१४ बर्ष पछि युसुफ नेपाली भनिने भुपालमान दमाई निर्दोष ठहर

देवेन्द्र भट्टराई 
चैत २३, नयाँदिल्ली (भारत) 
काठमाडौंबाट भएको इन्डियन एयरलाइन्सको बिमान अपहरणमा संलग्न भएको अभियोगमा १४ बर्षदेखि पञ्जावको पटियाला केन्द्रीय जेलमा रहेका एक नेपालीलाई अदालतले निर्दोष ठहर गरेको छ । पञ्जाव र हरियाणा उच्च न्यायलयले युसुफ नेपाली भनिने भुपालमान दमाईलाई निर्दोष ठहर गरेको हो । अदालतको आदेशपछि हिजो साँझ जेलमुक्त भएका उनलाई सुरक्षित घेरामा राखेर गोरखपुर हुदै नेपाल पठाईने भएको छ । सन् १९९९ डिसेम्बर २४ मा काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको बिमान अपहरणमा परेको थियो । एक सातासम्म अपहरणकारीकै कब्जामा रहेको सो विमान भारतको अमृतसर, पाकिस्तानको लाहोर हुदै दुबइबाट अफगानिस्तानको कान्दाहार पुर्‍याइएको थियो । सो बिमानमा १ सय ७८ यात्रु सवार थिए । 
अपहरणमा संलग्न १० जनामध्ये ७ जना पाकिस्तानी, २ जना भारतीय र एक नेपाली रहेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो /ऋद्यक्ष् ले प्रतिवेदन सार्वजनिक गरेको थियो । बिमान अपहरणलगत्तै मुम्बइमा भएको एक बैंक डकैतीमा संदिग्ध पात्रका रुपमा नेपालीलाई पक्राउ गरिएको थियो । अपहरणकारीलाई लजिस्टिक–सपोर्ट उपलब्ध गराएको अभियोगमा उनी पक्राउ परेका थिए । सन् २००८ को फेब्रुवरी २ मा सीबीआइले उनी बिमान अपरहणमा संलग्न रहेकाले आजीवन कारावास हुनुपर्ने भन्दै बिशेष अदालतमा उजुरी हालेको थियो । तर पछि कुनै प्रमाण जुटाउन नसकेकाले अदालतले उनलाई निर्दोष सावित गरेको हो । 
५४ बर्षिय नेपालीले जेलमुक्त हुनासाथ मिडियासंग यसबीचमा आफ्ना बाबुआमाको समेत निधन भएको र श्रीमतीले आफूलाई छाडेर कतै गएको बताए ।  श्रीमती अरुतिरै हिडेपछि नेपालीका छोराछोरी अहिले नातेदार भिनाजुकहाा बसिरहेका छन् । ‘यो १४ बर्षमा जम्मा एकपटक तीन बर्षअघि एकजना आफन्त जेलमा आएका थिए, अरु केही कतै सम्पर्क छैन,’ नेपालीले भने—‘मेरो गोजीमा जम्मा १ हजार भारु छ, अब नेपाल गएर मेरो आफ्नो संसारका बारेमा थाहा पाउनेछु ।’ 
साभार :- रेडियो कान्तिपुर 

No comments:

Post a Comment