अन्तरजातीय जोडीले प्रोत्साहन रकम पाएनन् -अशोक दर्नाल

ललितपुर, चैत्र २९ - अन्तरजातीय विवाह गरेका ललितपुरका ३३ जोडीले प्रोत्साहन रकम पाएका छैनन् । तीमध्ये गत वर्षसम्मका २१ र यस वर्ष निवेदन दिएका १२ छन् । मानिखेल ४ बस्ने विनोद परियार र इशा राईको जोडी तीमध्ये एक हो । दर्जनौंपटक जिल्ला प्रशासन धाउँदा पनि रकम नपाएको उनीहरूले बताए । 'व्यवसाय गर्ने सोच थियो, पैसा पाउनै सकिएन,' परियारले भने । विशंखुनारायण ५ का सुमन सुचीकार र विनीता महर्जनले पनि निवेदन दिएको ८ महिना बितिसकेको छ । प्रशासनले चासो नदिएका कारण रकम नपाएको सुचीकारले बताए ।
बडिखेल १ का सुनाम सिजापति र सिजल परियार, गोदामचोर ७ का ईश्वर विश्वकर्मा र सिर्जना दाहाल, भारदेउ ७ का राजु लामा र दिलमाया विकले पनि अनुदान रकम पाएका छैनन् । इमाडोल ६ का कृष्ण खड्का र करुणा सुनारले प्रशासन कार्यालय धाउँदा-धाउँदा हैरान भइसकेको बताए । 'बजेटमै घोषणा गरिएको कार्यक्रमको रकम दिन पनि किन यस्तो कठिन ?' खड्काले प्रश्न गरे ।
जिल्ला प्रशासनमा प्रोत्साहन रकमका लागि निवेदनको चाङ लागेको छ । अर्थमन्त्रालयबाट निकासा नहुँदा कुनै जोडीले नपाएका हुन् । चार वर्षमा निवेदन संख्या थपिंदै गए पनि कसैलाई रकम दिन नसकिएको जिल्ला प्रशासनका लेखा अधिकृत तोरणबहादुर कार्कीले बताए । 'सबै निवेदन अर्थमन्त्रालय पठाएका छौं, बजेट निकासा हुन ढिलो भयो, अन्तरजातीय विवाह गरेकाहरू निराश छन्,' उनले भने ।
दलित र गैरदलितबीच विवाहलाई प्रोत्साहन दिन सरकारले ०६६ सालमा १ लाख अनुदान दिने घोषणा गरेको थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको यस कार्यक्रमलाई त्यसपछिका ३ वटा सरकारले निरन्तरता दिएनन् । खिलराज रेग्मी नेतृत्वको सरकारले निरन्तरता दिने घोषणा गर्‍यो तर अर्थको ढिलासुस्तीका कारण कार्यान्वयन भएको छैन ।
ललितपुर प्रशासनले गत असोजमा कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत अर्थमन्त्रालयलाई पत्र पठाएको छ । 'रकम निकासाका लागि पत्राचार गरेका छौं,' प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले भने, 'अझै आएको छैन ।' बजेटमै उल्लेखित रकम तत्काल निकासा दिन मन्त्रालयलाई ताकेता गरिरहेको उनले बताए । 'रातो किताबमा लेखिएको कुरालाई लागू गर्न आनाकानी गर्नुको कारण बुझ्न सकिएन,' अधिवक्ता भक्त विश्वकर्माले भने ।
-स्रोत: कान्तिपुर

No comments:

Post a Comment