तम्घासमा ४० को दशक सम्म दलितलाई खुवाएको भाँडाहरु पखाल्न लगाईन्थ्यो


प्रेम सुनार -गुल्मी २५ पुष ।  हालको ब्यस्त बजार भिमचोक, शहिदचोक, चिदीचौरमा कुनै दिन निरह ताल थियो रे भन्छन् बुढापाकाहरु । पछि सम्म हाल बस पार्क रहेको स्थान र चारखोला तिर डर लाग्दो झाडी देख्ने बुढापाकाहरु त जिवितै छन् । स्याल कराएर सुत्नै दिदैनथ्यो रे ।  २००९ साल अघि सम्म पुर्ण तः सुनसान गाउँ तम्घासको नामकरण कसरी रह्यो भन्नेबारे  दुई बेग्ला बेग्लै जनश्रुति छन् । कसैले तम्घासमा ताल थियो रे, जहाँ असाध्धै घाँस पलाएको र ताल र घाँसबाट तम्घास नामकरण गरिएको भन्छन् भने अलि धेरैको जनश्रुति अर्जुन लेकका तत्कालिन दुराचारी राजको  विहे गरेर ल्यादै गरेकी बेहुलीको कुमारीत्व हरणबाट तम्घास  नामकरण रहेको भन्ने छ । एक समयका चर्चित पण्डित उपल्लो तम्घासका ९५ वर्षिय फर्शुराम  पन्थीका अनुसार  देउरालीमा अर्जुन डाँडामा रहेका ति दुराचारी राजाले नाकाका रुपमा आफ्ना सेना तैनाथ गर्ने गर्दथे र विवाह गरेर ल्याईएकी बेहुलीलाई रोक्न लगाएर माथी दरबारमा पुराएर ति राजाले कुमारीत्व हरण गरेर मात्रै पठाउने गर्दथे । पछिल्लो चरणकी वेहुलीले मानिन् । उनि माथी जान त बाध्य भईन तर बेहुलासंग भनिन् मैले आफ्नो सत डगाउन दिने छैन, म त्यससंग लडेरै आफ्नो ईज्जत बचाएरै आउने छु यदि उसले मेरो ईज्जत लुट्यो भने यहाँ रगत बग्ने छ र मैले देह त्याग गर्नेछु भन्ने वाचा गरेर गईन । हालको तम्घासस्थान मन्दिर जो उपल्लो तम्घासको खलाचौरमा छ । त्यहाँ बेहुलीको बाचा अनुसार दुधको कुण्डली बनाईयो । माथी राजासंग कुमारीत्व बचाउको संघर्ष गर्दा गर्दै सकिनन् ति बेहुलीले अन्ततः उनले देह त्याग गरिन् र केहि बेर पछि त्यो दुधको कुण्डलीमा रगतको पोखरी प¥यो । त्यो देखेर के तमासा भयो यस्तो ? भन्दा भन्दै यहाँका बासीन्दामा तमासा शब्द ओंठमा झुण्डीन थाल्यो । फलतः तमासा तमासा अप्रभंस हुँदै तम्घास नामकरण हुन गएको पण्डित पन्थीको भनाई छ । कान्छा पण्डितका नामले परिचत उनि रेसुङ्गाका प्रभु यदुका नन्दका एक मात्र जिवित साँछी हुन् । उनले तत्कालानि रेसुङ्गा र तम्घासको बेली विस्तार सुनाउँदै भने–‘  यहाँ त पुरै झाडी थियो हाम्रा पिता पुर्खाहरु एउटै घरधुरले पचास साठी वटा गाई पाल्थे । ’ काठमाण्डौंका राण महाराजको घरमा पण्डित्याई गरेको अनुभव समेत संगालेका उनि विपि कोईराललाई राण विरोधी आन्दोलनका क्रममा उपल्लो तम्घासको आफ्नो घरमा आश्रय दिने पनि जिवित साँछी हुन् । उनका अनुसार तम्घासका पुरानाबासीन्दाहरु मध्ये हालको धागीधुममा तामाखानी थियो । त्यो खानी उत्खननका लागि भार्षे लगायतका स्थानबाट मगरहरु आए । उनिहरु बसोबास गरेको ठाउँलाई खानीगाउँ भन्न थालियो ।
