एउटा कच्ची सानो छाप्रे घरमा बालिघरे प्रथा धानेर परिवार पाल्न बाध्य महोत्तरी लक्ष्मीनियाँ- ८ का जनकलाल परियारका पाँच सन्तानमध्येकी जेठी हुन्- अनिताकुमारी परियार । पहिले नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको जनमोर्चामा लामो समय सक्रिय राजनीति गरेकी उनी पार्टी एकता प्रक्रियाबाट एमाओवादीमा आएकी हुन् । हाल कोचिला राज्य समिति सचिवालय सदस्य, नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा केन्द्रीय कार्यालय सदस्य र राज्य समिति संयोजक रहेकी परियार दोस्रो संविधानसभामा समानुपातिक कोटाबाट सभासद् मनोनीत भएकी हुन् । सहकर्मी निर्मल बरालसँग अन्तरजातीय विवाहबन्धनमा बाँधिएकी परियारले धारामा पानी लिन जाँदा कथित उपल्लो जातिले गरेको अमानवीय छुवाछुत व्यवहार प्रत्यक्ष अनुभूत गरेकी छन् ।
- गणेश लम्साल
० सीमान्तकृत समुदायबाट सभासद् बन्दा कस्तो अनुभूति भइरहेको छ ?
- पार्टीले दुईतिहाइ बहुमत ल्याउँछ भन्नेमा विश्वस्त थियाँै । तर, मतपरिणामले तेस्रो स्थानमा झारिदियो । यसैले पनि सिफारिस सूचीमा पर्छुजस्तो लागेको थिएन । नाम बाहिर आइसकेपछि पनि विश्वास लागेन ।
० कस्तो रहृयो त संविधानसभामा पहिलो अनुभव ?
- कलेजमा परीक्षा दिन गएझैँ लाग्यो । भीड छिचोल्दै, मान्छेलाई सोध्दै, रोल नम्बर र नाम खोज्दै हिँडियो । हलमा नम्बर नभेटेर दिक्दार लागेझैँ भयो केही समय त । मजस्ता अरू धेरै सभासद् उसैगरी हैरानी खेपिरहनुभएको थियो । जहिले पनि ठालुलाई प्राथमिकता दिन्थ्यौँ । तर, संविधानसभा भवनमा त्यो थिएन । त्यहाँ त पूर्वप्रधानमन्त्री, गृहमन्त्री, मन्त्री र पूर्वसभामुख पनि आफ्नो नाम र नम्बर खोजिरहेका थिए, हामीसँगै । सभासद्को मर्यादा त हामीले नै पो गिराएका रहेछाँै जस्तो लाग्यो । सदन चलिरहँदा आधा कुर्सी खाली हुन्छन् । राजनीतिमा सुरुदेखि अन्त्यसम्मको प्रशिक्षणमा बस्ने सभासद् संविधानसभाभित्र टिकेर बस्न सक्दा रहेनछन् । मैले कतिपयलाई सोधँे पनि, किन यस्तो हुन्छ, किन यति धेरै बेवास्ता ?
० पहिले के आवाज उठाउनुभयो ?
- मेरो रोल नम्बर १३ हो । र, बोल्ने पालो आइतबार पर्छ । तर, आइतबार सदन अहिलेसम्म नलागेकाले एकचोटि विशेष समयमा मात्र बोल्न पाएको छु । मात्र तीन मिनेट । सुनसरी चतरा नहरमा वर्षौंदेखि बसोवास गरिरहेका सकुम्बासीलाई सरकारले विनाविकल्प हटाउन लागेको विषयमा ध्यानाकर्षण गराएँ । यस्तै, महोत्तरीमा द्वन्द्वकालीन घटना ब्युँताएर पार्टी कार्यकर्तालाई दुःख दिन थालेको स्मरण गराउँदै सत्यनिरूपण आयोगले गर्ने काममा यसरी हस्तक्षेप गर्न हुँदैन भनें । यसबाहेक अरु पनि केही विषय उठाउने सोच थियो । तर, समय पुगेन । जस्तोः सुनसरी इटहरीस्थित जनता बस्ती, विराटनगरमा अवैध रूपमा बसेको भारतीय क्याम्प र दलित समुदायले भोगेको जातीय छुवाछुत ऐन २०६८ कार्यान्वयन र कोसी तटबन्ध ।
० सभासद् हुँदा र नहुँदा के फरक हुँदोरहेछ ?
- सभासद् नहुँदा जसरी बाँचे पनि पुग्थ्यो । तर, सभासद् भएपछि केही कुरा 'मेन्टेन' गर्नैपर्ने रहेछ । जीवन अलि विशिष्ट हुँदो रहेछ । पहिले जीवन अनौपचारिक हुन्थ्यो । तर, अचेल औपचारिक भएको छ । खाँदा, बस्दा, बोल्दा सबै कुरामा सतर्क हुनुपर्ने रहेछ ।
० सभासद्सँग जनताले के अपेक्षा गर्दा रहेछन् ?
- मलाई भेट्न आउने, भनसुन गरी माग्ने सबै आफूजस्तै उत्पीडनमा परेकाहरू हुन्छन् । यसैले उहाँहरूको अपेक्षा वास्तविकताभन्दा धेरै माथि हुन्छ । प्रायः सबैले रोजगारीको समस्या लिएर आउने गर्नुहुन्छ । सभासद् भएपछि सजिलै गरिदिन सक्छ । योसँग पैसा पनि टन्नै हुन्छ भन्ने बुझाइ हुँदो रहेछ । सभासद् भनेको राज्यको मूलनीति बनाउने रसमस्या हल गरिदिन सहजकर्ताको भूमिका खेलिदिने मात्र हो । तर, जनताले चाहिँ हामीलाई कार्यकारी ठानिदिने गरेका छन् । हामी त क्षेत्रीय कार्यालयजस्ता मात्र हौँ । विकासे मन्त्रालयसँग सोझै जोडिएका कर्मचारीसँग राम्रो परिचय भएका सभासद् भए धेरै काम गरिदिन सकिनेरहेछ । तर, नयाँ सभासद्हरू त पहुँच विस्तार नहुँदा निरीहझैँ हुनुपर्ने रहेछ ।
० सदनभित्र केही खड्केका कुरा भन्न मिल्छ ?
- सदनभित्र गरिने व्यवहारमा फरकपन महसुस भएको छ । चिल्ला कारमा जाने, अलि सुकिला लुगा लगाउनेहरूलाई सबैले हाइहल्लो र नमस्कार गर्दा रहेछन् । तर, सोझा र साधारण लुगा लगाउनेहरूलाई मर्यादापालकले पनि वास्ता गर्दारहेनछन् । एउटा कारमा गएकोलाई कुनै चेकजाँच हुँदैन । प्रहरीले उल्टै सेल्युट मारेर गेट खोलिदिन्छन् । तर, हामी पैदल जाने सभासद्को बडी मात्र होइन, ब्याग पनि चेकजाँच गरिन्छ । हामीले अवैध सामग्री लान्छौं अनि कारमा छिर्नेले चाहिँ कहिल्यै केही लाँदैन त ?
No comments:
Post a Comment