विभेदविरुद्धको आन्दोलन मुलुकमा कहिल्यै भएन

ईश्वरी रिजाल विक, एमाले केन्द्रीय सदस्य
एकतन्त्रीय जहानियाँ राणाशासनविरुद्ध आन्दोलन भयो । राणाशासन ढल्यो । पञ्चायती शासनविरुद्ध आन्दोलन भयो । मुलुकबाट पञ्चायत गयो । हुँदा–हुँदा राजतन्त्रविरुद्ध नै आन्दोलन भयो । सदाका लागि राजतन्त्र पनि उन्मूलन भयो । तर, समाजमा जरा गाडेर बसेको जाति विभेदविरुद्धको आन्दोलन मुलुकमा कहिल्यै भएन । त्यसैले त नेपाली समाजमा छुवाछूत प्रथा अद्यापि कायम छ । यो प्रथाको गलपासोले सर्वसाधारणलाई थिचेको छ नै । समाज परिवर्तनका निम्ति हिँडेका नेतालाई समेत यसले छाडेको छैन । एमालेका केन्द्रीय सदस्य ईश्वरी रिजाल विकको पीडा यस्तै छ । दलित भएकै कारण उनले जीवनमा कैयौँ भेदभावका तीता घटना र अपमान भोगेका छन् । उनकै शब्दमा :
कोठा दिएपछि पनि फर्काए
द्वन्द्वकालबाट दोलखा अछूतो रहने कुरै भएन । त्यसमा पनि उत्तरी चिलंखा गाविस द्वन्द्वकालको चरम प्रभावमा रह्यो । माओवादी र सेनाको दैनिकजसो गस्ती चल्ने । म त्यसवेलाको गाविस अध्यक्ष । माओवादी निशानामा पर्नु स्वाभाविक नै थियो । गाउँमा बस्ने अवस्था भएन । विस्थापित जीवनको सुरुवाती चरण सदरमुकाम चारिकोटमा बित्यो । त्यहाँ पनि बस्ने अवस्था नभएपछि त्यसपछिको बसाइ काठमाडौं बन्यो ।
काँडाघारीस्थित बहिनीको डेरा थियो । करिब डेढ वर्ष एक्लै त्यहीँ बसेँ । छोरीको एसएलसीपछि सपरिवार काठमाडौं बस्ने योजना बन्यो । सकसको जीवन त्यसपछि पो सुरु भयो ।
परिवारका सदस्य काठमाडौं आइसकेका थिए । विकल्प नभएपछि सबै बहिनीकै कोठामा थियौँ । कोठा साँघुरो थियो । त्यसैले जतिसक्दो चाँडो कोठा खोज्ने दबाबमा थिएँ । गाउँका छिमेकी काँडाघारीमै बस्ने । अन्यत्र जान मन नलागेपछि कोठा खोज्ने अभियानमा काँडाघारी क्षेत्रमै खटिएँ ।
नयाँ बनेका घर मेरा रोजाइमा परे । काँडाघरीस्थित वीरेन्द्र चोकमा एक साथी बस्थे । नजिकै एउटा नयाँ घर भर्खरै फिनिसिङ भएको थियो । साथीमार्फत घरबेटीलाई भेटेँ । परिचय आदान–प्रदान भयो । बाहुन थरका रहेछन् उनी । ‘रिजाल’ भनेकाले मलाई पनि ‘बाहुन’ नै हुन् भन्ने बुझेछन्, उनले । सत्कारका साथ घरका सबै कोठा घुमाए । भुइँ तलाका दुईवटा कोठा मन पर्‍यो । बस्ने योजनामा पुगेपछि घरभाडाबारे सोधेँ । ‘भाडा–भाउबारे कुरै नगरौँ, आएर बसिहाल्नुहोस्’ भनेपछि केही हलुंगो महसुस गरेँ । अब हुनेवाला घरबेटीबीच फोन नम्बर आदान–प्रदान भयो ।
जात मानिसको पहिचान हो । पहिचान नामेट गर्ने अपराध मबाट हुने कुरै भएन । घरबेटीको फोन नम्बर थियो । डायल गरेँ । आफू बाहुन ‘रिजाल’ नभई दलित ‘रिजाल’ भएको बताएँ । त्यसपछि त घरबेटीको व्यवहारमा अकाश–जमिनको फरक देखियो । उनले सीधै कोठा दिन इन्कार गरे । भने, ‘छोइछिटो हुन्छ । जानी–जानी कामी–दमाईलाई कोठा दिन सकिन्न ।’ मन अमिलो भयो । विकल्प खोज्नेबाहेकको अर्को विकल्प थिएन । फेरि जुटेँ कोठा खोज्न ।
