यो कुरा कसरी पनि पुष्टि हुन्छ भने कुनै पनि दलित समुदायका व्यक्तिले कसैलाई आफ्नो परिचय दिँंदा पक्कै म फलानो दलित भनेर दिँदैन । अर्थात् उसले आफ्नो परिचय फलानो विश्वकर्मा/नेपाली वा थर राखेर परिचय दिन्छ, हैन र ? कामी भन्दा हेपियौं भनेर विश्वकर्मा राख्यौं । तर फलामका देवता भन्दै हरेक वर्ष विश्वकर्मा बाबाको पूजा गर्ने यो समाज त्यही भगवान्को नाम गरेका समुदायलाई भने मान्छे पनि ठान्दैन, किन त ? नेपाली शब्द नराम्रो हो त ? तर नेपाली लेख्ने परियार समुदायप्रति घृणा किन ?
अपहेलित शब्द नहोस् भनेर महात्मा गान्धीले भारतका अछूत समुदायलाई 'हरिजन' नाम दिए, तर यसको अर्थ ज्यादै राम्रो भएर पनि उक्त संज्ञा दिइएका समुदायप्रति हेर्ने सामाजिक दृष्टिकोण नफेरिएकाले अन्ततः यो शब्द पनि अपमानबोधक शब्दमै परिणत भयो । तसर्थ यसबाट के प्रस्ट हुन्छ भने यदि दलितलाई बाहुनकै संज्ञा दिने हो भने पनि निश्चित छ, अहिले सर्वाेच्च मानिने 'बाहुन्' शब्द पनि बिटुलिनेछ । अर्थात् उसलाई भोलि कुन् बाहुन भनेर केरकार गरिनेछ, अहिले उपाध्याय कि जैशी भनेर कित्ताकाट गरिए जस्तै । उसो त अहिले पनि आचार्य, शाही आदि थर भएका दलितलाई केरकार भइरहेकै छ, ठाउँ-ठाउँमा । तसर्थ हामीले बुझ्नु जरुरी छ- शब्द फेर्दैमा वा राम्रो राख्दैमा दलितले सम्मान पाउनेवाला छैन, जातीय विभेदबाट मुक्ति मिल्नेवाला छैन । यद्यपि यो -दलित) शब्द एकदिन त त्याग्ने नै हो, तर अहिल्यै बेला भइसकेको छैन । अहिल्यै यो शब्द हटाएर राम्रो शब्द खोज्नु भनेको सुकुम्वासीलाई जमिन नपाउँदै जमिनदारको नाम दिनु जस्तै हो । जुन दिन यो देशमा दलित समुदायमाथि जातका आधारमा भेदभाव र छुवाछूत हुन छाड्नेछ, अनि त्यसबाट सिर्जित सारा असमानताको अन्त्य हुनेछ । त्यो दिन दलित शब्दको पनि स्वतः अन्त्य हुनेछ ।
No comments:
Post a Comment