'हाम्रो गाउँमा छुवाछूत छैन,' - दहरीराम पासवान

बलुवा गाउँकी आनन्दीदेवी चौधरी दलित महिला दहरीराम पासवानलाई
अँगालो मार्दै । समाचार, तस्बिर स्रोत : शिव/कान्तिपुर
बलुवा (रौतहट), वैशाख ७ - 
बलुवा गाउँस्थित किराना पसलमा आइतबार डुमरिया ५ की आनन्दीदेवी चौधरीलाई स्थानीय दलित महिला दहरीराम पासवानले अँगालो मारिन् । 'हाम्रो गाउँमा छुवाछूत छैन,' दहरीले भनिन्, 'एकअर्कालाई आफन्तको व्यवहार गर्छौं ।'

आफूहरूले छुवाछूतविरुद्ध वकालत गर्दै आएको उनले बताइन् । यस गाउँमा सबै जातजातिबीच जन्ती, मलामी, र शुभकार्यमा निम्तो आदानप्रदान हुन्छ । सबै जातिको विवाह भोजमा दलितलाई सहभागी गराइन्छ, दलितको बिहेमा पनि अन्य समुदायलाई निम्तो पुग्छ । जिल्लाका अन्य गाउँमा दलितलाई भोजमा बोलाएको बिरलै सुनिन्छ । अधिकांश गाउँमा छुवाछूत व्याप्त छ । 'हामीलाई छुवाछूतको मतलब छैन,' स्थानीय राजाराम साहले भने, 'यहाँबाट भेदभाव हटेको छ ।' यस गाउँका समुदायबीचको समान व्यवहार जिल्लामै उदाहरणीय बनेको छ । 

गाउँमा छुवाछूतको कुरा गर्दा स्थानीय बासिन्दा रिसाउँछन् । अन्य जातिका घरका धाराबाट दलितले निर्धक्क पानी लान्छन् । यहाँ दलितका ७५ घरधुरी छन् । 'यहाँ सानो र ठूलो जातको भेदभाव अब रहेन,' स्थानीय नरेन्द्रराम पासवानले भने । स्थानीय बासिन्दालाई जातीय छुवाछूतले समाजमा नराम्रो छाप पर्ने हेक्का छ । यस गाउँमा सदियौंदेखि चौधरी र दलित मिलेर बसेका छन् । 'हामीले कहिल्यै विभेद खेपेनौं,' पासवानले भने, 'देशभर सबै दलितलाई उपल्लो जातिले यसरी नै सम्मान गर्नुपर्छ ।' 
केही दिनअघि भीमडावर गाउँमा कथित उपल्लो जातिका व्यक्तिले दलितमाथि आक्रमण गरेको घटनाले यस गाउँका बासिन्दालाई दुःखी बनाएको थियो । 'बलुवामा सबै जातिबीचको सद्भावले मुलुकभर राम्रो सन्देश दिएको छ,' प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले भने, 'यस्तै सद्भाव राख्नसके समाज नमुना बन्न सक्छ ।'

No comments:

Post a Comment