त्यस्तै उनिहरु संगै यहाँ पन्थीहरु बसोबास गरेका थिए । उनै पन्थीहरु संगै भुजेलखर्कमा बस्ने चुँदरा, उपल्लो तम्घासका सुनार, चारीखोलाका चित्रेहरु , बसपार्क र बसोबास गर्ने जुत्ता सिलाउने मोची , बुढीचौर, खलाचौर लगायतका स्थानमा बस्ने दर्जिहरु आएका थिए । त्यस्तै मरासीनी पनि यहाँका पुराना बासीन्दाहरु हुन् । ८० को नेटो काटेका र तम्घासमा अग्रेजी विषय पहिलो पटक पढ्न सुरु गरेको दावि गर्ने साहु टोलका ताराप्रसाद पाण्डेका अनुसार हालको रेसुङ्गा माध्यामिक विद्यालय रहेको स्थानमा प्राध्यापकद्धयः सशी पन्थी र दीन पन्थीका बाबुले नुन चामल बोक्न हिड्ने ढाँक्रेहरुलाई बास बस्न मिल्ने पौवा बनाएका थिए । जसलाई धौले पौवा भनिन्थ्यो । त्यही धौले पौवाबाट गुरुकुल शिक्षा सुरु भएको थियो । ‘हामीहरु त्यो धौले पौवामा चिपलेटी खेल्थ्यौं, घोडाहरु पालिएको थिए पाण्डेले भने–‘ त्यहीबाट हामीले गुरुकुल शिक्षा लिएका थियौं । ’ उनका अनुसार हाट वजारका नाममा पुरानो बजार र यता साहु टोलमा तमाखु, भुर्रा, सिध्रा , गुँडहरु बेच्ने साना पसल थिए । पछि साहु टोलमा अर्घाखाँची माझकोटबाट भुवानप्रसाद श्रेष्ठका पिता मथुराप्रसाद श्रेष्ठहरु आए । त्यस भन्दा अझ पहिला पुरानो बजारमा आएर राजकुमार श्रेष्ठ, सुरेन्द्र कक्षापति लगायतका बाजे गणेशप्रसाद श्रेष्ठ आएर तम्घासमा पहिलो पटक पसल राखेका थिए । तम्घासका पुराना समाज सेवी नन्दराम भुसालका अनुसार उनको पसलको नाम पछि सम्म रुन्चेको पसलका रुपमा निकै चर्चित रह्यो । भुसाल भन्छन –‘ हालको तम्घास बजारका सस्थापक ब्यवसायीका रुपमा उनै गणेश श्रेष्ठ र वजार विस्तारक तत्कालिन बडाहाकीम चन्द्रमान थकाली थिए ।
पहिलो पटक तम्घासमा २००९ सालमा पाल्पाबाट प्रशासनिक  निकाय बस्न सुरु गरेको भुसालले बताए । त्यस अघि सम्म पाल्पा कै अधिनमा रहेको गुल्मीमा २००९ साल देखि गुल्मी अर्घाखाँची जोडेर एउटा प्रशासनिक निकाय बनाईएको हो ।’उनका अनुसार खास तम्घास बजार त २०१९ सालबाट विस्तार भएको हो । त्योे प्रशासनिक निकायलाई  गौडा भनिन्थ्यो र सानो खरले छाएको पौवामा बसेको थियो । पछि सहायहक अञ्चलाधिसा बस्न थाले’–भुसालले भने । २०१९ सालमा बडाहाकिम थकालीले भुजेलखर्कका चुँदराहरुको तल तम्घास खाल्डोमा रहेको बारी किनेर वजार विस्तार गराएको भुसालले बताए । ‘उति बेला कै जमनामा त्यस्तै तिन लाख जतिमा बडाहाकिम चन्द्रमान थकालीले चुँदराको