डोम समुदायको वास्तविकता - भारती पोखरेल

संसारमा दुई मात्र जात छ– महिला र पुरुष। यसबाहेक अरु कुनै जात छ त? यो प्रश्न मोरङ कटहरी गा.वि.स. १ बस्ने राधिका मरिकको हो। धेरै दिनपछि घुम्न निस्कने क्रममा विराटनगर उपमहानगरपालिकासँगै जेडिएको कटहरी गा.वि.स. स्थित सुकुम्बासी बस्ती पुगेँ। सो बस्तीमा २५ वटा घर डोम (मरिक) को छ। म तिनै राधिका मरिकको घरमा पुगेँ र अडिएँ। उनले भित्रबाट मुढा ल्याएर बस्न दिइन्। परम्परादेखि मेरो मनस्थितिमा रहेको डुम जातिलाई छुनुहँुदैन भने अन्धविश्वासका कारण बस्न हिच्किचाएँ तर बसेँ। डुम (मरिक) जातिबारे जिज्ञासा राख्न थालेँ। डुम दलित जातिमा पर्छ र यो अन्त्यन्तै पिछडिएको तराईबासी हो। प्रायः यिनीहरु रुपन्देही, सर्लाही, धनुषा, सप्तरी जिल्लामा बढी बस्छन्। तराईका अन्य जिल्लामा पनि यिनीहरु बस्दै आएका छन्। यिनीहरुका पुर्खा भारतको बिहार कुरसाकटाबाट आएका रहेछन्।
डुम जातिमा पनि विभिन्न थर छन् तर हालसम्म भेटिएको तथ्याङ्कअनुसार सदा, मधैयासदा, गुसरुसदा गरी तीनमात्र छन्। प्रायः यिनीहरु बाँसको चोयाबाट डालो, ढक्की, हातेपंखा, नाग्लो आदि बनाउने गर्छन्। आफूसँग जमिन नभएकाले कृषि पेसामा आबद्ध नभई सुंगुर, खसी, बाख्रा, कुखुरा पाल्ने गर्छन्। ठूलो पेसा या मुख्य काम भनेकै सरसफाइ, शौचालय, ढल, नाल, सडक सफा गर्ने गर्छन् भने लावारिस लास गाड्ने काम पनि गर्छन्। प्रायः यस्ता काम सरकारी कार्यालयमार्फत गर्ने गर्छन्। त्यहीँबाट पाएको पैसाले जीवनयापन गर्छन्। वास्तवमा भन्ने हो भने उनीहरुको जीवनस्तर अझसम्म पनि बदलिन सकेको छैन। यिनीहरु हिन्दी, अवधी र नेपाली भाषा प्रयोग गर्छन्। चाडपर्वमध्ये मुख्य पर्व छठ हो। यसबाहेक प्रायः हिन्दु जातिले मनाउने सबै पर्व मनाउँछन्। उनीहरुले मान्ने धर्म हिन्दु धर्म नै हो। यिनीहरु भाकल गर्न माहिर हुन्छन्। केही कुरा भगवानलाई मनाउनुपरेमा सुंगुर, खसी भाकल गर्छन् र वली प्रथामाथि विश्वास गर्छन्। साथै नयाँ कामको थालनी गर्दा कुलदेवतालाई पूजा गर्छन्। खुसी पार्ने धारणा यिनीहरुमा व्यापक पाइन्छ।
प्रायः यो जातिमा बालविवाह गर्ने चलन पाइन्छ। ठूलो भएपछि विवाह गर्दा डोली बोक्ने कोही नहुने र छुवाछुतका कारण डोली बोक्न नमान्नेले गर्दा करिव २० प्रतिशतको २ देखि ५ वर्षमा र ७० प्रतिशतको ३ देखि ५ वर्षसम्ममा बिहे भइसक्छ। यतिमात्र होइन, आपसमा पेटभित्रको बच्चाको समेत बोलीवचनवाट विवाह गर्ने चलन डोम जातिमा पाइन्छ। विवाहमा मरुवामा केटा केटीलाई राख्छन्। केटीको भाइले बेहुलाको नाक पक्डेर मरुवालाई डोली जग्गे घुमाउँछन् र लाभा (धानबाट तयार हुने एक किसिमको भुजा) छिटेर घुम्छन्। यिनीहरुमा पनि गौना गर्ने चलन छ।
