अहेवले सुत्केरी गराउँदा चमेली विकको ज्यान गयो

पाँचथर, वैशाख ११ - 
दक्ष प्रसूतिकर्मीले मात्रै गराउन पाउने व्यवस्था भए पनि यहाँका एक अहेवले घरमै सुत्केरी गराउँदा महिलाको मृत्यु भएको छ । आरुबोटेस्थित दशमी बजारमा निजी क्लिनिक खोलेर बसेका डिल्ली लावतीले घरमै सुत्केरी गराएको चार घन्टापछि आरुबोटे ६ की ३३ वर्षीया चमेली दुराल विश्वकर्माको ज्यान गएको हो । घरमै पुगी जबर्जस्ती हात लगाएर बच्चा निकाल्दा अत्यधिक रक्तस्राव भएको स्थानीयवासीले बताए ।  

जनसेवा मेडिकलका सञ्चालक लावतीले चैत ९ गते घरमै पुगेर सुत्केरी गराएका थिए । ६ बजे उनको पेटबाट छोरी जन्माएपछि अत्यधिक रक्तस्राव भएको थियो । सोही दिन राति १० बजे उनको घरमै मृत्यु भएको थियो । अदक्ष व्यक्तिले सुत्केरी गराउँदा ज्यानै गए पनि पीडितले कतै जानकारी दिएका थिएनन् ।करिब दुई सय मिटरमा ओलने इलाका स्वास्थ्य चौकी छ । तैपनि विश्वकर्मा परिवारले लावतीलाई घरमै बोलाएका थिए । लावतीले क्लिनिकको बोर्डमा 'यहाँ होम डेलिभरीको पनि व्यवस्था छ' लेखेका छन् । 

स्रोतका अनुसार लावतीले मृतक महिलाका पति सहमानलाई २० हजार रुपैयाँ दिएर घटना गाउँमै थामथुम पारेका हुन् । पीडित परिवार गरिब भएकाले विभिन्न प्रलोभन र धाकधम्की दिएर मिल्न बाध्य पारिएको उक्त स्रोतको दाबी छ । केही दिनअघि सहमानले आफूलाई क्षतिपूर्तिबापत ३० हजार र ६ वर्ष बच्चा पालिदिने सर्तमा मात्र मिल्न तयार रहेको बताएको गैरसरकारी संस्था महासंघ, जिल्ला अध्यक्ष बालकृष्ण ओझाले बताए । पब्लिक हेल्थ नर्स अञ्जना खड्काका अनुसार अनमी, स्टाफ नर्स र डाक्टरले तालिम लिएपछि मात्र दक्ष प्रसूतिकर्मी बन्न सक्छन् । अहेव र स्वास्थ्य सहायक दक्ष स्वास्थ्यकर्मी भए पनि प्रसूति गराउन अदक्ष नै रहने उनले बताइन् ।

जिल्ला स्वास्थ्य प्रमुख डा. पवनजंग रायमाझीले आफूले अदक्ष व्यक्तिले घरमै गएर प्रसूति गराउँदा सुत्केरीको मृत्यु भएको घटना सुनेको बताउँदै स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्नुपर्ने बताए । 'अयोग्य व्यक्तिले के कति कारणले सुत्केरी गराए ?,' रायमाझीले भने, 'अनुसन्धान गरेर कारबाही गरिनेछ ।'

No comments:

Post a Comment