पशुपति शर्मा र देविका केसीको तीज गीतका विषयमा बहस चर्केको रहेछ । यो बहसमा विभिन्न पक्ष-विपक्षका तर्कमा खासै नयाँपन देख्न सकिनँ । मेरा तर्क पनि पूरानै हुन् । तिनलाई यो सन्दर्भमा दोहोर्याउन उपयुक्त ठानेर यो ब्लग लेख्दैछु ।
सर्वप्रथम, शर्मा र केसीको गीत र यसले दलितको मनोभावनामा पुर्याउने असरका विषयमा सेतोपाटीमा प्रकाशित
भोजराज विश्वकर्माको लेख नै पर्याप्त छ । यस विषयमा मेरो थप भन्नु केही छैन । खोक्रो राष्ट्रियता र कोरा जातिवादले धमिल्याएको जातीय प्रश्नका सेरोफेरोमा म आफ्ना विचारलाई सीमित पार्नेछु ।
नेपालमा विशेष गरि उच्चजातका शहरीयाहरू माझ जातपातका कुराप्रति विशेष वितृष्णा छ जसलाई शर्मा र केसीको गीतले राम्रैसँग उजागर गरेको छ । यो सोचको बढ्दो प्रभावस्वरूप जातपातका कुरा नगरौँ, हामी सबै नेपाली हौँ, जातपात कलहको बिउ हो आदि तर्क सोसल मिडियादेखि सामान्य कुराकानीमा मात्र होइन गीतसंगीतमा पनि प्रशस्त ठाउँ पाउन थालेका छन् । यस सन्दर्भमा केही समयअघि निस्केको हरिवंश आचार्यको 'खोक्रो सारङ्गी' भन्ने गीत पनि उदाहरण हुनसक्छ ।
यो भावना इमानदार होला, तर सतही र घातक छ । यसले न त विगतमा विभेद भोगेका र हालसम्म पनि भोगिरहेका समूहलाई सम्मान गर्छ न त सकारात्मक परिवर्तनका लागि आधार तयार पार्न सघाउँछ । जातपातविरोधी सतही राष्ट्रवादी सोचभित्र उच्चजातका मानिसको दम्भ र उनिहरूले मन पराउने खोक्रो आदर्श लुकेको छ ।
हामीले बुझ्नुपर्ने र स्वीकार गर्नुपर्ने कुरा के हो भने नेपालको जातीय संरचना र यसको राज्यसंयन्त्रसँगको सम्बन्धका कारण हिन्दू जात समूहमा तल्लो जातमा पारिएका र अल्पसङ्ख्यक जनजाति समूहले विभेद र असमानता भोगेका छन् । यो विभेदका सामाजिक-सांस्कृतिक, आर्थिक र मनोवैज्ञानिक आयामहरू छन् । जुन समूहले विभेदको सामना गर्नुपरेको छ त्यसले मात्र स्पष्ट रूपमा यी आयामहरूको अनुभुति गर्न सक्छ । नेपालमा कुल जनसङ्ख्याको झन्डै १३ प्रतिशत दलित र ५० भन्दा बढी सीमान्तीकृत जनजाति समूहले विगतको राज्यले प्रश्रय दिएको संरचनात्मक विभेद भोगेका छन् जसको अन्त्य हालसम्म भइसकेको छैन ।
डोकाले छोपेर, मनबाट निकालेर, बिर्सेर, बेवास्ता गरेर -यो विभेद हराएर जाँदैन । "हामी सबै नेपाली हौँ, जातपातको कुरा बिर्सौं" भन्ने भावना विभेदको सही उपचार होइन । भोका र अघाएका; खुट्टा भएका र नभएका; होचा र अग्ला समान गतिमा कुद्न/उफ्रन सक्दैनन् ।
देशप्रतिको माया आकाशबाट बर्सिने होइन -यसका लागि ठोस आधार चाहिन्छ । कसैका मनमा देशप्रतिको माया पलाउन उसले सबैभन्दा पहिला देशले पनि आफूलाई माया गरेको अनुभूति गर्न सक्नुपर्छ ।
