व्यवसाय शुरु गर्दा उनले सफलता हात पर्ला भन्ने सोँचेका थिएनन् । विहान पीएन क्याम्पस पढ्ने र दिउँसो क्याम्पस गेटकै अघि जुत्ता सिलाउने पेशा थालेका उनलाई कतिपय साथीले फरक दृष्टिले पनि हेरे । तर, उनले मेहनत गर्न छाडेनन् । अहिले उनी उद्यमी त बनेका छन् नै संगै स्नाकोत्तर तहमा अध्ययनरत पनि छन् । जुत्ता/चप्पल सिलाउने र तयार गर्ने २७ वर्षीय पवित्रबहादुर नेपालीले अहिले महिनामै नाफामात्र ५० हजार रुपैया कमाउँछन् । सिर्जनाचोँकमा शुभ बाँसवारी छाला जुत्ता उद्योग खोलेका उनले १६ जनालाई रोजगारी पनि दिएका छन् । दैनिक ५० जोडा भन्दा बढि जुत्ता÷चप्पल उत्पादन उद्योगले गर्छ । सिर्जनाचोँक र बगरमा पसल पनि छन् । कास्कीकोट–६, घर भएका नेपालीले २०६२ सालबाट व्यवसाय थालेका थिए । उनले २०६८ सालबाट जुत्ता÷चप्पल उत्पादन गर्ने उद्योग खोलेका हुन् । छाला जुत्ता निर्माण समिति कास्कीका सचिव समेत रहेका नेपालीले आफ्नो पेशा व्यवसायमा गर्व गरेमात्र सफल हुने बताउँछन् । दलित समुदायका युवाले आफ्नो पुर्खौली पेशालाई आधुनिकीकरण र व्यवस्थित गरेर अघि बढाउनुपर्नेमा उद्यमी नेपालीले जोड दिए । व्यवसाय शुरुवात, विस्तार आगामी योजना लगायतका बिषयमा नेपालीले पोखरापत्र–संवादका लागि हाम्रा सहकर्मी महेशकुमार खातीस“ग गरेको कुराकानी ।
जुत्ता सिलाउने तथा तयार गर्ने पुर्खौली पेशामै किन लाग्नु भयो ?
हाम्रो पेशा जुत्ता सिलाउने हो । पहिलाबाटै बावुबाजेले गर्दै आएका थिए । तर, परम्परागत तवरले मात्र चलेको थियो । यसलाई व्यवसायीक र आधुनिकीकरण गरेर अघि बढ्नुपर्छ भन्ने सोँचले गर्दा यसमा लागेको हुँ । शुरुमा जागिर गर्ने गर्दथे । जागिर भन्दा पेशा तथा व्यवसाय गर्दा राम्रो होला जस्तो लाग्यो अनि यतातिर लागेको हुँ ।
तपाईजस्ता धेरै युवा त, आफ्नो पेशा छाडेर अन्यमा लागेका छन् नि ?
हो धेरै मान्छे आफ्नो पेशा नगरी अन्यत्र लागेका छन् । कतिपयले नबुझेर पनि होला । जुत्ता सिलाउने पेशालाई अझै पनि अलि नराम्रो तवरले हेर्ने भएकाले पनि हो । काम गरेर खान केही हुन्न । हामीले नराम्रो त गरेका छैनौं नि ? आफ्नो परम्परागत पेशालाई आधुनिकीकरण गरेर लैजानुपर्छ । व्यवसायीक बनाउन सकेमा त धेरै नै राम्रो हुन्छ । दलित समुदायका युवाहरुले पनि आफ्नो पेशामा गर्व गर्नुपर्छ । परम्परागत भन्दा पनि व्यवसायीक तवरले अघि बढाईनुपर्छ । म त भन्छु सबैले आफ्नो पेशालाई राम्रो तवरले अघि बढाईनुपर्छ । हामी स्वरोजगार बन्नुपर्छ ।
कहिलेवाट शुरु गर्नुभयो अनि दिनमा कत्ति जुत्ता तयार गर्नुहुन्छ ?
म क्याम्पस पढ्दै गर्दाबाट जुत्ता सिलाउने काम शुरु गरेको हुँ । पीएन क्याम्पसमा बिहान पढथे दिउँसो क्याम्पस गेट अघि जुत्ता सिलाउने गर्दथे । मलाई आफ्नो काम गर्दा गर्व लाग्थ्यो । कतिपय साथीले त के गरेको होला पनि भन्थे । त्यसो गर्दै अघि बढ्ने क्रममा २०६२ सालबाट शुभ बाँसवारी जुत्ता पसल शुरु गरेको हुँ । २०६८ सालबाट कारखानाकै रुपमा अघि बढाए । पोखराबाहिरबाट कच्चा पदार्थ छाला ल्याएर जुत्ता र चप्पल तयार गर्ने गर्छु । अहिले दिनमा कम्तिमा ५० जोडा जुत्ता चप्पल तयार हुने गर्दछ । अहिले १६ जनाले रोजगार पाएका छन् ।
बजार कस्तो छ, जुत्ता/चप्पल बेचविखनको लागि केहि समस्या छ कि छैन् ?
शुरुमा जुत्ता चप्पल फाटेको सिलाउने काम गर्दथे । बिस्तारै पसल शुरु गरें । शुरुमा केहि समस्या भयो । राम्रोसंग ब्यापार पनि भएन । बिस्तारै बढ्दै गयो । बिस्तारै व्यापार बढ्न थालेपछि मानिसहरु आउने जाने क्रम बढ्यो । कारखाना आवश्यकता पनि देखियो अनि शुरु गरेको हुँ । शुरुवातमा केहि समस्या भएपनि अहिले भने त्यस्तो छैन् । बजारको समस्या छैन् । पोखराका धेरै पसलहरुमा मेरो कारखानामा तयार भएका सामान पुग्ने गर्छन । पोखरासहित छिमेकी जिल्लाहरु स्याङ्जा, तनहुँ, गोरखा, पर्वत, बागलुङ, म्याग्दी लगायतका देशका अन्य स्थानमा पनि पुग्छन् । बजारको समस्या छैन् अहिले ।
व्यवसाय कति लगानीबाट शुरुवात गर्नुभयो, अहिले कति पुगेको छ अनि कमाई नि ?
