समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गरेको छ तर दलित उपस्थिति शून्य

 कांग्रेसले बाह्रौं महाधिवेशनबाट पार्टीका सबै संरचना समावेशी बनाउने निर्णय गरे पनि संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्दा त्यसलाई ध्यान दिएको पाइएन। विधानले केन्द्रदेखि गाउँ तहका पार्टीगत संरचनामा जनजाति, महिला, दलित र मधेसीको जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गरेको छ।

तर संविधानसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ दलित समुदायबाट एकजनाले पनि टिकट पाएका छैनन्। ‘मेरो सुनसरी क्षेत्र १ बाट प्रत्यक्षतर्फको उम्मेदवारीका लागि सिफारिस भएको थियो’, दलित संघका अध्यक्ष मीन विश्वकर्माले भने, ‘तर नेताहरूको नियत नै खराब भएकाले म पनि परिनँ। अरूले पनि टिकट पाएनन्।’केही जनजाति नेता भने स्वेच्छाले प्रत्यक्षतर्फ चुनाव लडेनन्। यसअघि अर्घाखाँची १ बाट पराजित मानबहादुर विश्वकर्मालाई पार्टीले चुनाव लड्न आग्रह गर्दा पनि उनी समानुापातिकमा बसेका छन्।

कांग्रेसले पार्टीलाई थप समावेशी बनाउन विभिन्न जातीय संघ बनाएको छ। तर तीनै जातीय संघका अधिकांश अध्यक्षले टिकट पाएका छैनन्। ‘कुरा समावेशी गर्ने, कागतमा समावेशी लेख्ने तर साँच्चिकै समावेशी परीक्षामा खरो उत्रिन भने कांग्रेस संवेदनशील देखिएन’, विश्वकर्माले भने।

महिला संघकी अध्यक्ष डिला संग्रौला, दलित संघका अध्यक्ष विश्वकर्मा र आदिवासी जनजाति संघका अध्यक्ष इन्द्रबहादुर गुरुङ र मगर संघका अध्यक्ष गणेश थापामगरले पनि प्रत्यक्षतर्फ टिकट पाएनन्। विश्वकर्माले भने, ‘दलित उपस्थिति शून्य बनाएर कांग्रेसले समावेशीकरण व्यवहारमा उतार्न सकेन।’

कांग्रेसले प्रत्यक्षतर्फ दुई सय ४० जनामध्ये महिला २४, जनजाति ४७ र मधेसी ४९ जनालाई उम्मेदवार बनाएको छ। तर झन्डै १५ प्रतिशत जनसंख्या ओगटेका दलितबाट भने एकजना पनि उम्मेदवार बनाएन।त्यस्तै प्रत्यक्षतर्फ महिला ३३ प्रतिशत र समानुपातिकतर्फ ५० प्रतिशत उम्मेदवार बनाउने पार्टी प्रतिबद्धता पनि कार्यान्वयनमा आएन। ‘महिला उम्मेदवार धेरै कम भएभनेर हामीले शीर्ष नेतासँग असहमति राखेका छौं’, महिला संघकी अध्यक्ष संग्रौलाले भनिन्, ‘कम्तीमा ४१ जना महिलाले प्रत्यक्षमा चुनाव जित्न सक्छन् भनेर हामीले भनेका थियौं।’ पटकपटक अवसर पाएर केन्द्रीय नेतृत्वमा पुगेका महिला प्रत्यक्षमा चुनाव लड्ने जोखिम मोल्न नचाहेकाले र समानुपातिकमा बस्ने जिद्दी गरेपछि कांग्रेसले पर्याप्त महिला उम्मेदवार उठाउन नसकेको हो। कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य सुजाता कोइराला, कमला पन्त, डिना उपाध्यायलगायतका नेत्रीप्रत्यक्षमा स्वेच्च्छाले नलडेका हुन्।

