दलित महिला संघद्वारा पत्रकार भेटघाट - राजेन्द्र ताम्राकार


काठमाडौं÷१४ मङ्सिर, दलित महिला संघ (फेडो) ले ‘लोकतन्त्र, न्याय, दिगो शान्ति र समावेशी संविधानका लागि दलित महिलाको राष्ट्रिय सम्मेलन’ भन्ने मुल नाराका साथ आगामी मङ्सिर १६–१८ सम्म संघको आयोजनामा हुन गइरहेको सम्मेलनबारे पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।   

संघले आज राजधानीको मिडिया इन्टरनेशनलमा पत्रकार भेटघाटको आयोजना गरी मङ्सिर १६ देखि १८ सम्म हुन गइरहेको सम्मेलन र कार्यक्रमबारे आधिकारिक जानकारी गराएको हो । 
सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री शुशिल कोइरालाले आगामी मङ्सिर १६ गते विहान १०ः३० बजे ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा गर्ने कार्यक्रम तय भएको छ । 
संघद्वारा आयोजित पत्रकार भेटघाटमा संघकी अध्यक्ष दुर्गा सोबले तीनदिने सम्मेलन, संघको तयारी र भावी कार्ययोजनाबारे पत्रकारमाझ प्रकाश पार्नुभएको थियो । 
कार्यक्रममा अध्यक्ष सोबले दलित महिला संघ सवालमा काम गर्ने संस्था भएकाले अहिले नयाँ संविधान निर्माण प्रक्रिया चलिरहँदा अब बन्ने नयाँ संविधानमा दलित महिलाका के कस्ता मुद्दालाई कसरी सम्बोधन गर्ने भन्ने विषय सबैको चासो र चिन्ताको विषय हुनुपर्नेमा जोड दिनुभएको छ । 
संघद्वारा आयोजना गर्न लागिएको सम्मेलनमा मुलुकका ७५ वटै जिल्लाबाट दलित महिला प्रतिनिधीले भाग लिने र दलित महिलाका आम मुद्दामा सामूहिक छलफल चलाइने भएकाले पनि सम्मेलनको विशेष महत्व रहेको चर्चा गर्नुभयो । 
like us :- www.facebook.com/DalitSolidaritynepal 
तीनदिनसम्म चल्ने सम्मेलनमा नम्रता शर्माले ‘दलित महिलामाथि भएका हिंसाको अवस्था’ एमाओवादी नेता खिमलाल देवकोटाले ‘दलित महिलाको राजनीतिक सहभागिताको अवस्था र नयाँ संविधान’ डा. मुक्तसिंह लामाले ‘दलित महिलाको सामाजिक, आर्थिक तथा साँस्कृतिक अवस्था’ र पत्रकार अशोक दर्नालले ‘दलित महिलामाथि भएका भेदभाव तथा हिंसा सम्बन्धमा सञ्चार अनुगमन’ विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको संघकी अध्यक्ष दुर्गा सोबले जानकारी गराउनुभएको छ । 



कार्यपत्रमाथि अधिवक्ता मीरा ढुङ्गाना, शशी अधिकारी, उषाकला राई लगायतले टिप्पनी गर्ने कार्यक्रम रहेको जानकारी सोबले दिनुभयो । सम्मेलनले सहभागीबीच गहन छलफल गरी काठमाडौं घोषणापत्र जारी गर्ने र त्यसको कार्यान्वयनका लागि सरकार, राजनीतिक दल तथा सम्बन्धित सरोकारवाला निकायसंग पहल गरिने पनि अध्यक्ष सोबले बताउनुभयो । 



पत्रकार भेटघाट कार्यक्रममा रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, कान्तिपुर, इमेज च्यानल, सगरमाथा लगायतका दर्जनबढी सञ्चारमाध्यममा क्रियाशिल ३० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

No comments:

Post a Comment