षेत्रीय अस्पतालमा दोस्रोपटक अप्रेसन गरेपछि धारापानीकी ओइली बिक छोरीको सहाराले हिँड्दै। तस्बिरः कलेन्द्र सेजुवाल |
शिविरको अन्तिम दिन २०६९ चैत २३ गते उनी ‘कतै पेट दुखाइ कम गर्ने औषधि पाइहालिन्छ कि’ भन्दै शिविर चलिरहेको मेहलकुना अस्पताल पुगिन्।
‘के हुन्छ ?’ नाम दर्ता गर्नेबित्तिकै एक महिलाले रुखो प्रश्न गरिन्।
‘तल्लो पेट,’ लीलावतीले जवाफ फर्काइन्।
ती महिला र अरू केही व्यक्तिले दुई÷तीन मिनेट सामान्य स्वास्थ्य परीक्षण गरे। उनलाई भनियो, ‘तपाईंको पिसाबथैली र पाठेघरमा समस्या छ, अपे्रसन गर्नुपर्छ।’
लीलावतीले ‘अप्रेसन त नगर्ने’ भनिन्।
उनलाई फकाउन थालियो। ‘यो शिविर तपाईंजस्ता गरिबका लागि मौका हो,’ उनीहरूले भने, ‘अन्यत्र जानुभयो भने चार÷पाँच लाख खर्च हुन्छ, यहाँ त उल्टै हजार रुपैयाँ पाउनुहुन्छ।’
उनीहरूले अझ फुक्र्याउँदै भने, ‘तपाईं भाग्यवानी हुनुहुँदो रहेछ, हामी आजै फर्किने, अलिकति ढिलो आउनुभएको भए छुट्नुहुन्थ्यो।’
उनलाई अप्रेसन गर्दा केही समस्या नहुने भन्दै आश्वस्त पारियो। श्रीमानलाई समेत थाहा नदिएर हिँडेकी ४० वर्षीया लीलावतीले त्यसपछि दायाँबायाँ सोच्नै भ्याइनन्। उनलाई सिधै अप्रेसन कक्षभित्र लगियो।
मेहलकुनाकी कल्पना विक पनि अघिल्लो दिन त्यस्तै परिबन्धमा परिन्। घरअगाडि निःशुल्क स्वास्थ्य शिविर चलेपछि श्रीमानले सल्लाह दिए, ‘सधैं पेट दुख्यो भन्छेस्, जँचाउन जा न त।’
उनले दर्ता किताबमा नाम के लेखाएकी थिइन्, पाठेघरको अप्रेसन गर्ने भन्दै लगिहालियो। उनी ‘अप्रेसन नगर्ने’ भनेर बाहिर निस्किन खोजिन्। तर, प्रयास सफल भएन। ‘मैले तीनचोटिसम्म बाहिर आउन खोजेँ, उनीहरूले छोपेर भित्र लगिहाले,’ ३२ वर्षीया कल्पनाले भनिन्, ‘अन्तिममा श्रीमानलाई समेत फकाएर समात्न लगाए।’
यी दुई प्रतिनिधि पात्र हुन्। सुष्मा कोइराला मेमोरियल ट्रस्टले २०६९ चैत १८ देखि २३ गतेसम्म पूर्वी सुर्खेतको मेहलकुना अस्पतालमा पाठेघर खसेका महिलाका लागि गरेको स्वास्थ्य शिविरमा यस्ता थुप्रै महिलाको ‘जबर्जस्ती’ पाठेघर निकालेको पाइएको छ। मापदण्डविपरीत जथाभावी अप्रेसन गरिँदा अधिकांश महिला झन् ठूलो पीडा बोकेर बाँचिरहेका छन्। कतिपयको फेरि अप्रेसन गर्नुपर्ने अवस्था छ।
नेपाल सरकारको आर्थिक सहयोगमा ट्रस्टले ६ दिनमा २ सय ९७ जनाको अप्रेसन गरेको थियो। विश्व स्वास्थ्य संगठनले एक चिकित्सकले दैनिक बढीमा पाँच शल्यक्रिया गर्न सक्ने मापदण्ड तय गरेको छ। मेहलकुनामा भने दुई डाक्टरले दैनिक सरदर ५० जनाको अप्रेसन गरेका थिए। ट्रस्टले नेपालगन्जमा कार्यरत डा. जितेन्द्र महासेठ र उनका छोरा विनोदलाई करारमा लगेको थियो।
गाउँका सोझासिधा सद्धे महिलाको अप्रेसन गर्नुका पछाडि त्यसबापत पाइने सरकारी अनुदान प्रमुख कारण हो। सरकारले पाठेघर खस्ने समस्याको उपचार तथा शल्यक्रियासम्बन्धी कार्यविधि निर्देशिका (२०६५) अनुसार सुर्खेतलगायत पहाडी जिल्लाका शिविरमा एक अप्रेसनबापत १६ हजार रुपैयाँ अनुदान दिन्छ। बिरामी छनोट (स्क्रिनिङ) बापत छुट्टै रकम दिइन्छ। यस हिसाबले ट्रस्टले मेहलकुनाबाट पाठेघर निकालेबापत करिब ५० लाख रुपैयाँ कमाएको देखिन्छ।
‘मोटो रकम आउने भएपछि अप्रेसन गर्नु नपर्ने महिलाको पनि पाठेघर झिकिएको छ,’ शिविरलाई नजिकबाट नियालेका मेहलकुनाका सामाजिक कार्यकर्ता प्रकाश घर्ती भन्छन्, ‘कतिपयको अप्रेसन नगरे पनि गरेको भनेर संख्या बढाइएको छ।’
अप्रेसनपछि ३ लाख स्वाहा !
