माधव नेपालको पछुवा गाडीले बालिका किच्यो

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको गाडीले किचेर एक बालिकाको मृत्यु भएको छ। नेता नेपालको सुरक्षाका लागि पछुवाका रूपमा खटिएको सशस्त्र प्रहरीको बा १ झ ९५३५ नम्बरको गाडीले नयाँबानेश्वर कान्तिपुर अस्पतालनजिक जुत्ता सिलाएर बस्ने सुन्दर मिजारकी तीन वर्षीया छोरी कसिस्मालाई शनिबार साँझ ठक्कर दिएर टाउकोमा कुल्चेको थियो। उनको न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा राति मृत्यु भएको हो।

बालिकालाई ठक्कर दिएपछि उक्त गाडी रोकिए पनि नेपाल चढेको गाडी भने रोकिएन। नेपाल शनिबार साँझ कोटेश्वरस्थित घरबाट पुरानोबानेश्वरमा एक कार्यक्रममा सहभागी हुन जाँदै थिए। उनका सहयोगी नितेश पौडेलले नेपाल कुन कार्यक्रममा जाँदै थिए भन्नेबारे भने जानकारी नभएको बताए।

गाडीका सशस्त्र प्रहरीले घाइते बालिकाको उद्धार नगरी भागेर बानेश्वर प्रहरी वृत्तमा शरण लिएका थिए। सशस्त्रले बाटौमै छाडेको गाडी प्रहरीले वृत्तमा पु:याएको थियो। प्रत्यक्षदर्शी विनोद मान्नधरले नेपाल चढेको अगाडिको गाडी दुर्घटनापछि केही सेकेन्डमात्र अडिएर हुइँकिएको बताए। 'पछाडिको गाडीमा रहेका सशस्त्र प्रहरी त केही नहेरी हतियार बोकेर भागे। हामीले बालिकालाई कान्तिपुर अस्पताल पु:याएका हौं, मानन्धरले भने। बालिकालाई उद्धार गर्नुको साटो सशस्त्र प्रहरी भागेको भन्दै स्थानीयले केही समय विरोध प्रदर्शनसमेत गरेका थिए।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सिंहबहादुर श्रेष्ठले एमाले नेता नेपालकै सुरक्षाका लागि खटिएको गाडीबाट दुर्घटना भएको पुष्टि गरे। उनले दुर्घटनापछि उद्धार नगरी प्रहरी भागेको विषयमा भने, 'गाडीमा तल्लो दर्जाका प्रहरी थिए, बुद्धि पुगेनछ। बानेश्वर वृत्तका डीएसपी रेवती ढकालले चालक सशस्त्रका जवान कपिलबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।

No comments:

Post a Comment