छुइन किनकि मेरी छोरीको कंकाल अझै पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा राखिएको छ । मेरी छोरीलाई त्यस्तो हालतमा पुर्याउने पीडकहरू लाई नागरिक अदालतको कठघरामा उभ्याई कारबाही नभएसम्म मेरी छोरीको मैले छोरीलाई अन्तिम श्रद्धाञ्जली दिन सक्ने अवस्थामा समेत म छुइन । मलाई प्रत्येक पल बाँच्न गाह्रो भएको अनुभूति हुन्छ तैपनि छोरीलाई न्याय दिलाउने आशाले मलाई जीवित राखेको छ ।
द्वन्द्वकालमा घटेकामानवअधिकार हननका घटनाका भयावहता बारे त यहाँलाई अवगतनै होला । हजारौ मारिए र उस्तैसाख्यामा मानिसहरु बेपत्ता पारिए र यातनाका शिकार बनाईए । तर किनएउटै अपराधी लाई पनि कारवाही हुदैन? यहाले गर्नुभएको दण्डहीनता अन्त्यको प्रतिबद्धता कहिले पुरा हुन्छन होला ? नेपालमा जरा गाढेर बसेको दण्डहीनताको अन्त्य गर्न जवाफदेहीताको प्रतिबद्धता जनाएर मात्र हुदैनभन्ने तथ्य त तपाईलाई राम्रो संग थाहा होला । यसको शुरुवातत अपराधमा संलग्न दोषीलाई कारवाही गरेर मात्र गर्न सकिन्छ । तसर्थ, मेरी प्यारी छोरीलाई हाड हरुको थुप्रोमा परिणत गर्ने ती हत्याराहरूलाई पक्राउ गरी नागरिक अदालतमा उनीहरूको अभियोजनगरी दण्डहीनताकोअन्त्य गर्ने कार्यको थालनी गर्न विनम्र अनुरोध गर्दछु ।
मलाईआशाछ न्यायको लागि मेरी छोरीको अस्थिपञ्जरले गरेका क्रन्दन हरू तपाईले सुन्नु हुनेछ र मेजर बस्नेतलाई प्रहरीकहाँ बुझाउन सहयोग पुर्याउनुहुनेछ ।
धन्यवाद ।
देवी सुनुवार
२० पौष, २०६६
सेनाले पक्राउ नै नगरेको जवाफ पाएकी मैनाकी आमाले छोरीको खोजीमा प्रहरी, जिल्ला प्रशासनदेखि मानव अधिकारवादी संघ–संस्थासम्म धाउँछिन् । घटना सार्वजनिक भएर चौतर्फी दबाब आएपछि सेनाले मैनाको हत्या भएको स्वीकार गर्छ । त्यसपछि मैनाको शव–उत्खनन गर्ने र दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढ्छ । तर, पनि दोषीलाई हुनुपर्ने कारबाही अझै हुनसकेको छैन ।
No comments:
Post a Comment