दलितले छोएको नखाने मेनेजरले विश्वकर्माको निवेदन लिन नसक्ने भनी फर्काइए

धादिङ । ०७१ मङ्सिर ३ गते
राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय गजुरीले कार्यालय सहयोगीको लागि आह्वान गरेको दरखास्त लिन अस्वीकार गरेका भन्दै गजुरी गाविस-१ आदमाराकी २८ वर्षीया सन्तोषी विश्वकर्माले मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छिन् । राष्ट्रिय बाणिज्य बैङ्क गजुरी शाखामा कात्तिक ३० गते  निवेदन दिन आएकी पीडितको दिएको निवेदन लिन बैङ्कले अस्वीकार गरेपछि पीडित न्याय खोज्न प्रहरी कार्यालय पुगेकी हुन् । 

आफू कार्यालय सहयोगीको लागि निवेदन लिएर पुग्दा बैङ्कका मेनेजर शङ्करप्रसाद पौडेलले कार्यालय सहयोगीले खाना चिया समेत बनाउनु पर्ने भएकोले आफ्नो कार्यालयमा राख्न नसक्ने भनेको पीडितले बताइन् ।

पीडितले गजुरी गाविसका पूर्वअध्यक्ष शुक्ल उप्रेतीसमेतले विश्वकर्माको निवेदन दर्ता गर्न अनुरोध गर्दा समेत म्यानेजर पौडेलले आफूले दलितले छोएको नखाने र अरु मेनेजर आउँदासमेत नखाने भएकोले उनको निवेदन लिन नसक्ने भनी फर्काइएको थियो ।

शाखा कार्यालयले काउन्टर विस्तारको सिलसिलामा कार्यालय सहयोगी माग गरेबमोजिम विश्वकर्मा राष्ट्रिय बाणिज्य बैँक गजुरीमा कात्तिक ३० गते निवेदन दिन गएकी थिइन् । बैङ्कका म्यानेजर शङ्करप्रसाद पौडेलले आफूले छुवाछुतसम्बन्धी अभिव्यक्ति नदिएको र निवेदन लिन अस्वीकार नगरेको बताए ।

No comments:

Post a Comment