बारी किनेर चार चार हजारका दरले घडेरी वितरण गरिएको थियो’–भुषालले भने –‘हामीले त अलि पछि किनेका हौं । ’ उनका अनुसार नेपालका सडकहरु मध्ये सबै भन्दा ढिलो पिच भएको तान्सेन तम्घास मोटरबाटो हो जो विस वर्ष सम्म कच्ची नै थियो । त्यस्तै यो सडक गुल्मेली जनता आफैले पन्ध्र वर्ष लगाएर खनेका थिए र २०३९ साल बैशख १ गते तम्घासमा पहिलो पटक ट्याक्टर आएको भुसाल बताउँ छन् । यो सडक खन्नमा तत्कालिन जिल्ला सभापति र पछि तिन तिन पटक राष्ट्रिय पञ्यतका सदस्य समेत रहेका बैकुठबहादुर चन्दको मुख्य भुमिका र अतुलनिय योगदान रहेको भुसालको ठहर छ । यो सडकलाई त बैकुण्ठ मार्ग नामकरण नै गर्नु पर्ने कुरा चलेको हो तर राजनितीका करण कुरै सेलाएको बताउँदै उनले चन्दको सम्मान स्वरुप बैकुण्ठ मार्ग हुनु पर्नेमा जोड दिए । २०३९ सालमा पहिलो पटक तम्घासमा गाडी आउँदा हेर्न आउनेको ताँती लागेको थियो । दुई तिन वर्ष सम्म त गाडी चड्नका रहरले विना काम पनि  युवा युवतीहरु गाडी चड्न डाईवर सित अनय विनय गर्दथे भने पछाडीबाट झुण्डीने केटा केटीहरुले हैरान पार्दथे । जति बेला तम्घासका अधिकांस घरहरु खरले छाएका थिए । भिमचोक  लगायतको वजार माथी सिडियो क्यावटरलाई  दिशा वस्ने गौंडाको रुपमा चेतनारण मरासीनीका  पिता र उनका दाई भाईले  त्यत्तिकै दिएको जमिन हो भन्छि । उनले सिडियो क्वाटर लगायतको प्रशस्त जमिन त्यति कै दिएका थिए ।  २०३९ देखि तम्घासमा गाउँका लाहुरे, जागिरेहरुले घडेरी किन्ने क्रम सुरु भयो । ४० को दशक सम्म हालको ब्यस्त बजार मिलनचोक देखि उता उदिनढुङ्गातिर घडेरीमा आँखा लगाउने कोहि थिएन् । स साना खरका झुपडी थिए ।
पहाड जत्रा डुङ्गाका विचमा बाटो खोलिएको थियो । अलि पैसावालाले यतैतिर घडेरी किन्दै थिए । अलि थोरै पैसा हुने तर बुद्धि भएकाहरुले  पछि भए होला नभए नहोला भन्दै दोधारै दोधारमा उदिन ढुङ्गातिर घडेरी किन्न थाले । यसै पंक्तिकार  शान्ति सेनाबाट आउदा उदिनढुङ्गको ४० हजार हात घडेरी खान छिःयस्तो ठाउँमा पनि के किन्ने भन्यो र राम्रै जग्गामा पैसा हालौ भनेर नवलपरासीको प्रगति नगरमा गएर किनेको थियो । अहिले उदिन ढुङ्गाको त्यही घडेरीको मुल्य प्रति हात डेढ लाख हुँदा ठुलो पछुतो लाग्छ । अझ  हातको दश आठ हजार भाउमा महंगो भयो भनेर न किन्नेहरु झन पछुतोमा छन् । अझ देउराली, अर्खाखाँची बस पार्क तिर त कसले आँखा लगाओस । उपल्लो तम्घामा त धेरै जसो ब्यवस्थीत शौचालय समेत नभएका स साना घरका झुपडीहरु थिए । पाहुनाहरु आउँदा मान्छेले देख्ने भएकाले झिसमेसीमा उठेर पाटाका कुनाकानीमा शौचालय