दलित समुदायकी महिलाको सपनामा छुवाछुतको तगारो

फोटो :मनिष दुवाडी (गीता मिजारले पालेको गार्इ)
धादिङ : गार्इको दूध बेचेर जीविका चलाउने दलित समुदायकी महिलाको सपनामा छुवाछुत तगारो बनेको छ ।  गजुरी गाविस–१ की गिता मिजारले पालेको गाईका दूध कसैले नकिनिदिएपछि उनी अफ्ठेरोमा परेकी छन् । 
 
दूध बेचेर घरखर्च टार्दै छोराछोरी पढाउने उनको योजनामा त्यतिबेला ठेस लाग्यो जतिबेला गाई ब्याएप्छि दूध कसैले किनिदिएनन् । 
 
आयआर्जन कार्यक्रम चलाइरहेको फोकस नेपालद्वारा गठित उज्यालो सामुदायिक संस्थाबाट २५ हजार रुपैयाँ ऋण काडेर किनेको गाईको दूध नबिकेपछि घर धान्न समेत उनलाई समस्या भएको छ । 

‘दुध बेच्न गजुरी वजारको दूग्ध संकलन गर्ने केन्द्रमा गएँ । पसलले तिम्रो घरको दूध किनेपछि हाम्रा ग्राहक किन्न आउदैनन भने’, उनले भनिन्, ‘त्यसपछि मन अमिलो बनाउँदै घर फर्किएँ । दलित भएकैले दूध किनेनन् ।’
 
दूध बेच्न नसकेपछि ऋण तिर्न उनले छिमेकी जानुका भण्डारीकै गोठमा गाई बाँधेर भण्डारी परिवारकै सदस्यलाई दूध दुहुन लगाउँछिन् ।  आफूले लाँदा नकिनेपछि जानुकाकै भान्जीलाई दूध लिएर डेरीसम्म पठाउने गरेको उनले बताइन् । दूध लगिदिएवापत मासिक ४ सय रुपैयाँ दिने गरेकी छिन् । 
 
पति साने मिजार दुई वर्षअघि देखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन । भण्डारीको गोठमा गाई बाँधेपनि घाँसपराल र गाईको स्याहार भने उनी आफैंले गर्छिन् ।
 
‘मेरो गोठ खाली नै थियो । उनलाई सहयोग हुने भएकाले आफ्नो गोठमा गाई बाँध्न दिएकी हुँ ।’ जानुकाले भनिन्, ‘घाँसपानी उनैले गर्छिन् । भ्याउँदा मैले सघाउँछु र दूधचाँहि मैले नै दुहुने गरेकी छु ।’

गाईले विहान ३ लिटर र बेलुकी २ लिटर दूध दिने गरेको छ  । आयआर्जन गर्न खोज्ने दलित महिलालाई समाजले अछुतको व्यबहार गर्दा दलितहरु हतोत्साहित हुने गरेको स्थानीय शिक्षक तथा दलित अगुवा श्याम बिसुन्केले वताए । 
 
दलित अधिकारकर्मी श्याम मगरातीले जुनसुकै स्थानमा जुनसुकै छुवाछुतजन्य विभेद गरे पनि त्यसलाई अपराधको रुपमा ऐनले परिभाषित गरेपनि कार्यान्वयन नभएकोमा चित्त दुखाए । 

No comments:

Post a Comment