रामघाटकी लीलावतीलाई शिविर आयोजकले ‘यहीँ अप्रेसन गर्दा चार÷पाँच लाख रुपैयाँ बच्ने’ प्रलोभन दिएका थिए। तर, भइदियो उल्टो। अप्रेसनपछि थलिएकी उनको उपचारमा करिब तीन लाख रुपैयाँ खर्च भयो। श्रीमान वीरबहादुरले अप्रेसनलगत्तै अत्यधिक रक्तश्राव भई गम्भीर बिरामी भएपछि उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेज लगे। ‘पाठेघरको अप्रेसनपछि फेरि अर्को अप्रेसन गरेर १५ दिनसम्म अस्पतालमा भर्ना ग¥यौं,’ उपचारका बिल र कागजपत्र देखाउँदै उनले भने, ‘अझसम्म राम्ररी सन्चो भएको छैन।’
डाक्टरले १६ हजारको लोभमा अनाहक अप्रेसन गरिदिँदा आफ्नो धनसम्पत्ति सखाप भएको चुनारा परिवारको पीडा छ। तीन वर्षअघि वैदेशिक रोजगारमा मलेसिया गएका जेठो छोरा दुर्गबहादुरको कमाइ पनि लीलावतीको उपचारमा खर्च भयो। ‘बिरामी भएको थाहा पाउनेबित्तिकै साथीभाइबाट ऋण काढेर २ लाख पठायो,’ उनले भने, ‘त्यसपछि पनि पटक–पटक गर्दै थप एक लाख पठाइसक्यो।’
पेट दुख्ने रोगको औषधि माग्न गएकी श्रीमतीलाई अप्रेसन गरी ‘आधा ज्यान’ पारेपछि वीरबहादुर आक्रोशित छन्। उपचारकै क्रममा उनले डा. जितेन्द्रलाई भेटी प्रशासनमा उजुरी हाल्ने धम्की नदिएका होइनन्। तर, उनले अप्रेसन बिग्रेपछि हुने उपचारको सबै खर्च शिविर आयोजकले तिर्छ भनेर वीरबहादुरलाई आश्वस्त पारे। ‘अहिले केही बिसेक भए पनि अप्रेसन गर्नुअघि जस्तो कामकाज गर्न सक्दिनन्,’ उनले भने, ‘उनीहरूले त आधा ज्यानै बनाएर गए।’ आफ्नी श्रीमतीको पाठेघर नखसे पनि पैसाका लागि अप्रेसन गरिएको उनले बताए।
धारापानीकी ६० वर्षीया आइती विक बुढेसकालमा दोहोरो अप्रेसनको मारमा परिन्। हेक्का भएसम्म उनको आङ खसेको झन्डै ३५ वर्ष भयो। जेनतेन जिन्दगी चलेकै थियो। गाउँका सबै महिला अप्रेसन गर्ने भन्दै हिँडेपछि उनी पनि लौरोको सहाराले पैदल हिँडेर मेहलकुना पुगिन्। ‘रिङ हालेर सन्चो गर्लान् भन्ने सोचेकी थिएँ,’ एक वर्षअघिको पीडादायी दिन सम्झिँदै उनले भनिन्, ‘के गर्नु बाबु ! सोध्दै नसोधी भित्र लगेर अप्रेसन गरे।’
अप्रेसनपछि सन्चो भए त ठिकै हुन्थ्यो। पीडा झन् दोब्बर भयो। अन्ततः उनी एक वर्षपछि चैत तेस्रो साता मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अप्रेसनका लागि भर्ना भइन्। अस्पतालले उनको भल्ट प्रोल्याप्स (अप्रेसनपछि पाठेघर र योनिको पर्खाल तल खस्नु) भएको जनाएको छ। ‘त्यत्रो वर्ष खपेकै थिएँ, पोहोर साल मेहलकुनामा अप्रेसन नगर्नुपर्ने रहेछ,’ पछुताउँदै उनले भनिन्, ‘अप्रेसनपछि झन् दुःख भयो।’