बस्न जान्थे । खानी गाउँका घरहरु पनि प्राय उस्तै थिए । पालीसितको खरको छाना भएको खानी गाउँका घरहरुमा उपल्लो तम्घासका सुनारहरु कतै फुपु, कतै मामा माईजु भन्दै रक्सी खाना जान्थे । भैलोमा निकै नाच्ने भएकाले पुर्सुङ्गे भनेर चिनेने वालकृष्ण बरालका बाबु र म अर्थात उहाँ की दिदीको नाती पछ्याउँदै खानी गाउँ जान्थे । खै माईजु पहिला चाखम त रक्सी भनेर उहाँले भने पछि सिल्टीको बटुकोमा रक्सी दिन्थे, जो अहिलेको डेढ बोतल त्यही एउटा बटुकामा हुन्थ्यो । खानीगाउँले मगरहरु दिएर खाएर नसकीने ब्यबहारका थिए । प्राय घर घरमा सुँगुर पालिएको हुन्थ्यो । दशैं तिहारमा कालो सुँघुरको चोपीलो मासु, अझ रक्ती हालेको भुटुवा दुनामा राखेर सुनारहरुालई दलानमा दिन्थे तर बोलीचाली र ब्यवहारमा आफ्नोपन हुन्थ्यो । उपल्लो तम्घास लगायतका ठाउँमा भने ४० को दशक सम्म सुनार लगायतका दलितलाई खुवाएको भाँडाहरु पखाल्न लगाईन्थ्यो र भित्र लैजान परे त्यो भाँडामा थोरै पानी राखेर च्वास्स आगोको कैलो हालिन्थ्यो । त्यो दशक सम्म रेडियोको च्यादर ओढ्ने चलन थियो । उपल्ला् तम्घासबाट तल बजार झर्ने बुढापाका सुनारहरु जाडोले रेडियोको च्यादर भित्र लुकाएका हातहरु निकालेर आफ्नै छोरा सरहका उमेरका युवालाई पनि जदो भन्दै हात उठाउँथे । कतिपयले त त्यो ढोग पनि नर्फकाई मुख लुकाएर बाटो लाग्थे । म सानै देखि बुढा मावल उपल्लो तम्घास वसे । भट्ट मकै खाने चलन निकै थिई दिदीलाई ‘दि’भनेर बोलाउने गरेको म अहिले सम्म भुल्न सक्दीन् । तम्घास भाषा अलि लस्के भाषा थियो उति बेला । । जति बेला जहुँ र गहुँ तम्घासमा निकै हुन्थ्यो । कोदो कम रोप्थे । गहुँको सुख्खा रोटी खाने चलन थियो र खुव खाईयो । तिहारमा पकाएका फिनी रोटी र वटुक खैरेनी वुडियाँले माघे सक्रान्ती सम्म राखी दिनु हुन्थ्यो । । उपल्ला तम्घासका ब्राम्हणहरुका घरहरु अलि देख्न लायक थिए । सुनार मध्येमा जग्गा जमिनमा धनी बाटे साईला थिए र अहिले पनि छन् । जति सम्पत्ति , सक्दो पुग्दो भए पनि उनि बाटे साईला लगायतका बुढा पाका सुनारहरुमा अहिले सम्म पनि पुरानै लावाई खवाई, पुरानै ढवाक रहेको छ । उनिहरु कहिल्लै ठुल्याई पार्न जानेन् । ४० को दशक अघि सम्म तम्घासका अधिकांस सुनारहरु गाउँमा झोला वोकेर गहना कमाउन जान्थे । दिनभरी जोत्न आएका अन्य दलितहरुलाई आटो ढिडो र सुनारलाई दुध र भात अनि मतवालीकहाँ कुखराका भाले काटेर खुवाउने चलन थियो । कुखरा किन्न जाँदा यो भाले त फुली मुन्द्री  बनाउन सुनार बोलाएका छौ उसैलाई राखेका हुँ भन्थे ।  ४० को दशक अघि सम्म तम्घासका व्राम्हण क्षेत्री महिलाहरुको नाकमा  फुली र डोलो मुन्द्र देखिन्थ्यो भने खानी गाउँका मगर महिलाको नाकमा झुम्के बुलाकी, काडे फुली , हातमा काँडे वाल, गलामा चारनी आठनीको हारी, दशैको कोटको राम हेर्न जाँदा श्रीफुल, क्लीप, मडौरी ढुङ्री लगाउथे  । झण्डै दई दशक सम्म कानमा तम्घासे सुनारले बनाएका कल्ली कांडे मडवारी महिलाहरुको निकै रोजाईको गहना बन्यो । कसका कानका मडवरीमा कति लामा कांडा छन् ? दाँज्ने गरिन्थ्यो । पछि टप फुली, नथ्थाको चलन बढ्यो । कुनै समय दाँतमा सुन बाध्ने पनि महिलाहरुमा फेशन बढेको थियो ।  नाकमा दार्जलिङ्गे फुली, लामा लामा काँडा भएको झुम्के बुलाकी र मखमलको घलेकमा पनि तम्घासे मगर महिलाहरु सजिन्थे ।  छिटको गुन्यु , रातो मखमलको चोलो र पिलासको चोलो किनै चलेको थियो भने किनार सितको धोती, कालो आस्कोट (स्टकोट) सेतो कमिजमा  पाका पुरुषहरु सजिन्थे । त्यस्तै  शहरिया फेशन खोज्ने युवाहरु ३७ ईन्च सम्मका बेली वटन पाईन्ट ल्याफ्रे ल्याफ्रे पार्दै हिड्थे । त्यो बेला सेतो टेर्लिङ्गको सर्ट , रातो पोलीस्टरको पाईन्ट अमिता बच्चन बन्न लगाउँथे युवाहरु । पछि डिस्को डान्सर, प्यार झुक्ता नही हिट भए पछि मिथुन चक्रवतीको गेटअपमा तम्घासका युवा देखिन्थे भने युवतीहरु  पदमीनी कोहलापुरे मिनक्षी सोसाद्री र श्रीदेवि बन्ने होडमा थिए । । पछि नेपाली चलचित्र कान्छीले मार्केट लियो र शिव श्रेष्ठ अनि युगदेखि युग सम्म हिट भए पछि राजेश हमाल बन्न रुचाए युवाहरु ।उता गाउँमा भने युवाहरुरु टाईट जाँगे र जुत्ता मजा चाड पर्व,विवाहमा लगाउने गर्दथे । जसलाई राख्ने कपडा भनिन्थ्यो । गाउँका बुढा पाकाहरु प्राय धरो लगाउँथे । खेत रोपाई ताका त महिलाहरु पेट मिचीमिची हाँस्ने गर्दथे आली लगाउने र खोक चलाउने पुरुषहरुको धरो  एकाति खुस्केर । अझ रोचक पुराना कुरा कोट्याउनु पर्दा राती दुई तिन वजे उठेर एक देखि अर्को गाउँमा पुग्ने बुढापाकाहरु च्यादर ओढेर पारी पुग्ने र उज्यालामा हेर्दा त के को च्यादर हुन्थ्यो गोसेनीको खद्दरको गुन्युमा पो  भेटिन्थे  । अहिले जमना कहाँबाट कहाँ पुगी सक्यो ? सिंगापुरका फेशन अहिले तम्घासमा भन्दा बढि गाउँमा पुगेको छ । गत दशैंको सुनासान तम्घास बजार नियाल्दा खास तम्घास देखिएको थियो । जहाँ गाउँ घरे फेशन थियो भने उता गाउँमा शहरिया । तम्घासको बुढीचौर,थम्का , छापटोलामा अझै शहर छिरेको छैन र विकास हुन पनि सकेको छैन् । धागीथुम, यता भुजेलखर्क वेदुखर्क, कुँडापानी, भुजेलखर्कमा केहि विकास भएको छ । सान्त र हिमश्रृंखलाले मनोरम बसाईका