अस्पतालको चरम लापरबाही -छोराको सट्टा मृत शिशु

बुटवल, वैशाख ११ - 
सुत्केरी बेथा लागे पनि बच्चा नजन्मेपछि रूपन्देही गोनाहा १ की विद्या हरिजनलाई परिवारले बुधबार बिहान भैरहवाको भीम अस्पताल पुर्‍याए । दिउँसो १ बजे उनले छोरा पाइन् । डेढ वर्षअघि पहिलो बच्चा जन्मेलगत्तै मृत्यु भएको पीडाले छट्पटिएकी उनी र उनको परिवारमा खुसीको सीमै रहेन ।

देख्दा स्वस्थ देखिने बालक नरोएपछि भने उनीहरू डराए । अस्पतालले केहीबेरमै थप उपचारका लागि भन्दै सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा रेफर गर्‍यो । बाबु कन्हैया र काका परमालिकलगायतले अपराह्न ४ बजे आम्दा पुर्‍याए । अस्पतालले भर्ना गर्‍यो । आईसीयूमा राख्नुपर्ने भनेपछि ८ हजार धरौटी र केही औषधिसहित हरिजन परिवारले बच्चा अस्पताललाई बुझाए । राति १० बजे चेकजाँचमा आएका डा. सन्तोष पोखरेलले बालकको अवस्था सामान्य भएको बताएपछि परिवार शान्त बन्यो । साँझ ७ बजे पनि डा. पोखरेलले नै बालकलाई हेरेका थिए । तर परिवारको शान्ति धेरैबेर टिक्न पाएन । राति पौने १२ बजे 'बज्रपात' पर्‍यो । अस्पतालले बालकको मृत्यु भएको भन्दै सेतो कपडाले बेरेर अभिभावकलाई बुझायो । दोस्रोपल्ट पनि छोरा जन्मेलगत्तै मृत्यु भएको खबरले बाबु कन्हैया त्यहीं बेहोस भए । यतिखरे शिशु मृत घोषणा गर्नेमा चिकित्सक नरेन्द्र यादव थिए । नजिकै सद्गत गर्न चाहेका कन्हैयाका काका परमालिकलगायत आफन्तले नवजात शिशुका बाबु बेहोस भएका कारण शव घरमै लैजाने निर्णय लिए । राति नै शवसहित उनीहरू गोनाहा पुगे । भीम अस्पतालमा रहेकी सुत्केरी विद्यालाई भने घटनाबारे थाहा दिएनन् । 

बिहीबार बिहान करिब ७ बजे रीतअनुसार घरमा शिशुको मृत शरीर हेर्ने र शव विसर्जनको तयारी भयो । सद्गतका लागि शवलाई तेल लगाउँदा पो थाहा भयो, शव बालकको नभएर बालिकाको रहेछ । घरपरिवार र आफन्तबीच खैलाबैला भयो, छोरा कसरी छोरी भयो ? काका परमालिकले अस्पतालमा फोन गरे । फोन रिसिभ गरेकी नर्सले छोराछोरी छुट्याउन नसक्ने भन्दै उनलाई उल्टै थर्काइन् । उनले लगातार ७ पल्ट फोन गरे । अन्तिम पटक उनले भीम अस्पतालमा बच्चा जन्मेको, बच्चाको तस्बिर आफूहरूसँग रहेको र यही प्रमाणसहित प्रहरीमा उजुरी गर्ने चेतावनी दिए । र, सद्गत रोकेर बालिकाको शवसहित उनीहरू अस्पताल पुगे । 

सुरुमा झुटो भनेर हप्काएको अस्पतालले भीम अस्पतालको रेकर्ड देखाएपछि गल्ती स्विकार्‍यो । पीडित विरोधमा उत्रेपछि अस्पतालले चिकित्सक र नर्सको गल्तीले बच्चा साटिएको तर्क दियो । मृत बालिका अस्पतालमा राखेर उनीहरूको बालकको उपचार भइरहेको जानकारी गरायो । अस्पतालका निर्देशक विनोद पराजुलीले गल्तीले शिशु साटिएको बताए । 'जिउँदो बालकको सट्टा मृत बालिका दिँदा आफन्तलाई पर्न गएको पीडाप्रति क्षमा माग्छौं,' उनले भने, 'बच्चा के कारणले साटियो भन्नेबारे अध्ययन गरेरै पत्ता लगाउनेछौं ।'

अस्पतालले बालकको उपचार निःशुल्क गरिदिने र दोषीलाई कारबाही गर्ने बताएको छ । पीडितका आफन्त र अस्पतालमा उपचारका लागि आएका अन्य बालबालिकाका अभिभावकले बच्चा के प्रयोजनमा साटियो भन्नेबारे प्रस्ट पार्न दबाब दिएका छन् । उनीहरूले बालकको सट्टा बालिकाले औषधि खाँदा त्यसको असरले ज्यान गएको भन्दै अनुसन्धान गर्नसमेत माग गरेका छन् । दबाब खेप्न नसकेपछि अस्पतालले स्थानीय अगुवालाई बोलाएको थियो । ती अगुवा, पीडितपक्ष, अस्पताल प्रशासन र स्वास्थ्यकर्मीको टोली छलफलमा बसेको थियो । छलफलले घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा लुम्बिनी अञ्चल अस्पतालका पूर्वअध्यक्ष रामबहादुर कार्की र सदस्यहरूमा आम्दा अस्पतालका चिकित्सक सन्तोष पोखरेल र पीडितका पक्षबाट रामप्रसाद हरिजन रहेका छन् । समितिले ७ दिनभित्र सत्यतथ्य सार्वजनिक गर्नेछ । पछिल्ला दिनमा स्वास्थ्य संस्थामा लापरबाही बढ्दै गएको छ । गत माघ १ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलबाट ८ दिनको नाबालक हराएको थियो । 

को थिइन् नाबालिका ?

अस्पतालले हरिजन परिवारलाई जिम्मा लगाएकी मृत नाबालिका गुल्मीको नयाँगाउँ ३ की कमला गौतमकी छोरी थिइन् । कमलाले गुल्मी अस्पतालमा छोरी जन्माएकी थिइन् । तर शिशु स्वस्थ नभएपछि थप उपचारका लागि मंगलबार आम्दा अस्पतालको एनआईसीयूमा भर्ना गरिएको थियो । नाबालिकालाई राति मृत घोषणा गरेर चिकित्सकले हरिजन परिवारलाई बुझाएका थिए । बालिकाको शव फर्काएपछि अस्पतालले तुरुन्तै गौतम परिवारलाई जिम्मा लगाएको थियो । 
साभार : कान्तिपुर

No comments:

Post a Comment