बिसु पर्वका दिन एकआपसमा सिस्नो लगाउन र प्रतिकार गर्न व्यस्त

अछाम सदरमुकाम मंगलसैनमा भाउजूलाई लगाउने सिस्नो काट्दै युवती।
अछाम : सदरमुकाम मंगलसैन गाविस ५ की कविता विकले आइतबार राम्रोसँग खाना खानसमेत पाइनन्। उनका देवरहरूले बिहानदेखि बेलुकासम्म पटकपटक सिस्नो लगाए। बिहान उठ्नेबित्तिकै धारामा नुहाउन जाँदा उनका देवरले सिस्नो लगाउन थालेका हुन्।
तर उनले देवरसँगको कुनै रिसइबिका कारण सिस्नो खानुपरेको भने होइन। यहाँ मनाइने परम्परागत बिसु तिहारका अवसरमा देवरले भाउजूलाई यसरी सिस्नो लगाउने गर्छन्। कवितामात्र गाउँका अधिकांश महिला नयाँ वर्षको सन्दर्भमा बिसु पर्वका दिन एकआपसमा सिस्नो लगाउन र प्रतिकार गर्न व्यस्त देखिन्थे।
जसका धेरै देवर तथा नन्द हुन्छन्, ती महिलाले सिस्नोको मार बढी खेप्नुपर्ने हुन्छ। बिसु तिहारमा सिस्नो लगाउने परम्परा पहिलेदेखिकै हो।
यो परम्परा सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा छ। देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ।
बिसु पर्वको दिन शरीरमा सिस्नो लाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको बस्ती ६ की सरस्वती जैसी बताउँछिन्।
बिसु तिहारमा महिलाहरूले पुतला नाच खेल्ने रा पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने गर्छन्। केही दिनपहिलेदेखि नै अछाम, बाजुरालगायत जिल्लाका गाउँमा महिलाले पुतला खेल सुरु गरेका थिए। बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी 'गतानी डुब्का' (स्थानीय खानाको परिकार) पकाएर खाने चलन छ।
हिन्दु सम्राट् विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ। सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ। नयाँ वर्ष, बिसु तिहारका साथै चैते दसैंसमेत यसै महिना परेकाले नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमेली एक साताअघिदेखि नै घर फर्किएका छन्।साभार : अन्नपुर्ण

No comments:

Post a Comment