धारापानीकै ४३ वर्षीया ओइली विक मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भेटिइन्। उनलाई उतिबेला शिविर आयोजकले पाठेघरको अप्रेसन भयो भन्दै घर पठाएका थिए। तर, आफ्नो पाठेघर पूरै नझिकिएको एक वर्षपछि मात्र थाहा पाइन्। अस्पताल स्रोतका अनुसार शिविरमा उनको पाठेघरको अप्रेसन गरिए पनि पूरै पाठेघर झिकिएको थिएन। ‘पाठेघरको आधा भाग भित्रै थियो,’ अस्पतालको अप्रेसन कक्षका एक स्वास्थ्यकर्मीले भने, ‘यसले गर्दा उहाँलाई झन् पीडा भएको हो।’
मेहलकुना–२ की मोतिसरा खड्का त अप्रेसनपछि यति कमजोर र आहत भइन् कि आँगनमै लडेर हात भाँच्चियो। पाँच महिनासम्म ओछ्यानबाट उठ्न सकिनन्। ‘कहिलेकाहीँ पेट दुख्ने समस्या थियो, त्यही भएर जँचाउन गएकी थिएँ,’ उनले भनिन्, ‘हत्त न पत्त अप्रेसन गर्दिए, धन्न कालको मुखबाट फर्किएँ।’
मंसिर १४ गते क्षेत्रीय अस्पतालमा फेरि अप्रेसन गराएपछि सन्चो भएको उनले बताइन्। निःशुल्क अप्रेसन भन्दै ट्रस्टले मोतिसराको नाम रजिस्टरमा चढाएर १६ हजार लियो। यता भने उनले थप उपचारमा २५ हजार खर्च गरिन्।
कालापहाड यात्रा
मैनतडाकी वसन्ती विकलाई पाँच वर्षीय काखे बालक माइतीमा छाडेर श्रीमानसँगै कालापहाड (भारत) जान रहर थिएन। कहिल्यै भारत नगएकी उनलाई यसपटक भने बाध्यता आइलाग्यो। अप्रेसन गरेर झन् गाह्रो हुँदै गएपछि उनी गत मंसिरमा भारत गइन्। ‘त्यतै गएर पैसा कमाउनू, उपचार गर्नू भनेर छोरीलाई ज्वाईंसँग भारत पठाएँ,’ आमा तुलसाले भनिन्, ‘दुई नाति–नातिनी मेरो जिम्मा छाडेकी छे।’
उनका अनुसार २३ वर्षीया वसन्ती रिङ हाल्न पाइन्छ भनेर मेहलकुना शिविरमा गएकी थिइन्। त्यहाँ उनी अरू महिलाजस्तै अप्रेसनको सिकार भइन्। अप्रेसन गरेर आएपछि योनिबाट रगत बग्ने, रिंगटा लाग्ने भई शिथिल भएपछि भारत पठाइएको उनले बताइन्।
त्यसो त तुलसा आफैं पनि एक वर्षदेखि थला परेकी छन्। अप्रेसनअघि कहिलेकाहीँ पीडा भए पनि उनी घरव्यवहारको काम सजिलै गर्थिन्। अपे्रसनले भने एक गाग्री पानीसमेत उचाल्न नसक्ने गरी थला परेकी छन्। ‘सन्चो हुन्छ कि भनेर गएकी थिएँ, झन् बिरामी भएर फर्किएँ,’ उनले भनिन्, ‘बुढेसकालमा सारा संसार गुमाएजस्तो भएको छ।’
बर्सेनि कामका लागि भारत जाने उनका श्रीमान् यो वर्ष घरमै छन्। कारण हो– श्रीमतीको स्याहार। पहिले उनी भारत गएर मजदुरी गर्थे, श्रीमती यताको सबै रेखदेख गर्थिन्। शिविरमा पाठेघरको अपे्रसन गरेपछि भने उनले घर छाड्न सकेनन्। ‘पहिला सबै काम गर्थी, अहिले एक गाग्री पानी उठाउन पनि सक्दिन,’ उनले भने, ‘यस्तो अवस्थामा घर छाडेर कहाँ जाने ?’ अप्रेसनले श्रीमती र छोरीको बिजोग भएकोमा उनले पश्चाताप पोखे।
...