कांग्रेसले जनजातितर्फ पनि अघिल्लो संविधानसभा निर्वाचनको तुलनामा कमलाई मात्रै टिकट दिएको छ। पार्टी शीर्ष तहमा रहेका नेताबाहेक झन्डै २० प्रतिशतको हाराहारीमा मात्रै जनजातिले प्रत्यक्षतर्फ टिकट पाएका छन्। महिलातर्फ झन्डै १० प्रतिशत हाराहारीमा र मधेसीतर्फ २३ प्रतिशत हाराहारीमा टिकट दिइएको छ।
एमाओवादी पहिलेभन्दा कम समावेशी
एमाओवादीले संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फ १० जनाको उम्मेदवारी दिएको छ। अन्य दलको तुलनामा यो संख्या बढी देखिए पनि यो चार प्रतिशत हाराहारी हो।नेपालमा १३ प्रतिशत जनसंख्या दलित छन्। ‘पार्टी विभाजन हुँदा धेरै नेताहरू वैद्यजीहरू( मोहन वैद्य) सँग पनि जानुभो, त्यसैले पनि यो संख्या घटेको हो’, उम्मेदवार छनोट समितिका एक सदस्यले भने। उनका अनुसार अघिल्लो चुनावमा जितेका खड्गबहादुर विश्वकर्मा, तिलक परियारजस्ता स्थापित नेताहरूले समेत पार्टी छाडेपछि संख्या घटेको हो।अघिल्लो चुनावमा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेर आउने २२ जना महिला थिए। यसपटक एमाओवादीले २७ जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ।
पार्टीले तराईमा पाँच वा सोभन्दा बढी क्षेत्र भएको जिल्लामा अनिवार्य एक महिला उठाउने र तीन क्षेत्रभन्दा बढी भएका पहाडी जिल्लामा कम्तीमा एक महिला उम्मेदवार उठाउने नीति बनाएको थियो। यस्तो नीति बनाउँदा पनि अघिल्लो चुनावभन्दा उम्मेदवारको संख्या घट्नुको कारण बताउँदै उम्मेदवार छनोट समितिका अर्का सदस्य लीलामणि पोखरेलले भने, ‘तलका कमिटीबाट सिफारिस हुँदा महिलाको संख्या कम आयो, त्यसैले पनि संख्या घटेको हो।’

सशस्त्र द्वन्द्व समाप्तिपछि धेरै महिला कार्यकर्ता घरजममा लागेको र छोराछोरी हुर्काउनतिर ध्यान दिएकाले यसपटक संख्या घटेको हुनसक्ने उनले बताए। नेपालको कुल जनसंख्याको आधा हिस्साभन्दा बढी (५०.५ प्रतिशत) महिलाको छ।
एमाओवादीले ५० जना जनजातिलाई प्रत्यक्षतर्फ उठाएको छ। नेपालमा जनजातिको जनसंख्या ३७ प्रतिशत छ। त्यस आधारमा हेर्ने हो भने उम्मेदवारीको यो संख्या २१ प्रतिशतभन्दा कमी हो। प्रत्यक्ष निर्वाचित हुनेतर्फ घटेको संख्यालाई समानुपतिकतर्फबाट क्षतिपूर्ति गर्ने तयारी एमाओवादीको रहेको पोखरेलले बताए।
एमालेमा १० प्रतिशत महिला
संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ एमालेबाट १० प्रतिशत महिला उम्मेदवार भएका छन्। पार्टीले ३३ प्रतिशत महिला सहभागिताको कुरा गरे पनि व्यवहारमा भने त्यसो हुन सकेन। दुई सय ४० निर्वाचन क्षेत्रमध्ये एमालेले २४ जना (१० प्रतिशत) महिलालाई उम्मेदवार बनाएको हो।

त्यसैगरी एमालेले प्रत्यक्षतर्फ ५० जना जनजातिलाई उम्मेदवार बनाएको छ। प्रतिशतका आधारमा यो प्रत्यक्षतर्फ २१ प्रतिशत हुन आँउछ। त्यसैगरी पार्टीले मुस्लिमतर्फ १. ६ प्रतिशत उम्मेदवार बनाएको छ।एमालेले मुस्लिम समुदायका चारजनालाई उम्मेदवार बनाएको छ। त्यस्तै प्रत्यक्षतर्फ २.५ प्रतिशत (६ जना) दलित उम्मेदवार छन्। एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सकेसम्म महिला, दलित, जनजातिको उचित प्रतिनिधित्वको प्रयास गरेको बताए। प्रत्यक्षतर्फ महिला दलित जनजातिको उम्मेदवार कम देखिए पनि समानुपातिकमा बढाइने बताए।
कांग्रेस
जनजाति : ४७
महिला : २४
दलित : ०
एमाओवादी
जनजाति : ५० जना
महिला : २७ जना
दलित : १० जना
एमाले
जनजाति : ५० जना
महिला : २४ जना
दलित : ६ जना

source:-annapost

No comments:

Post a Comment