कलिला बुहारीमय छ बाजुरा

उमेर नपुगी विवाह गरेर घर फर्कंदै गरेका बाजुराको जुकोटका स्थानीय बालजोडी । तस्बिर : अर्जुन शाह/ईकान्तिपुर
बाजुरा, चैत्र ३० - सदरमुकाम मार्तडीस्थित दलित टोलकी १४ वर्षीया बाटुली विकको गत साउनमा लालबहादुर विकसँग बिहे भयो । घरमा बुहारी ल्याएको खुसियालीमा लालबहादुरका अभिभावकले गाउँमा भोज गरे । छिमेक र आफन्तले अभिभावकलाई बधाई र दुलाहादुलहीलाई आशीर्वाद दिए । मार्तडीकै मालिका उच्च माविमा ७ कक्षामा अध्ययनरत बाटुलीको पढाइ भने नियमित हुन सकेन । अभिभावकले पढाइभन्दा पनि घरजममै बुहारीलाई लगाउन थाले । 'बिहेपछि बाटुलीको पढाइ बिग्रँदै गयो,' शिक्षक शेरबहादुर रावलले भने ।

बाटुलीकै उमेरकी सरिता विकको तीनमहिने छोरा छ । उनी पनि सात कक्षामा सोही विद्यालयमै पढछन् । सानै उमेरमा घरजम गर्नुपरेकाले सरिताको पढाइ पनि खस्किएको रावलले बताए ।जिल्लामा पढ्ने उमेरमा बिहे गरेका सयौं बालजोडी भेटिन्छन् । 'सानै उमेरमा बिहे गर्नाले पढाइ त बिगि्रने गरेको छ नै, जीवनयापनमा समेत अनेकौं समस्या हुने गरेको छ,' कैलाशमाडौंस्थित रत्न उच्च माविका प्राचार्य रत्नबहादुर अयडी भने ।

जनगणना २०६८ अनुसार बाजुराका करिब २५ हजार किशोरीको विवाह २० वर्षभन्दा कम उमेरमै भएको छ । यीमध्ये पनि ४ हजारको १५ वर्ष नपुग्दै बिहे भइसकेको देखिन्छ । कानुनी प्रावधानअनुसार विवाह गर्न अभिभावकको सहमति भए १८ वर्ष र नभए २० वर्ष पुगेको हुनुपर्छ । कलिलैमा बिहे गर्नेमा किशोरभन्दा किशोरी बढी देखिन्छन् । जनगणनाले करिब १३ हजार किशोरको १९ वर्षभन्दा कम उमेरमा विवाह भएको देखाएको छ । 

बाल अधिकारका क्षेत्रमा काम गर्ने सरकारी निकाय जिल्ला बालकल्याण समिति, बाल संरक्षण समितिका अनुसार कलिलैमा विवाह हुने मुख्य कारणमा बाबुआमाले छोरीको चाँडै कन्यादान गरे पुण्य कमाइन्छ भन्ने परम्परागत सोचाइ पनि हो । कतिपयले स्कुले उमेरमै लहैलहैमा लागेर बिहे गरिरहेका पनि पाइएका छन् । स्थानीय मेलापर्व, जात्रामा केटीलाई तान्ने परम्पराले समेत यस्तो बिहेलाई बढावा दिइरहेको अधिकारकर्मी लालबहादुर शाहीले बताए । जिल्ला बालकल्याण समितिका बाल संरक्षण अधिकृत सर्पलालका अनुसार १४ देखि १६ वर्ष उमेरमा बिहे गर्ने केटीको संख्या धेरै छ ।

बुहारी भएपछि उनीहरूले घरायसी कामकाज सम्हाल्नुपर्ने बाध्यता हुन्छ । जुनसुकै उमेर भए पनि घरजम सम्हाल्न नजान्ने बुहारीलाई अभिभावक र छरछिमेकले समेत 'खिसीटिउ' गर्छन् । 'विद्यालय पढै गरेका भए पनि बिहे भएका केटीलाई पढाइमा भन्दा घरजममा प्राथमिकता हुन्छ,' अर्का शिक्षक नरबहादुर विकले भने । बिहेकै कारण जिल्लामा छात्राले स्कुल छाड्ने दर धेरै रहेको शिक्षा अधिकारी गोविन्दप्रसाद पोखरेलले बताए ।

यस्तो विवाह न्यूनीकरणका लागि बालकल्याण समिति, महिला तथा बालबालिका कार्यालयलगायत विभिन्न गैरसरकारी संघसंस्थासमेत कार्यरत छन् । केही गाविसमा बालविवाहमुक्त घोषणा गर्ने अभियानसमेत चलाइएको छ । दुई महिनाअघि तोलीलाई बालविवाहमुक्त गाविस घोषणा गरिएको छ । जिल्लाको पूर्वोत्तर क्षेत्रमा बालविवाह अत्यधिक छ ।

-स्रोत: कान्तिपुर

No comments:

Post a Comment