स्थानीय भुक्तभोगीका अनुसार मेहलकुना शिविरमा अप्रेसनपछि पीडामुक्त भई सन्तोषको सास फेर्ने महिलाको संख्या अत्यन्तै कम छ। सामान्य स्वास्थ्य नियम र पाठेघर खस्ने समस्याको उपचारसम्बन्धी सरकारले निर्धारण गरेको निर्देशिकाअनुसार काम नहुँदा अधिकांश महिला झन् पीडा खेप्न विवश छन्। शिविरमा आएका ६० वर्षमाथिका थुप्रै महिलालाई सामान्य अवस्थाको महिलाझैं हतारिएर अप्रेसन गरिएको थियो। उनीहरूलाई सामान्य परामर्श पनि गरिएन।
त्यसैमध्येकी एक आइती सम्झन्छिन्, ‘अप्रेसन गरेपछि चौरमा थेचारिदिए। के खाने, के नखाने, के गर्न हुन्छ, के गर्न हुँदैन भनेर सम्झाउन त उनीहरूलाई फुर्सदै थिएन।’ भोलिपल्ट बिहानै उनी घरका लागि हिँडिन्। दुई दिनको पैदल बाटो हिँडेर घर पुगिन्। क्षेत्रीय अस्पतालमा उनीसँगै आएकी कुरुवा भदैबुहारी शशि विक भन्छिन्, ‘राम्ररी सम्झाएको भए दुई÷चार दिन मेहलकुनामै बसेर सन्चो भएपछि घर आए यस्तो हुन्थेन कि ?’
कार्यविधि निर्देशिकाको दफा ५ (३) मा पोस्ट–अपरेटिभ र फलोअप सेवासम्बन्धी व्यवस्था राखिएको छ। उक्त दफामा शल्यक्रिया गरिसकेपछि सात दिनसम्म पोस्ट–अपरेटिभ सेवा दिनुपर्ने, परामर्श तथा स्वास्थ्य शिक्षा प्रदान गर्नुपर्ने र सामान्यतयाः एक महिनामा पहिलो फलोअप जाँच गर्नुपर्ने उल्लेख छ। तर, सरकारसँग आधा करोड लगेर शिविर सञ्चालन गरेको ट्रस्टले सर्वसाधारण महिलाको हकमा कुनै पनि प्रावधान हेक्का राखेन। एक सातासम्म पोस्ट–अपरेटिभ सेवा दिनु त कता हो कता, अप्रेसन सकिएकै दिन शिविर उठायो। परामर्श अभावमा ६० वर्ष कटेका महिला पनि अप्रेसनलगत्तै दुई दिन पैदलै घर गए। लीलावतीका श्रीमान् सम्झिन्छन्, ‘डाक्टरहरू एकै दिन बसेका भए पनि हाम्रो यस्तो बिजोग हुने थिएन।’
सोही दफाको बुँदा (च) मा अप्रेसन गरेका महिलालाई जटिलता भए आवश्यकताअनुसार निःशुल्क उपचारको व्यवस्था अप्रेसन गर्ने स्वास्थ्य संस्थाले नै गर्नुपर्ने उल्लेख छ। मेहलकुना शिविरका पीडितले भने ट्रस्टबाट त्यस्तो सुविधा पाएका छैनन्। अप्रेसनले झन् दुःख दिएपछि बिरामीहरू नजिकको क्षेत्रीय अस्पताल हुँदै कोहलपुरदेखि भारतसम्म पुगेका छन्। अप्रेसन गर्दा हतारिने ट्रस्ट भने उनीहरूको अवस्थाबारे बेखबरजस्तै छ। अरूको कुरा अलग भयो, लीलावतीका श्रीमानले प्रशासनमा उजुरी हाल्छु भन्दा पनि उपचार खर्च पाउन सकेका छैनन्।
साभार : नागरिक
No comments:
Post a Comment