साथीमार्फत काँडाघारीमै अर्को घरमा बिहानै पुगेँ । जेठी छोरी पनि सँगै थिइन् । कोठा खोज्न आएको विषय र मेरो पार्टीगत जिम्मेवारीबारे घरबेटी जानकार रहेछन् । घरको माथिल्लो फ्ल्याटमा लगे । केही बेर राजनीतिक गफगाफ भयो । कोठा देखाए । हेर्दा आकर्षक नै थियो । मैले कोठाभाडा बुझ्न सोधेँ । ‘तपार्इं हामीमा भाडा कुरो के भो र आएर बस्नुहोस् न, पछि मिलिहाल्छ नि,’ घरबेटीले सजिलै भनिदिए । कोठाको संकट टरेझैँ लाग्यो । सर्ने मनस्थितिका साथ छोरी र म बहिनीकहाँ फर्कियौँ ।
म एमाले स्कुल विभागको सचिव । कामको सधैं प्रेसर हुने । म पार्टी मुख्यालयतर्फ लागेँ । साँझ फोन आयो, उठाएँ । त्यही घरबेटीको रहेछ । अनकनाउँदै घरबेटीले भने, ‘कोठा दिन नसकिने भयो । बिहान थाहा भएन । धर्मकर्म हुने घर हो हाम्रो । छोइछिटो हुन्छ । तपार्इंले विकल्प खोज्नुपर्ने भयो ।’ मसँग जवाफ थिएन, हुन्छ भनिदिएँ । बेलुका घर पुगेँ । घर पुगेपछि थाहा पाएँ । छोरीले दिउँसै केही सामान बोकेर सर्ने भनिएको कोठामा लागिसकेकी रहिछिन् । भोलिपल्ट बिहानै सामान फिर्ता लिन पठाएँ ।
काँडाघारी र पेप्सीकोलाका करिब ५० भन्दा धेरै घर फेरो मारिसकियो । ५० जनाभन्दा धेरैलाई खटाएँ । तर, कोठा भेटिएन । रन्थनिएपछि अब पार्टीका ठूला नेतालाई प्रयोग गर्नुको विकल्प देखिनँ । घनश्याम भुसाललाई भनेँ । उनले कलंकीमा देखाइदिए । तर, समस्या त्यहाँ पनि उस्तै । कोठा खोज्दै जाने क्रममा गोठाटारस्थित दोलखाका तत्कालीन सभासद् शान्ति पाख्रिनको घरमा पुगिएछ । समस्याबारे बुझाएँ । उनैको सिफारिसमा काँडाघारीमा एमालेकै स्थानीय नेताको घरमा बल्ल कोठा मिल्यो । दुई महिनाको निरन्तर प्रयासले भेटिएको सोही कोठामा बस्दै आएको छु ।
प्रशिक्षणस्थलमै अपहेलित भएँ
घटना ०६९ असारको हो । ओखलढुंगा निर्वाचन क्षेत्र नं. २ मा प्रशिक्षण कार्यक्रम राखिएको थियो । कार्यकर्ता प्रशिक्षकको रूपमा म खटिएँ । प्रशिक्षण दुई दिनको थियो । हाम्रा लागि बस्ने र खाने व्यवस्था स्थानीय पार्टी कार्यकर्ताकै घरमा गरिएको रहेछ । पहिलो दिन हामी सीधै प्रशिक्षण स्थलमा गयौँ । कार्यकर्तालाई प्रशिक्षण दियौँ । बेलुका भयो । बस्नका लागि व्यवस्था गरिएको ठाउँमा पुग्यौँ । निकै राम्रो रहेछ बस्ने र खाने व्यवस्था । सबै सँगै बसेर खाने र बस्ने काम भयो ।
प्रशिक्षण बिहानैबाट राखिएकाले सबेरै उठियो । प्रशिक्षणस्थल पुगियो । प्रशिक्षार्थी आइसकेका रहेछन् । त्यस दिनको प्रशिक्षक म थिएँ । विषय थियो, ‘सामाजिक मुक्तिमा जनसंगठन’ । प्रशिक्षण अन्तरक्रियात्मक बन्यो । यही क्रममा प्रशिक्षार्थीबीचबाट हात उठ्यो । उनी हाम्रा लागि खान र बस्ने व्यवस्था गरिएका घरको घरबेटी रहेछन् । मैले जिज्ञासा राख्न अनुरोध गरेँ । भूमिका नबाँधी उनले भने, ‘मेरा घरभित्र छिर्ने ‘कामी–दमाई’लाई मैले मार्न पाउने कि नपाउने ?’ उनको आक्रोशपूर्ण प्रस्तुतिले हल चकमन्न बन्यो । म स्तब्ध भएँ । मसँग प्रतिकार गर्ने जवाफ थिएन । जतिसक्दो चाँडो ठाउँ छाडेर जानुपर्छ भन्ने मनमा लागिरह्यो ।
