दलित भर्सेज दलित (दाल छोएको विवादमा किशोरको हत्या)

प्रेम नेपाली - जातीय विभेद र छुवाछूतविरुद्ध सरकारी तथा गैरसरकारी क्षेत्रबाट जनचेतना जगाउने काम हुन थालेको वर्षौं बित्यो। तर, यस्ता अभियानको प्रभाव दूरदराजसम्म अझै पुगेको छैन भन्ने पाङ-२, सार्कीथर, पर्वतको एउटा घटनाले छर्लंग पारेको छ। छुवाछूतकै कारण उक्त गाउँका राजेश सार्की, १५, ले ज्यान नै गुमाए। त्यो पनि दलित समुदायका दुई थरबीच भएको भेदभावमा। २१ चैतमा सिकिस्त अवस्थामा अस्पताल लगिएका सार्कीको निधन भएपछि उनकी आमा सन्तुकुमारीका आँखा अझै ओभाएका छैनन्।
छिमेकी चन्द्रबहादुर विकको छोराको व्रतबन्धमा सार्कीले दाल छोइदियो भन्दै दुई पक्षवीच विवाद भएको थियो। कुल देवतालाई चढाउनुपर्ने दाल छोएर बिटुलो पारिदियो भन्दै विश्वकर्मा पक्षले अपमान गरेपछि सार्की युवाले भोजभतेर बहिष्कार गरेका थिए। भोज बहिष्कार गरेको कुरा २१ चैत राती नाचगानका क्रममा फेरि बल्झियो। आक्रोश पोख्दै केही विश्वकर्मा युवाले बन्दै गरेको घरको टिनमा ढुंगामुढा गरे। आफ्नो घरमा आक्रमण गरेको थाहा पाएर त्यहाँ पुगेका राजेशलाई राती मदिराले मात्तिएका युवाले अन्धाधुन्ध आक्रमण गरेको प्रत्यक्षदर्शी शम्भु सार्की बताउँछन्। “हामीसँग निहुँ खोज्ने भन्दै जे पायो त्यसैले हिर्काए,” उनी भन्छन्, “मलाई पनि हिर्काएका थिए, म उठेर भाग्न सकेकाले ज्यान बच्यो।”
लाठी, दाबिलो, फलामको डुम्रोले निर्घात कुटिएका राजेश राती नफर्केपछि खोज्दै जाँदा खाल्डो नजिकै रगताम्य भेटिएका थिए। लगत्तै उनलाई गाउँकै मेडिकल हल, बाग्लुङ अस्पताल र त्यहाँबाट पनि पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनको नौ दिनपछि मृत्यु भयो।
अघिपछि मिलेर बस्दै आएका छिमेकीहरू पूजाको दिनमा ठूलो र सानो जात भन्दै विवादमा उत्रिएका थिए। देवतालाई चोखो चढाउनुपर्छ, छोइयो भनेपछि व्रतबन्धमा सहयोग गर्न पुगेका सार्की युवा आफ्नो अपमान भएको भन्दै फर्किएका थिए। मदिराको तालमा दिउँसो दाल छोइदिएको कुरा उठेपछि केही विश्वकर्मा युवा सार्कीलाई ठीक पार्नुपर्छ भन्दै तातिएको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ।
समाजमा कथित तल्लो जात भनिएका समुदाय नै आन्तरकि छुवाछूतका कारण आपसमा भिडेपछि सिंगो दलित बस्ती नै शोकमग्न छ अहिले। एक वर्षअघि पति रामबहादुरलाई रक्त क्यान्सर भएर गुमाएकी सन्तुकुमारीका एउटै छोरा पनि रहेनन्। श्री पाङ धैरेनी उमावि कुनाको चौरमा आठ कक्षामा पढ्दै गरेका राजेशले नै खेतीकिसानी र अधियाँ गरेर आमा र दुई बहिनीलाई पाल्दै आएका थिए। घटनाको दिन पनि उनी दिनभर हलो जोत्न खेतमा पुगेका थिए। दिउँसो व्रतबन्धमा छुवाछूतको विषयलाई लिएर विवाद भएको बारे बेखबर उनी राती बन्दै गरेको घरमा आक्रमण भएपछि सम्झाउन पुग्दा मारिएका थिए।
घटनापछि सन्तुकुमारीले दोषीमाथि कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएकी छन्। राजेशको मृत्युपछि उनका ठूलो बुबा किरिया बसेका छन्। मावलीको सहयोगमा बन्दै गरेको घर अहिले अलपत्र परेको छ। उता ठूलो र सानो भन्ने विवादमा आफ्नै साथीको हत्या अभियोगमा छोरासहित अन्य युवा पक्राउ परेपछि चन्द्रबहादुरको परिवार पनि पश्चात्तापमा छ। घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले चन्द्रबहादुरका छोरा रामकृष्ण, विष्णु सुनार, अशोक सुनार, चन्द्रबहादुर विक, अर्मदीका मोहन विक र प्रकाश विकविरुद्व कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको छ। अनेक खालका अभियान छेड्ने सामाजिक संघसंस्थाहरू यस घटनाबाट थाहा नपाएजस्तो गरिरहेका छन् । यस्तो बनावटी अनभिज्ञताले समाजमा विभेद बढाउन मात्र प्रोत्साहन मिल्ने स्थानीयको भनाइ छ ।
साभार : नेपाल राष्ट्रिय साप्ताहिक

No comments:

Post a Comment