यो जातिमा छैटी, न्वारन, छेवर गर्नुका साथै पास्नी पनि गर्ने परम्परा छ भने मृत्यु हुँदा जलाउने गर्छन् र आम्दानी कम हुनेले गाड्ने पनि गर्छन्। जेठो छोराले आगो दिने र १३ दिनसम्म सेतै लुगा लगाउने, लास जलाएर आएपछि खोर्सानी आगोमा चलाउने र पूर्व फर्केर दूध पानी एउटा खाल्डो बनाएर पितृलाई तर्पण दिने गर्छन्। ७ दिनमा भोजभत्तेर गर्छन् त्यसमा उनीहरुले अनिवार्यरूपमा संुगुरको मासु रक्सी खान दिनुपर्छ। ११ दिनमा केस काट्छन् भने १३ दिनमा श्राद्ध गर्छन्। डोम जातिको शुभ/अशुभ जुनसुकै कार्यमा भने मासु, संुगुर र रक्सी चाहिन्छ नै। एक सर्भेक्षणअनुसार यो जातिको साक्षरता ८ प्रतिशतभन्दा बढी छैन। गरिबीका कारण उनीहरुमा यो भावना नै देखिँदैन कि आफ्ना सन्तानलाई शिक्षा दिनुपर्छ। अर्कोतिर पढेर पनि सरसफाई नै गर्ने त हो, किन पढ्नु भन्ने भावना पनि उत्तिकै छ।
डुम बस्तीमा २५ घरधुरीमा करिव ३ सय जनाको परिवार अटेको छ। चारैतिर फोहोरमैला छ। सरसफाइतर्फ ध्यान दिएका छैनन्। न त आफ्ना सन्तानलाई स्कुल पढ्न पठाउँछन्। प्रायः आमाबुबा आफ्नो नामसम्म लेख्न जाने पुग्छ भन्छन्। त्यस टोलका जम्मा २ जना बच्चा बोर्डिङमा पढ्न जान्छन् भने अन्य दुई चार जना विराटनगर ११ हाटखोलास्थित सुशिक्षा निम्न मा.वि. जाने गर्छन्। तर टिफिनपछि भागेर घर आउँछन्। टोलका सबै पुरुष काम सकेपछि जाँड, रक्सी खाएर तास खेल्नमा मग्न हुन्छन्। घरका महिला खानपिनमा लाग्छन्। घरमा गुन्द्री, मुढा आदि सामान पनि बुन्छन् महिला। बालबच्चा भने संुगुर, खसी, बाख्रा चराउने, माछा मार्ने गर्छन्। आमाबाबु पनि उनीहरुलाई पढ्न जानुभन्दा काम गर्नमा जोड दिन्छन्।
यसबारे प्रश्न राख्दा उनी भन्छिन्– के गर्ने श्रीमान् दुई चार घण्टा काम गरेर मात्तिएर आउँछन्, केही भन्दा झगडा गर्ने, कुट्नेसम्म गर्छन्। आफू एक्लै के के गर्ने? यतिमात्र होइन, बस्तीमा दिनहुँ केही न केही घरेलु हिंसा भएकै हुन्छ। घरको सबै काम महिलाको काँधमा छ। कमाएको पैसा मासु, रक्सी र तासमा सिध्याएर खाली हात घर फर्कनु पुरुषहरुको दिनचर्या नै बनेको रहेछ। यसैबारे मैले हाटखोलास्थितसुशिक्षा निम्न मा.वि.का प्रधानाध्यापिका राधिका आचार्यलाई सोध्दा उनको जवाफ थियो– टिफिन भात खाएर आउँछु भनेर जान्छन्, पछि आउँदैनन्। आफँै गएर अभिभावकलाई बच्चा स्कुल पठाइदेउ भन्दा पनि मान्दैनन्।
यतिमात्र होइन मजदुरी गर्न, भाँडा माझ्न, गाई भैंसी चराउन, गुइँठा पार्न लगाउने गर्छन्। यसरी हेर्दा ती बालबालिकाको भविष्य अन्धकार देखिन्छ। उनीहरुमा शिक्षाको उज्यालो मिरमिरे सारै न्युनमात्र देखिन्छ। कतिपय केटाकेटी बालश्रम गरिरहेका छन्। नगरपालिकासँगै जोडिएको गा.वि.स.का केटाकेटीको अवस्था यो छ भने विकट गा.वि.स.मा के होला? सरकारले बालश्रमसम्बन्धी दण्ड सजायको व्यवस्था गरेको छ तर लाचार छन् ती बालक काम गरी पेट भर्न। उनीहरुको यो अवस्था उनीहरुकै अभिभावकले उब्जाइदिएका हुन भन्दा गतल नहोला। आमा बुबाले नै ध्यान नदिनाले भविष्यमा समाजबाट पाउने माया, ममता र इज्जत गुमाएको महसुस नगर्लान् भन्न सकिन्न। २०५९ सालमा राष्ट्रिय दलित आयोगको स्थापना गर्न बनेको विधेयकमा दलित समुदाय भन्नाले छुवाछुत तथा जातीय भेदभावको मारमा परी सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक एव धार्मिक क्षेत्रमा पछाडि पारिएको र मानवीय सम्मानका साथै सामाजिक न्याय पाउन नसकेको जात समुदायलाई जनाउँछ भनिएको छ।
स्रोत : नागरिक

No comments:

Post a Comment