जातीय छुवाछुत मुद्दामा आरोपितलाई धरौटीमा छाड्न आदेश

धादिङ । ०७१ कात्तिक १८ गते
ज्यामरुङ गाविस-७ कुमाइज्यामङका ६५ वर्षीय नीलबहादुर इटनी र उनकी पत्नी २७ वर्षीया सुन्दरी इटनीले जातीय छुवाछुत गरेको आरोपमा सोही स्थानका ५७ वर्षीय रामबहादुर बसेलले दायर गरेको जातीय छुवाछुत मुद्दामा आरोपितलाई धरौटीमा छाड्न जिल्ला अदालतले ०७१ कात्तिक १७ गते आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायधिस रमेशराज पोखरेलको इजलासले सरकारी वकिलको अनुपस्थितिमा प्रतिवादीको वकिल अधिवक्ता रामकृष्ण अधिकारीले थुनछेकको बहस सकेपछि आरोपितहरूलाई १२ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरिएको थियो ।

पीडित बसेलले इटनीले सञ्चालन गरेको पसलमा गएको बेला घरभित्र पसेको भन्दै तल्लो जात भनेर आफूमाथि दुर्व्यवहार गरेको आरोपमा ०७१ कात्तिक ११ गते जाहेरी दर्ता गराएका थिए ।
  
किराना सामान र चिया रक्सीको पसल सञ्चालन गरेका इटनीले पसलमा नै रहेका इटनीका छोरा अशोक इटनीसँग हात मिलाएपछि अहिल्यै पसलमा आउने बेला नभएको भन्दै दुर्व्यवहार गरेको बसेलले दर्ता गराएको जाहेरीमा उल्लेख छ ।

गाउँमा पटक पटक सार्वजनिक स्थानमा छुवाछुत गर्ने गरेको आफूमाथि यस्तो घटना भएकोले आरोपितलाई कारबाही गर्नु पर्ने र आफूलाई न्याय दिलाउनु पर्ने माग गरेका हुन् । ०७१ असोज १२ गते घटना भएको भएपनि पीडितले दशैँ परेको आफ्नो परिवारमा शोक परेका कारण कात्तिक २ गते पीडक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा कारबाही गर्न माग गर्दै निवेदन दिएका थिए ।

पीडित र पीडक पक्षबीच कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा छलफल गराउँदा कुरा नमिलेपछि पीडित पक्षले जाहेरी दर्ता गराएका हुन् । पीडितले आफूलाई क्षतिपूर्ति नभइ न्याय चाहिने भएकोले मिलापत्र नगरेको बताएका छन्।

०५६ सालमा पीडित बसेलको अगुवाइमा दलितलाई बर्जित गरिएको ढोलामण्डी प्रवेश गर्न लाग्दा गैर दलितबाट कुटाइ खाएर गम्भीर घाइते भएका थिए । तत्कालिन अवस्थामा पीडकहरूलाई जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।

No comments:

Post a Comment