कपडा सिलाउने पुर्खौली पेसा भए पनि केशा र उनका श्रीमानमा त्यो कलामा खासै निपूर्ण थिएनन्। लघुउद्यम परियोजनाबाटै सिलाइकटाइ तालिम लिएर पुर्खौली पेसामा लागेको उनी बताउँछिन्। तालिम लिइसकेपछि पनि ग्राहकको मन जित्न भने सजिलो भएन। सुरुमा त कपडा सिलाउँछु भन्दा ‘साइँली दमिनीले सिलाउन जान्दिनँ' भनेर धेरैले कामै नदिएको उनको अनुभव छ। ‘त्यही भएर पनि एकैचोटि टेलरिङ सेन्टर खोल्ने हिम्मत गर्न सकिनँ,' संघर्षका दिन सम्झँदै उनले भनिन्, ‘साइँली दमिनीले सिलाउन जान्दिनँ भन्ने धारणा धेरैमा भएकाले सुरुमै टेलरिङ खोल्दा डुबिएला भन्ने डर भयो, अनि म बालिघरे कपडा सिलाउन हिँडेँ।'विस्तारै उनी सिलाइ कलामा पोख्त हुँदै गइन्। सिलाइ मेसिनका लागि लघुउद्यमबाट ४ हजार रुपैयाँ ऋण लिइन्। त्यही ऋणबाट २ हजार ५ सयमा हातेमेसिन किनिन्। सिलाइका अन्य सामग्री पनि त्यही चार हजारबाटै जुटाइन्। उनले करिब दुई वर्ष बालिघरे कपडा सिलाइन्। त्यो समय उनका बालिघर १ सय ६४ पुगेका थए।
यस अवधिमा उनले आफ्ना सिलाइ कलाबाट धेरै ग्राहकको मन जितिसकेकी थिइन्। ग्राहकलाई उनको कामप्रति विश्वास जाग्न थालिसकेको थियो। परिणामस्वरुप, उनले गाउँकै खौला भन्ने ठाउँमा टेलरिङ सेन्टर खोलिन्। त्यसका लागि पनि लघुउद्यमकै सहयोगमा कृषि विकास बैंकबाट १६ हजार रुपैयाँ ऋण लिइन्। उक्त रकमबाट दुईवटा खुट्टे मेसिन, इन्टरलक र टेबल किनिन्।यो उनको परम्परागत सिलाइ पेसाबाट व्यावसायिक छलाङ थियो। केही समय खौलामा टेलरिङ चलाएपछि उनी खानिगाउँमा सरिन्।सिलाइ पेसामा लागेपछि उनले अनौपचारिक अध्ययन पनि गरिन्। ‘कपडाको नापो लिँदा अक्षर नचिनेपछि अनौपचारिक शिक्षा लिएँ,' केशाले भनिन्, ‘अहिले आफूलाई चाहिनेजति लेख्नपढ्न जानेकी छु।'केशा लघुउद्यम महासंघकी केन्द्रीय अध्यक्ष हुन्। ‘आफ्नो पेसामा मात्र म सीमित छैन, यसैको माध्यमबाट अरू धेरै महिलालाई आर्थिक रूपमा सक्षम बनाउन सकिन्छ भन्ने अभियानमै लागेकी छु,' उनले भनिन्। उनी आफ्नो टेलरिङमा महिलाहरूलाई सिलाइकटाइ तालिम दिने गर्छिन्।
‘पाँच सय रुपैयाँ लिएर सिकाउँछु,' उनले भनिन्, ‘आर्थिक रूपमा कमजोरहरूलाई निःशुल्क पनि सिकाउँदै आएकी छु।' केशासँग सिकेकाहरू अहिले विभिन्न ठाउँमा व्यवसायी बनेका छन्। ‘काम सिकेर व्यवसायमा सफल भएकाहरू देख्दा मलाई खुसी लाग्छ,' उनले भनिन्।आफ्नो व्यवसाय टेलरिङ भए पनि उनी स्थानीय स्तरमा पाइने सामग्रीको बजार व्यवस्थापनमा पनि सक्रिय छिन्। पर्वतमा स्ट्रबेरीको व्यावसायिक खेतीको अध्ययनमा लागेको उनले बताइन्। लघुउद्यमकै पहलमा जिल्लामा अल्लो, जाम, सुन्तलाको जुस, माहुरीपालन, लप्सी, अदुवा क्यान्डी बनाउने लघुउद्योग खोलिएको उनले जानकारी दिइन्।
बिजनेस फर पिस अर्वाडको निर्णायक मण्डलमा नोबेल पुरस्कार विजेताहरू छन्। जसमा सन् २००३ का नोबेल शान्ति पुरस्कार विजेता सिरेन इवादी, २००४ का नोबेल अर्थशास्त्रीद्वय माइकल स्पेन्स र फिन किडल्यान्ड तथा २०११ का नोबेल शान्ति विजेता लेमाह बोबी छन्। केशासँगै बंगलादेशका सेलिमा अहमद, ट्युनिसियाका अउडेड वौकामाओवी, बेलायतका रिचर्ड बाउन्सन, लेबनानका एडनन् क्यासर र अमेरिकाका मेरिलिन कार्लसन नेल्सनले पनि यो अवार्ड जितेका छन्।बिजनेस फर पिसको वेबसाइटमा उनकाबारे यसरी लेखिएको छ, ‘केशा ६० हजारभन्दा बढी लघुउद्यमीकी नेता हुन्। उनी नेपालको पिछडिएको दलित समुदायबाट आएकी भए पनि उनको नेतृत्व र सफलताले धेरैलाई उद्यमी बनाउन तथा स्वरोजगारका अवसर खोजी गर्न र विभेद हटाउन प्रोत्साहन गरेको छ।'
No comments:
Post a Comment