शुरुमा मसंग धेरै पैशा थिएन । त्यतिबेला सानो जागिर खान्थे । त्यसबाट केहि होला जस्तो भएन अनि घरमा पनि कुरा गरेर पेशा गर्न तर्फ लागे । त्यतिबेला जम्मा २५ हजार रुपैयाबाट व्यवसाय थालेको हुँ । २०६२ सालमा त्यो रकम बल्लतल्ल जम्मा गरेको थिए । बिस्तारै व्यापार राम्रो हुदै गयो । कारखाना खोल्ने क्रममा २०६८ सालमा १० लाख रुपैया लगानी गरे । पसलकै कमाई र अन्य ठाउँबाट हालेको थिए । पछि रामै्र हुदै“ गएपछि अहिले भने करिव ४० लाख रुपैया जति लगानी भएको छ । कमाईको कुरा गर्नुपर्दा त्यहि महिनामा सबै खर्च कटाएर त्यहि ५० हजार जति नाफा हुन्छ ।
जुत्ता तथा चप्पल बनाउने दक्ष कामदार सजिलै पाईन्छ ?
सबैभन्दा समस्या भनेको कामदारको अभाव छ । यहाँ पाउनै मुश्किल छ । बल्लतल्ल खोजेर ल्याउनु पर्छ । नेपालमा त एकदमै थोरै छन् । भेट्न मुश्किल पर्छ । बरु भारततिर केहि पाईन्छ । मेरो कारखानामा काम गर्नेमध्ये अहिले करिव १० जना त इण्डियन नै छन् । नेपालका नपाएर उताबाट ल्याउन परेको हो ।
व्यवसायलाई अझै फराकिलो बनाउने नयाँ योजना के छ ?
बजार बढ्दै छ । बजारको माग अनुसार जुत्ता उत्पादन पनि बढ्दै गएका छन् । यसलाई अझै व्यवस्थित बनाउँदै लैजाने सोँचमा छु । हामीले क्वान्टिटि भन्दा पनि क्वालिटिलाई बढि जोड दिने गर्छौ । यहाँ राम्रा जुत्ता/चप्पल तयार हुने भएकाले पनि मानिसहरु खोज्दै आउने गर्छन । अहिले सिर्जनाचोँकमा कारखाना र पसल छ अनि बगरमा पसलमात्र छ । यहाँ म बस्छु । माथी भाईले हेर्ने गरेको छ । बिस्तारै अझै फराकिलो र अन्य ठाउँमा पनि पसल खोल्ने योजना छ । तत्कालै त हुन्न केहि समयमा थप्नुपर्ला ।
देशमा पेशा व्यवसाय नभएको भन्दै युवाहरु विदेशी रहेका छन् उनीहरुलाई के भन्नुहुन्छ ?
गर्न सकेमा यहाँ सबैचिज छ । यहाँ केहि छैन् भनेर कुरा मात्र गरेर हुन्न । केहि गर्न लागिपर्नुपर्छ तब सबैचिज पाईन्छ । स्वरोजगार बन्नको प्रयास गर्नुपर्छ । देशमा केहि भएन भनेर अर्कोको देशमा जानुभन्दा आफ्नो घरपरिवारसंग बसेर योजना बनाएर अघि बढेमा सफल भइन्छ । सानो लगानीबाट पनि बिस्तारै कमाई हुन सक्छ । त्यसैले म त बिदेश जानुभन्दा यहाँ नै जे जानेको छ त्यहि गर्नु राम्रो देख्छु । बिदेशमा गएर पनि पैसा टिप्ने होईन । त्यति मेहनत यहाँ नै गरेमा त धेरै नै कमाई हुन्छ ।
दलित समुदायका युवाहरु जो आफ्नो पेशा छाडेर अन्यतर्फ लागेका छन् उनीहरुलाई तपाइले के सल्लाह दिनुहुन्छ ?
सकेसम्म आफ्ना बाजे बावुले गर्दै आएको पेशालाई व्यवस्थित र आधुनिकीकरण गरेर अघि बढाए धेरै नै राम्रो हुन्छ । हामी नेपालीले जुत्ता बनाउने काम, सुनारले सुनचाँदीको काम, परियारले कपडा सिलाउने पेशा बर्षौदेखि गर्दै आएका हुन् । पहिला दलितहरुलाई अलि हेप्ने, विभेद गर्ने पनि भयो । त्यसकारणले गर्दा यसमा लाग्न दलित समुदायका युवालाई समस्या भयो । तर, अब त्यस्तो छैन् । हामीले पहिलाको जस्तो गरी गर्न हुन्न आधुनिक तवरले व्यवसाय गर्न सक्छौं । हिनताबोध गरेर हुन्न् । आफ्नो पेशामा गर्व गर्नुपर्छ । हाम्रै पेशा गरेर स्वरोजगार र व्यवसायी बन्नुपर्छ भनेर म आम दलित युवाहरुलाई अनुरोध गर्दछु । अरुतर्फ भन्दा आफ्नै पेशामा लाग्नु राम्रो हुन्छ । राम्रो कमाई र उद्यमी बनेमा कसैले विभेद गर्न सक्दैन ।
No comments:
Post a Comment