टीट्वेन्टी क्रिकेटमा सोमपालको विश्व कीर्तिमान

काठमाडौं : नेपाली क्रिकेट टोलीले सोमबार श्रीलंकाको कोलम्बोमा हङकङसँग टीट्वेन्टी क्रिकेट प्रतियोगिता खेल्यो।नेपाल र हङकङ दुबैसँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता रहेकाले यी दुई टोलीबीच भएको खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिइएको थियो। नेपालले आईसीसीबाट मान्यताप्राप्त टीट्वेन्टी शृंखला खेलेको यो पहिलोपटक हो। 
 
खेलमा नेपाल अन्तिम ओभरमा दुई विकेटले पराजित भए पनि नेपाली खेलाडी सोमपाल कामीले कमाल गरे। उनले अन्तर्राष्ट्रिय क्रिकेटमै गजबको कीर्तिमान बनाए। खासगरी आफ्नो धारिलो बलिङले विपक्षी ब्याट्सम्यानलाई थर्कमान बनाउन माहिर सोमपालले सोमबार भने ब्याटिङमै कीर्तिमान बनाएका हुन्। 
 
नेपाली क्रिकेटका उदियमान प्रतिभा सोमपालले हङकङविरुद्ध १० औं नम्बरमा ब्याटिङ गर्दै ४० रन बनाए। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यो कीर्तिमान हो। उनले अफगानिस्तानका हामिद हसनको कीर्तिमानलाई पछि पारेका हुन्। हामिदले सन् २०१० मा दक्षिण अफ्रिकाविरुद्ध १० औं नम्बरमा ब्याटिङ गर्दै अविजित २२ रन बनाएका थिए। 
 
क्रिजमा ओर्लिएदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका १८ वर्षीय सोमपालले ४० रन बनाउने क्रममा केवल ३१ बलको सामना गरी दुई छक्का र ६ वटा चौका पनि प्रहार गरे। उनको स्ट्राइक रेट १२९.०३ रह्यो। उनले खेलमा एक विकेट पनि लिएका थिए। भारतबाट क्रिकेट जीवन सुरु गरेका सोमपाल नेपाली टोलीका प्रतिभाशाली तिब्रगतिका बलर हुन्। 
 
केवल २५ रनकै कुल स्कोरमा आठ विकेट गुमाइसकेको नेपाली टोलीको स्कोरलाई सोमपालले नै ७२ रनसम्म पु:याएका थिए। सोमपाल बाहेक नेपालका अन्य ब्याट्सम्यानले दोहोरो सँख्यामा रन बनाउन सकेनन्। सोमपालले श्रीलंकाको स्थानिय टोलीसँग भएको दुईवटा तीन दिने खेलमा पनि अलराउन्ड प्रदर्शन गरेका थिए।

उनले दुई खेलमा गरेर १८ विकेट र ६६ रन बनाएका थिए। दुबै खेलमा उनी म्यान अफ दि म्याच पनि घोषित भएका थिए। 
 
१० औं नम्बरका सर्वाधिक रन बनाउने 
 
४० रन : सोमपाल कामी (नेपाल) विरुद्ध हङकङ 
 
२२ रन : हामिद हसन (अफगानिस्तान) विरुद्ध दक्षिण अफ्रिका 
 
२१ रन : सइज अजमल (पाकिस्तान) विरुद्ध वेस्टइन्डिज 
 
२१ रन : दिलहरा फर्नान्डो (श्रीलंका) विरुद्ध न्युजिल्यान्ड 
 
२१ रन : कमरान सहजाद (युएई) विरुद्ध जिम्बाब्बे 
 
२० रन : डग ब्रासवेल (न्युजिल्यान्ड) विरुद्ध वेस्टइन्डिज 

No comments:

Post a Comment