मुक्ति समाजको सबै तहमा ३३ प्रतिशत दलित महिला अनिवार्य -राजेन्द्र ताम्राकार

काठमाडौं÷२०, असार, एमाले निकट दलित भ्रातृ सङ्गठन नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष जीतु गौतमले सङ्गठनको सबै तहमा ३३ प्रतिशत दलित महिलाको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गरिने बताउनुभएको छ । उहाँले समाजको छैठौँ सम्मेलनबाट कम्तिमा ५० जना दलित महिलालाई केन्द्रीय कार्यसमितिमा ल्याउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ । 
गौतमले समाजमा हाल १२५ सदस्यीय केन्द्रीय कार्यसमितिमा २५ जना दलित महिला रहेकोमा यसलाई बढाएर समाजको आगामी छैठौँ महाधिवेशनबाट दलित महिलाका लागि कम्तिमा ५० सीट छुट्याइने प्रतिवद्धता गर्नुभएको हो ।
उहाँले पदाधिकारीमा पनि कम्तिमा ३३ प्रतिशत दलित महिलालाई आगामी सम्मेलनबाट नेतृत्वमा ल्याउन समाजको नेतृत्वको हैसियतले आफूले सक्दो पहल गर्ने बताउनुभयो । 
पाँच उपाध्यक्ष, पाँच सचिवसहित १५ जना पदाधिकारी रहेको समाजमा महिला पदाधिकारीको रुपमा एकजना टेकु नेपालीमात्र समाजको बरिष्ठ केन्द्रीय उपाध्यक्षको रुपमा जिम्मेवारीमा रहनुभएको छ । 
समाजमा दलित महिलाको के–कस्तो उपस्थिति रहेको छ ? समाजले दलित महिलाका लागि के–कस्ता नीति तथा कार्यक्रम सञ्चालनमा ल्याएको छ ? समाजमा दलित महिलाको अर्थपूर्ण सहभागिताका लागि सङ्गठनले के कस्तो नीति तथा कार्यक्रम ल्याउँदैछ ? 
दलित महिलालाई राजनीतिको केन्द्रमा ल्याउनका लागि समाजले के–कस्ता प्रयास गरिरहेको छ, आगामी दिनमा दलित महिलालाई सक्रिय राजनीतिमा क्रियाशिल गराउनका लागि कस्ता किसिमका नीति तथा कार्यक्रम ल्याउनु जरुरी छ ? 
लगायतका समसामयिक राजनीतिक विषयमा समाजको नेतृत्वसंग छलफल गर्नका लागि दलित महिला संघको नेतृत्वमा विभिन्न पार्टीमा आवद्ध दलित महिला नेतृसहितको टोली समाजको कार्यालय बुद्धनगरमा गएको थियो । 
छलफल कार्यक्रममा दलित महिला संघकी महासचिव कला स्वर्णकारले दलित महिला संघको काम, समाज नेतृत्वसंग गर्न लागेको बैठकको उद्देश्य, दलित महिलालाई अर्थपूर्ण राजनीतिमा ल्याउन दलित महिला संघले गरिरहेका प्रयास, संघको उद्देश्य र आगामी योजनाको बारेमा संस्थाको धारणा राख्नुभएको थियो । 
सो अवसरमा स्वर्णकारले सबै नीतिको माउ नीति राजनीति भएकाले जबसम्म दलित महिलाले राजनीतिमा अर्थपूर्ण र कार्यकारी भूमिका पाउन सक्दैनन् तबसम्म समाजको समग्र विकास सम्भव नहुने कुरा बताउनुभएको थियो । 
कार्यक्रममा मुक्ति समाजका केन्द्रीय महासचिव गणेश वि.के ‘देउल्याल’ ले मुक्ति समाजमा दलित महिलाको अवस्था, उनीहरुको राजनीतिक उपस्थिति, विधानले दलित महिलाका लागि गरेको व्यवस्था, समाजको नीति, नियम, विधि विधान र आगामी योजनाको बारेमा समाजको तर्फबाट आफ्ना धारणा राख्नुभएको थियो । 
महासचिव विश्वकर्माले पार्टीले आठौं महाधिवेशनबाट दलितका लागि आठजना आरक्षित गरेपनि पार्टीभित्र महिलालाई हेर्ने विभेदकारी व्यवहारका कारण आठैजना पुरुष दलित केन्द्रीय कार्यसमितिमा आएको स्मरण गर्नुभयो । 
उहाँले यो गल्तीलाई पार्टीको नवौं महाधिवेशनबाट सच्याउनका लागि आफूहरुले महाधिवशेन हलमा मुक्ति समाजको नेतृत्वमा १६८ जना दलित प्रतिनिधिले नारा, जुलुस, घेराउ, आन्दोलन गरेको बताउनुभयो । उहाँले यति गर्दा पनि पार्टीमा दलित समुदायको आठजना आरक्षित सीटमा दलित महिलाका लागि छुट्टै सीट आरक्षित गर्न नसकेको बताउनुभयो । 
उहाँले मुक्ति समाजको निकट भविष्यमै हुन गइरहेको छैटौँ सम्मेलनमा समाजका बरिष्ठ केन्द्रीय उपाध्यक्षलाई अध्यक्षका लागि अगाडि सार्ने विचार व्यक्त गर्नुभयो । यसका लागि उहाँले उपाध्यक्ष टेकु नेपालीतर्फ सङ्केत गर्दै आगामी सम्मेलनबाट नेतृत्व लिनका लागि तयार रहन आग्रह गर्नुभयो । 
विश्वकर्माले पार्टीको दशौं महाधिवशेनबाट दलित महिलाका लागि छुट्टै सीट आरिक्षत गराउनका लागि मुक्ति समाजले पार्टीभित्र विशेष पहल गर्ने बताउनुभयो ।
छलफल बैठकमा मुक्ति समाजका उपाध्यक्ष सुन्दर विश्वकर्मा, सचिव रामकिसुन मण्डल, महिला विभाग सचिव एवं पूर्व सभासद् दुर्गा परियार लगायतले समाजभित्र दलित महिलालाई नेतृत्व, कार्यकुशलता, योग्यता र क्षमताका आधारमा उचित जिम्मेवारी दिइनुपर्नेमा जोड दिनुभएको थियो ।
छलफल बैठकमा सहभागी विभिन्न पार्टी सम्वद्ध दलित महिला नेतृहरुले समाजको नीति तथा कार्यक्रम, समाजले आगामी दिनमा दलित महिलालाई अर्थपूर्ण राजनीतिमा ल्याउन गर्नुपर्ने पहलहरु, समाजमा दलित महिलाको उपस्थिति र जिम्मेवारी लगायतका विषयमा नेतृत्वसमक्ष जिज्ञासा राख्नुभएको थियो । भने समाज नेतृत्वले ति विभिन्न जिज्ञाको सम्बोधन गरेको थियो । 
छलफलमा विभिन्न राजनीतिक दलमा क्रियाशिल काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, लमजुङ्ग, कैलाली, सोलुखुम्बु लगायतका जिल्लाका गरी १८ जना दलित महिला नेतृको सहभागिता रहेको थियो । छलफलको सहजीकरण दलित महिला संघकी बरिष्ठ सदस्य रेणु सिजापति र लक्ष्मी न्यौपानेले गर्नुभएको थियो ।

No comments:

Post a Comment