यदि इतिहासको कुनै पक्ष वा समय दुखद थियो भने त्यसको परिपूरणका लागि त्यसका स्मृति नामेट बनाउने होइन झन् गाढा बनाउनु आवश्यक हुन्छ । विगतका आततायी र दुःखद युद्धका स्मृतिलाई संगहालयमा राखिनुको उद्देश्य युद्धप्रतिको मोह होइन, त्यसको संझनाले भविष्यमा हामीलाई युद्धले निम्त्याउने विनाशप्रति सचेत बनाओस् भन्ने हो । त्यसैगरि, हाम्रो समाजमा विद्यमान जातीय विभेदलाई हामीले हाम्रो स्मृतिबाट हटाउने होइन, यसलाई गाढा बनाएर राख्नुपर्छ । पशुपति शर्मा र देविका केसीको गीतका विषयमा भइरहेको बहसमा विद्वान र चेतनशील मानिसहरूले विगतलाई बिर्सन गरिरहेको आग्रह आश्चार्यलाग्दो छ ।
त्यसमाथि, नेपालमा जातीय विभेद विगतको कुरामात्र पनि होइन । यसको उपस्थिति र प्रभाव समाजमा हालसम्म पनि कडारूपमा विद्यमान छ । दलित वा सीमान्तिकृत समुदायले समाज र राज्यबाट अनेकन विभेद र असमानता खेपिरहेका छन् हालसम्म । 'हामी सबै नेपाली बनौँ' भन्ने बकम्फुसे नाराले यसको अन्त्य गर्दैन ।
जातीय प्रश्नको कोरा समाधान खोज्ने उग्र जातिवादीका गतिविधिले नेपालमा समता र समावेशिताका मुद्दालाई धमिलो बनाएको तथ्य नकार्न मिल्दैन । आज दलित अधिकारका विषयमा हुनेगरेका टिप्पणीको अश्लीलताको आधार यो पनि हुनसक्छ । जातीय मुक्तिका नाममा उछृङ्खल र अव्यवहारिक शैलीका राजनीतिक भाँडभैलोमा संलग्न जातिवादी र तिनलाई निसर्त समर्थन गर्ने सीमित बुद्धिजीविले समावेशिताका मूल प्रश्नलाई बहकाइदिएका छन् -जसबाट समावेशिता र समताका प्रयत्नको व्यवहारिकतामा शंका गर्ने मानिसहरूको सङ्ख्या बढ्दै गएको छ जसलाई दुखद मान्नुपर्छ ।
यसो भन्दैमा दलित र सिमान्तिकृत जातीय समुदायले भोगेको विभेद र असमानतालाई नकार्नु उचित र शोभनीय हुँदैन । जुन राज्यसंरचनाले दलित र सिमान्तीकृत जनजाति समूहलाई विभेद भोग्न बाध्य बनायो त्यसको संस्कार र संरचनामा ठोस परिवर्तनबिना तिनै दलित र जातीय समूहलाई त्यही राज्यप्रति आस्थावान बन्न प्रेरित गर्नु भद्दा ठट्टामात्र हो ।
पशुपति शर्मा र देविका केसीको गीतले उत्पन्न गरेको तरङ्गले हामीलाई आफ्नो समाजको थिति र संरचनाका विषयमा सोच्न बुझ्न झक्झक्याएको होला । यो परिणामलाई सकारात्मक मान्नुपर्छ । तर, गीत आफैंमा नेपालका उच्च जातका मानिसको मनमा रहेको सतही राष्ट्रवादी सोचको उदाहरण हो जुन हामीले चाहेको सुधार र प्रगतिको खिलाफमा छ ।
गीतमा भनिएको जस्तो उच्च जातका मानिसहरूले आफ्ना छोराछोरीको विवाह दलितसँग हाँसीखुशी गराएको कुरा कोरा कल्पना हो । दलित र अन्य जातका सदस्यका बिच भएका वैवाहिक सम्बन्धका कारण सामाजिक वहिष्करणमा परेका र मारिएका समेत घटना देखिरहेका दलितलाई शर्मा र केसीको गीतले गिज्याएको छ -सम्मान गरेको छैन ।
सकारात्मक परिवर्तन न त कोरा र अवास्तविक कल्पनाको जगमा उभिन सक्छ न त लालुपाते सतही राष्ट्रवादको आडमा जीवित रहन । दलित र जनजातिको सम्मानका लागि उनिहरूका गीतमा अन्तर्निहित भावना र संवेदनालाई चिन्न आवश्यक छ । शर्मा र केसीको गीत मेरो विचारमा उत्ताउलो तीज गीत मात्र हो जुन शहरीया उच्चजातका मानिसको कोरा बुझाइमा आधारित छ ।
No comments:
Post a Comment