तर, फेरि समस्या पर्‍यो । बिहानको खाना खान जानुपर्ने उनैको घरमा । मेरा केही सामग्री पनि उनकै घरमा थिए । घरमा जाउँm कि नजाउँm भन्ने दोधारले नमज्जासँग पिरोल्यो । भोक पनि बेस्सरी लागेको थियो । जे पर्ला सोही टार्ला भन्ने मनसायले मन दह्रो पारेँ । घरमा पुगेँ । पस्किएको खाना सटासट खाएँ । कार्यक्रम सकेर हतार–हतार फर्किएँ ।
मैले प्रशिक्षणस्थलमा ‘रिजाल’ भनी परिचय दिएको थिएँ । हाम्रा लागि बस्ने र खाने व्यवस्था गरिदिने घरबेटीले मलाई बाहुन ‘रिजाल’ सम्झे । त्यसैले खान र बस्ने व्यवस्था मेजमानी नै गरे । म दलित ‘रिजाल’ भएको भेउ उनले थाहा पाएको भए सायद त्यहाँ अकल्पनीय घटना हुने थियो ।
थाममा बाँधेर कुटे
०३९ वैशाख १ गतेको दिन हो । घटनाचाहिँ बाख्राले गहुँ खाएको विषयबाट सुरु हुन्छ । दोलखाको चिलंखमा मेरो घर । कक्षा आठमा पढ्थेँ । प्रधानपञ्चको हुकुमी शासन चल्ने वेला थियो त्यो । प्रधानपञ्च केन्द्रबहादुर खड्का थिए । वडाअध्यक्ष थिए डबलबहादुर खड्का । लाइसेप भन्ने ठाउँमा वडाअध्यक्षको बारी छ । वैशाखको महिना । गहुँ भर्खर टिप्ने वेला भएको थियो । मेरा र छेमेकीका दुईवटा बाख्रा अध्यक्षको बारीमा छिरेछन् । अध्यक्षले मान्छे लगाएर दुइटै ब्राखालाई समातेर घरमा लगेर बाँधेछन् ।
भोलिपल्ट गाउँमा कचहरी बस्यो । कचहरीमा हामीलाई उपस्थित गराइयो । बाख्राले गहुँ खाएको विषयमा ठूलो बहस चल्यो । जरिवाना तोकियो ‘सात सय रुपैयाँ’ । जरिवाना तिर्न अब निवेदन दिनुपर्ने भयो । निवेदन लेखेर दिएँ । निवेदन प्रधानपञ्चको हातमा पुग्यो । उनले हेरे । कड्किँदै भने, ‘निवदेन त एउटा मात्रै छ त । दुईवटा बाख्राले नासेपछि निवेदन पनि त दुइटै हुनुपर्‍यो नि †’ अर्को बाख्राको धनी कचहरीमा नआएपछि उसले निवेदन दिएको थिएन । प्रधानपञ्चले मलाई डाके । कड्किँदै भने, ‘त्यसको पक्षबाट पनि निवेदन लेख ।’ आदेशबमोजिम निवदेन लेखेर दिएँ । कड्किँदै फेरि भने, ‘हस्ताक्षर पनि गर ।’
हस्ताक्षर गरेर निवेदन प्रधानपञ्चको हातमा थमाएको मात्रै के थिएँ, उनले त दुई झापड प्रहार गरे । म भुइँमा ढलेँ । वातावरण स्तब्ध बन्यो । प्रतिकारका लागि उत्रने कसैको साहस थिएन । प्रधानपञ्च कड्किए, ‘यसले हाम्रो सामुन्ने अरूको निवेदन किर्ते गर्‍यो । यसले ठूलो अपराध गरेको छ । यसलाई बाँध । भोलि जेल हाल्नुपर्छ ।’ आदेशबमोजिम प्रधानपञ्चका केटाहरू आए । हात फर्काएर थाममा बाँधे । अब भकुर्ने काम सुरु भयो । कचहरीस्थल मानिसका भीडले भरियो । तर, प्रधानपञ्चको प्रतिकार गर्ने हिम्मत कसैले गरेनन् ।
अब मलाई किर्ते कागजात गरेका अभियोगमा मुद्दा चलाइने भनियो  । प्रहरी बोलाउने काम भयो । बुबा प्रधानपञ्चको खुट्टा परे । रोइकराई गरे । तर, सजिलै पग्लने पक्षमा देखिएनन् । पैसा दिए कुरो मिल्ने कचहरीमा सहभागीमध्येकै एकले भने । प्रधानपञ्च त्यसवेला भने अलि नरम देखिए । बाख्राले गहुँ खाएको जरिवाना र ममाथि लगाइएको किर्ते मुद्दाको समेत गरेर १२ सय रुपैयाँ जरिवाना तोकियो । पैसा थिएन । त्यसपछि घरका सबै गरगहना जफत गरियो । गहुँ खाने दुवै बाख्रा काटिए । म बल्लतल्ल प्रधानपञ्चको पन्जाबाट उम्किएँ ।

No comments:

Post a Comment