जग्गा विद्यालयलाई दिएर गोपाल परियारको ओडार बास

फोटो :मनिष दुवाडी (ओढारमा बसिरहेका गोपाल परियार)
धादिङ : वरिपरी थोत्रा लुगा । सम्पतिको नाउँमा थोत्रा लुगा, एउटा छाता र तीन ठाउमा गाँसेका केही जोर पुराना चप्पलहरु अनि अलिअलि घामपानी छेक्ने ओढार । यी थोत्राथात्रीलाई कपडा र ओढारलाई आफ्नो संसार ठानेर सलाङ गाउ विकास समिति–६ को निवुवाटारस्थित ओढारमा ५ वर्षदेखि ५७ वर्षीय गोपाल परियार बसिरहेका छन् । 
सानैमा बाबुआमा गुमाएका उनले काकासँग अंशमुद्धा जितेर पाएको २ रोपनी जग्गामध्ये एक रोपनी सलाङ–५ मैदानमा रहेको पञ्चमुखी माद्यमिक विद्यालयलाई दिएका थिए । 

सलाङका डिल्ली प्रसाद पाठकले २०३७ तिरै उनले विद्यालयलाई जग्गा दिएपनि त्यसको सट्टा उनलाई अर्के ठाउँमा विद्यालयको जग्गा दिएको बताए । काकासँग अंश मुद्धा परेपछि सधैै किचलो हुँदा बाँकी रहेको एक रोपनी जग्गा पनि सम्हाल्न नसकेपछि गाउँ छोडेर हिडेको बताए । 
 
अंशमुद्धा परेपछि गाउँ छोडेर हिडेका परियारले राजधानीमा सेनाको घरमा काम गर्दा चितवनकी युवतीसँग विवाह पनि गरेका थिए । तर एक वर्षको काखे छोरो लिएर माइत गएकी श्रीमती नफर्केपछि उनी गाउँ फर्किए । 
 
विहे गरेपछि ससुराली नगएका उनले श्रीमती र छोराको त खोजी गरेनन नै, गाउँ फर्किएर पनि बस्ने ठाउँ नहुँदा ओढारलाई घर बनाए । 
 
ओढारमा तीन वर्षसम्म एक्लै वसेका परियारलाई सलाङकै नेत्र मगरको घरमा एक वर्ष राखियो । तर अरुको घरमा बस्नेलाई आफुले भनेजस्तो सधै कहाँ हुन्थ्यो र । निधार खुम्च्याउदै परियारले भने, ‘घरको काममा सघाएवापत खान लाउन न पाएकै थिएँ तर खेतबारी जोतेको, मेलापर्म गरेको कामको ज्याला नपाएपछि फेरी यही ओढारमा आएँ ।’
 
५ वर्षयता उनी ओढारमै छन् । दिनभर ज्यालादारीमा अरुको खेत जोत्ने, मजदुरी गर्ने र त्यहीँ खाने गर्छन । साँझमा सुत्न भने उनी निवुवाटारको त्यही ओढारमा फर्किन्छन । परियारले भने, ‘दिनभरी अरुको खेतवारीमा काम गर्छु, काम गरेको ज्याला पनि दिन्छन । काम गर्न नपाएको दिन सलाङघाटका होटलमा भाँडा माझेर भोक मेटाउँछु ।’
 
उनी काम गर्न जता गएपनि सुत्न भने यही ओढारमा आउँछन् । ‘यहीँ सुतेको पाँच वर्ष भयो, काम गर्न गएकै ठाउँमा बस पनि भन्छन तर बस्नै मन लाग्दैन’, उनले भने, ‘दिनभर गरेको कामको थकाई मेट्न नपाउदै उठ्न लाउँछन्, अरुका घरमा सुत्नुभन्दा यहीँ सुत्न मन लाग्छ । 
 
घाम लागेका बेला सजिलै भएपनि पानी पर्दा भने उनलाई सकस पर्छ । थोत्रे छाताले पानी छल्ने गरेको उनी बताउँछन् । भविष्यबारे चिन्तित हुँदै उनले शरीरले साथ दिएसम्म काम गर्ने बताए । ‘काम गर्न सकुन्जेल त खाउँला तर थला परेपछि के हाल हुने होला’, उनले भने, ‘कसैले यहीँ बेसीँमै छाप्रो बनाइदिए ज्याला मजदुरी गरेर ढुक्कले बस्ने थिएँ ।’

No comments:

Post a Comment