लोकतन्त्र दिवसको अवसरमा पोखरामा छलफल र सहभोज सम्पन्न

०७१ वैशाख ११ गते, कास्की ।लोकतन्त्र दिवसको अवसरमा समतामूलक समाज निर्माण र जातीय विभेदविरुद्ध सन्देश दिने उद्देश्यले दलित तथा सीमान्तकृत समुदायको परिचय तथा उत्थान विषयक छलफल र सहभोज कार्यक्रम वैशाख ११ गते पोखरामा सम्पन्न भयो ।राष्ट्रिय मानवअधिकार आयोग पोखराको सहयोगमा बौद्धिक जागरण समाज पोखराले आयोजना गरेको उक्त कार्यक्रममा अधिकारकर्मी, नागरिक समाज, दलित समुदाय, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले मानव कलंक जातीय छुवाछुत र भेदभावलाई अन्त्य गर्नको लागि गाउँ-गाउँमा सचेतना जगाउनु पर्ने र प्रभावकारी कानुन निर्माण गरी कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।कार्यक्रममा अवधारण प्रस्तुत गर्दै वरिष्ठ अधिवक्ता तिलक आचार्यले दलित र सीमान्तकृतहरुको हक अधिकार, शिक्षा, स्वास्थ्य,रोजगार, गास, बास र कपासको प्रत्याभूतिको लागि अब बन्ने संविधानमा व्यवस्था गर्नु पर्नेमा जोड दिए ।

प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेशनाथ बास्तोलाले जातीय छुवाछुत र भेदभावका घटनालाई प्रहरीले प्राथमिकताका साथ सत्य, तथ्य अनुसन्धान गरी कानुनी दायरामा ल्याउने बताए । जातीय भेदभाव अन्त्यको लागि राज्य र सरोकारवाला निकायले पहल गर्न आवश्यक रहेको बताए ।शान्तिका लागि नागरिक समाजको सञ्जालका सह-संयोजक नन्दकला नेपालीले हिन्दु संस्कृति र परम्पराबाट उत्पीडन र शोषणमा परेका दलित समुदायको सशक्तिकरण हुनु पर्नेमा जोड दिईन् ।

राष्ट्रिय मानवअधिकार आयोग पोखराका अधिकृत ज्योत्रि्रसाद घिमिरेले जातीय विभेद र छुवाछुतका घटनालाई आयोगले प्राथमिकताका साथ अनुसन्धान गरी कारबाहीका लागि सरकारलाई सिफारिस गरेको उल्लेख गर्दै आगामी दिनमा गाउँगाउँमा हातेमालो गरी सचेतनामूलक कार्यक्रम गर्नु पर्नेमा जोड दिए ।कार्यक्रममा अधिवक्ता सुरेन्द्र थापामगर, समाजसेवी उमाकान्त शर्मा, सञ्जालका पूर्व संयोजक विष्णु बराल, प्रेस चौतारीका अध्यक्ष श्याम कुँवर, उत्पीडित जातीय मुक्ति समाज कृष्तिनाच्नेचौरका अध्यक्ष बलबहादुर सुनार, प्रेमकली परियार भोजराज भण्डारी लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

No comments:

Post a Comment