अन्तरजातीय विवाह गरेकै कारण दलित महिला नागरिकता पाउनबाट वञ्चित

०७१ वैशाख १ गते, खोटाङ । अन्तरजातीय विवाह गरेकै कारण एक दलित महिला नागरिकता पाउनबाट वञ्चित भएकी छन् । आफ्नो नागरिकता नभएकै कारण छोराको जन्मदर्ता समेत गराउन नपाउँदा उनी झन् समस्यामा परेकी छन् । नागरिकता बनाउन पतिको नागरिकता र आफ्नो विवाहदर्ता नभएपछि दुवेकोल गाविस-६ की ४० वर्षीया फूलमाया नेपालीले नागरिकता पाउन नसकेकी हुन् ।

०५४ असोज ३ गते सोही स्थानका विद्यापती भट्टराईसँग अन्तरजातीय विवाह गरेकी उनको विवाहदर्ता नहुँदा नागरिकता बनेको छैन भने उनको १५ वर्षीय छोरा दुर्गाराज भट्टराईको समेत जन्मदर्ता हुन नसकेपछि समस्या आइपरेको छ । उनका छोरा अहिले गंगोदय मावि दुवेकोलमा कक्षा-७ मा पढ्छन् । कक्षा ८ देखि जन्मदर्ता अनिवार्य चाहिने भएपछि छोराको जन्मदर्ता गराउन खोज्दा गाविस सचिवले प्रक्रिया पुर्‍याउन कागजात माग्ने गरेपछि जन्मदर्ता हुन सकेको छैन ।

पति ०६४ साललेखि बेपत्ता भएको पीडितले बताइन् । नागरिकता बनाउन घरपट्टि पतिको आफन्तहरूले सनाखत नगरिदिएपछि महिला थप समस्यामा परेकी हुन् । महिलाले नाता कायम गरी पतिको नामबाट नागरिकता पाउँ भनी ०७० पुस ३० गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि हालसम्म नागरिकता पाउन सकेकी छैनन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेलले पतिको नागरिकता र विवाहदर्ता नभएको र नाता कायमको प्रमाण नभएपछि हालसम्म नागरिकता पाउन नसकेको बताए । नागरिकता नबन्दा छोराको पढाईमा पनि समस्या हुने पीडित महिलाले गुनासो गरिन् ।

यसअघि पीडितले ०६४ सालमा जिल्ला अदालत खोटाङमा हाडनाता कायम गरी पाउँभनी जाहेरी दिए पनि कारबाही प्रक्रिया अघि नबढेको उनको गुनासो छ । जिल्ला अदालतका श्रेस्तेदार भीष्म भट्टराईले आवश्यक प्रमाण नभएकाले पीडितको जाहेरीबारे प्रक्रिया अघि नबढेको बताए । पीडित महिलाले नागरिकता बनाउन गुहार मागे पनि कुनै नाता सम्बन्ध छैन भनेर भट्टराई परिवारका आफन्तले धम्की दिने गरेपछि नागरिकता पाउनबाट उनी वञ्चित भएकी हुन् ।

No comments:

Post a Comment