दलितसँग एकै ठाउँमा बसेर खाए नेपालमा समाजवाद आउने -कलवार

काठमाडौं । भारतबाट अतिक्रमण गरिएको नेपालीभूमि सुस्ताको समेत प्रतिनिधित्व गर्ने नवलपरासी-६ का कांग्रेस सभासद देवकरणप्रसाद कलवारको समाजवाद सम्बन्धी परिभाषा ज्यादै सरल छ । उखु उत्पादक किसानसमेत रहेका कलबारले दोस्रो संविधानसभामा तमलोपाका चर्चित नेता हृदयेश त्रिपाठीलाई यही ‘समाजवाद’को सूत्र प्रयोग गरेरै करिब ६ हजार मतान्तरले हराएका हुन् ।
पूर्वकम्युनिष्ट समेत रहेका नेता त्रिपाठीले दलित समुदायका मानिससँग एउटै टेबलमा बसेर खाना नखाने गरेको र दलितमाथि भेदभाव गर्ने गरेको कलवारको आरोप छ । ‘उहाँ जुन भाषण गर्नुहुन्छ, त्यो व्यवहारमा छैन, कलबारले अनलाइनखबरसँग भने-’मेरो सानो झुप्रो घर छ, म सामान्य किसान हुँ । म दलित भए पनि, बाहुन भए पनि एउटै टेबलमा खाना खान्छु ।’
तर, मधेसवाद र जातीय अधिकारको वकालत गर्ने पूर्वमन्त्री त्रिपाठीले दलितसँग एकै ठाउँमा बसेर खाए नेपालमा समाजवाद आउने कलवारको भनाइ छ । ‘एउटा कार्यक्रममा मानिसहरुले मलाई प्रश्न गरे, आप समाजवादका व्याख्या कर दिजिए,’ कलवार अनलाइनखबरसँग भन्छन्- मैले उनीहरुलाई भनें, समाजवाद भनेको हृदयेश त्रिपाठी बाहुन र उनैका कार्यकर्ता छविलाल दलितलाई एउटै टेबुलमा राखेर खाना खुवाइदिनोस्, समाजवाद त्यही हो ।’
पहिलो संविधानसभा चुनावमा त्रिपाठीसँग १ सय ७३ मतले हारेका का कांग्रेस नेता कलवारले दोस्रो संविधानसभा चुनावमा भने उनलाई ६ हजार मतले पटाडि पारेका छन् । ‘त्यसबेला त्रिपाठीको प्राविधिक जित थियो, अहिले मैले ६ हजार मतान्त्रले जितें, जनताको विश्वास लिएर आएको हुँ, चुनावमा उहाँसम्म मैले खासै सामना गर्नु परेन ।’
हृदयेश र कलबार एउटै गाविसका बासिन्दा हुन् । त्रिपाठी मन्त्री हुँदा कलबार वागिस अध्यक्ष मात्रै थिए । ‘गाविस अध्यक्षमा जितेको र जनतासँग राम्रो सम्बन्ध भएकाले मैले जतें,उनले अनलाइनखबरसँग भने-’मेरो जिल्लामा मधेसवादको कुनै प्रभाव छैन ।’
मधेसवादको अर्को वकालत गर्ने अधिकांश नेताहरुले नै तराईका दलितमाथि चरम विभेद र भेदभाव गर्ने गरेको सभासद कलवारको आरोप छ ।
तर, तमलोपा नेता त्रिपाठीले भने कलवारको आरोपलाई निराधार र वाहियात आरोपको संज्ञा दिएका छन् । ‘यसबारे मलाई होइन, जिल्लाका दलित समुदायलाई सोधे हुन्छ,’ त्रिपाठीले अनलाइनखबरसँग भने- ‘त्यस्तो गरेको भए विगतका चार-चारवटा चुनाव मैले कसरी जितें होला ?’
सुस्ताको समस्याबारे आवाज उठाउँछु- कलवार
सभासद कलवारले आफूले संविधान निर्माणका साथै सुस्तावासीको समस्या, गण्डकको कटान समस्या र उखु उत्पादक किसानहरुको समस्याका विषयमा आवाज उठाउने बताएका छन् ।
‘जनताले मलाई संविधान बनाउन पठाएका छन्, तर म त्यहाँको विकासको मुद्दा पनि उठाउँछु, उखु किसानको मुद्दा उठाउँछु । गण्डकको डुबान समस्या छ, बाटोघाटोको समस्या छ । लालपूर्जाको समस्या छ ।’
पूर्वमन्त्री त्रिपाठीले पटक-पटक जितेर पनि केही नगरेको कलवारको आरोप छ । ‘हृदयेशजीले पहिले जितेर पनि केही गर्नुभएन, म जनताको काम गरेर देखाउँछु ।’ उनले भने, ‘सुस्ताको समस्या समाधानका लागि बजेट शाखामा राखेका छौं । पहिले सुस्तालाई सुरक्षित गर्ने मेरो लक्ष छ । त्यसपछि नागरिकताको समस्या छ । त्यसपछि पुलको काम गर्नुपर्छ । पहिले सुस्ता बचाऔं, सुस्ताबासीलाई अन्याय भएको छ । राज्यबाट पनि भयंकर अन्याय भएको छ ।’
सुस्ताबारे नबोलेको आरोप
सुस्तामा भारतबाट नेपाली भूमि मिचिएको सम्बन्धमा पूर्वप्रधानमन्त्री डा. बाबुारम भट्टराई र हृदयेश त्रिपाठीले नबोलेको कलवारको आरोप छ । ‘गण्डक बाँधले कटान गरिरहेको थियो, त्यतिखेर बाबुराम भट्टराई र हृदयेशजी त्यहाँ जानुभएको थियो, बाबुरामजीले मन्तव्य दिइसकेपछि मैले उहाँलाई भने, प्रधानमन्त्री ज्यू, तपाई सुस्ता भ्रमण गरेर आइसकेको व्यक्ति हो, सुस्तामा कटान भइराखेको छ, तपाईले बोलिदिनुपर्‍यो,’ कलवारले भने- उहाँले बोल्नुभएन, त्रिपाठीजीले सुस्ता विवादित जग्गा हो, त्यसबारे बोल्न मिल्दैन भन्नुभयो ।’
सभासद कलवारको प्रश्न छ- ‘प्रधानमन्त्री र मन्त्री भइसकेका व्यक्तिले त्यो हाम्रो मुटु सुस्तालाई त्यसो गर्न सुहाउँछ ?’ वि.सं. ०३९ सालमा भारतबाट अधिकांश भूमि कब्जा गरिएको सुस्तामा ३ सय नेपालीले नागरिकता पाएको तर त्यहाँ १ हजार भन्दा बढी नेपालीहरु अझै पनि नागरिकताविहीन रहेको उनले बताए ।
-साभार: -अनलाइनखबर

No comments:

Post a Comment