दृष्टीले कुनै समय छिः भुजेलखर्क भन्नेहरुको आँखा त्यो गाउँमा परेको छ । भुजेलखर्कमा समस्या खाने पानीको थियो । जव बृहत पम्पीङ्ग सिष्टम खाने पानी पुग्यो तव त्यो गाउँमा घडेरी किन्नेको ताँती छ । तम्घास भएर पनि आग्लुङ्ग भन्दा पछाडी परेको ठाउँ हो वडा नम्वर ९ । जहाँको सिस्न्यारा, बुट्टाखुरी, नेटा लगायतका टोलका मानिसहरुले खाने पानी, मोटर वाटो लगायतको विकास सुविधा पाउन सकेको छैनन् । बुट्टाखुरीका दर्जनौं दलतिहरु सुकुम्वासी छन् । व्राम्हण क्षेत्रीहरुमा पनि गरिवी ब्याप्त छ । सोता गाउँमा पनि घाउघरे चल्ती चलन छ ।
त्यहाँ पनि एक दर्जन बढी सुकुम्वासीले जग्गा पाको गराउन सकेका छैनन् । तम्घासमा मोटरवाटो आएको अहिले झण्डै तिस वर्ष भई सक्दा ग्रामिण क्षेत्रका टोल टोलमा बाटो पुग्यो तर तम्घासका वडाहरुमा भने नपुग्नुको कारण के हो ? समग्रमा हेर्दा गुल्मीको ऐतिहाँसिक पृष्ठभुमी बोकेको चारपालाले नपाएर  तम्घासले सदरमुकाम पाउनुमा धार्मिक सत रहेको बताईनछ । ऋषेश्रृङ्गाको तपोभुमि रेसुङ्गाको काँख भएकोले पनि यस्तो अवसर तम्घासले पाएको नन्दराम भुसालको भनाई छ । महेन्द्र उच्च माध्यामिक विद्यालय रहेको  जमिनमा मानव वस्ती विस्तार हुनु अति ताल जमेको र त्यहाँ  नागहरु थिए भन्छन् प्रार्चय केशरबहादुर थापा । उनले भने–‘त्यति बेलै देखि यहाँ नागको पुजा गरिन्छ र उनलाई समखान पुराउन नसक्दा अथवा विधि विपरित भए विद्यार्थीहरुमा कुनै अप्रिय घटना हुने गरेको समेत छ ।’ यस्तो धार्मिक महत्व बोकेको र सदरमुकामका कारण जिल्लाको मुख्य ब्यापारिक केन्द्र बनेको तम्घासलाई अव भने मानिसको चहल पहल घट्ने हो कि भन्ने चिन्दा बढेको छ  । उता रिडी रुद्रवेणी सडक खण्ड ,यता साल झण्डी अर्घाखाँची पुर्कोटदह हुँदै ढोरपाटन जोड्ने निर्माणधिन मोटरबाटो सम्पन्न भएपछि तम्घासमा मानिसहरुको आवत जावत घट्ने देखिन्छ । अर्को कुरा सभाषद चन्द्र भण्डारीले प्रतिबद्धता जनाएको साल झण्डी तम्घास फास्टट्रयाक बन्यो भने रिडी, वलेटक्सार, गौडाकोट र ऐतिहाँसिक चारपाला पछाडी पर्ने हो कि भन्ने चिन्ता पनि स्थानियवासीले गर्न थालेका छन् । त्यस्तै सडक चौडा पार्ने सरकारको निति अनुसार दुख गरेर बनाएको घर पनि भत्काई दिने हुन कि भन्ने चिन्ताले ग्रसित छन् सडक छेउछाउँका वासीन्दाहरु । सवैको माग छ वैकल्पीक सडक खोलियोस । यसरी हिजोको तम्घासको रहन सहन, गाउँ वस्तीको अवस्थाको तस्वीर नियाल्दै खानीगाउँका प्रकाश भलामी समयको परिवतर्नसगै विकास भएको बताउँ छन् । - source:-gulmitoday.com

No comments:

Post a Comment