दलितहरु चुनाव लड्न मानेनन् : मानबहादुर विश्वकर्मा

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले आगामी संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उठाएका २ सय ४० उम्मेदवारमा एक जना पनि दलित समुदायबाट परेनन् । यसबारे जिज्ञासा राख्दा कांग्रेस नेता भन्छन्-’पार्टीले टिकट नदिएको हैन, दलितहरु आफैले चुनावमा भाग लिन चाहेनन् ।’ केहीले भने आफ्नो क्षेत्रमा नदिएकाले प्रत्यक्षमा उम्मेदवारी नदिएको बताएका छन् ।
क्षेत्र तथा जिल्लाबाट केही नेताहरुको नाम सिफारिस भएको भए पनि संसदीय बोर्डले केहीलाई टिकट दिएन भने दिएकाले उठ्न मानेनन् । टिकटका लागि अन्य नेताहरुले ठूलै
छिनाझम्टी गर्नु परे पनि दलित समुदायका धेरै नेताहरु भने प्रत्यक्षमा उठ्न नचाहेको स्रोतले बताएको छ ।
जिल्लाबाट सिफारिस भएका नेताहरु समेत प्रत्यक्षको साटो समानुपातिक रोजेका छन् । ‘जिल्लाबाट केही नेताहरुको नाम आएको थियो । दलित समुदायबाट कोही पनि उठ्न चाहेनन्’ केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले अनलाइनखबरसँग भन्नुभयो । उहाँको नाम अर्घाखाँची १ बाट सिफारिस भएको थियो । तर, अघिल्लो चुनावमा पार्टीकै एक समूहले सहयोग नगरेकाले यो पटक प्रत्यक्षमा नलडेको उहाँले बताउनु भयो । ‘म पहिलो पटक चुनाव लडेँ । तर, पार्टीभित्रैबाट सहयोग पाइन’ उहाँले भन्नुभयो-’त्यो समूह अहिले पनि सक्रिय भएकाले मैले चुनाव लडिन ।’
कांग्रेस सम्वद्ध दलित संघको अध्यक्ष समेत रहेका मीन विश्वकर्माले भने उठ्न चाहेका दलित नेताहरुले टिकट नपाएको बताउनु भयो । ‘सुरुसुरुमा टिकट दिएनन् । उठ्न नचाहनेलाई प्रस्ताव गरेपछि अन्तिममा दलित समूदायबाट कोही पनि उम्मेदवार नै भएन्’ उहाँले भन्नुभयो-’मैले कालिकोट र सुनसरी १ मध्ये एक मागेको थिएँ, दिएनन् । पछि सुनसरी ६ मा जा भन्दा मैले लिएको हो ।’
समानुपातिकमा भने केन्द्रीय समितिमा रहेका अधिकांश दलित नेताहरुको नाम छ । मानबहादुर विश्वकर्मा, जीवन परियार, मीन विश्वकर्मा, सुजाता परियारलगायतका दलित केन्द्रीय सदस्य सबै समानुपातिकमा छन् ।
प्रत्यक्षतर्फ एकै जना दलित नपरे पनि समानुपातिकको सूचीमा भने १३ प्रतिशत दलितहरु अनिवार्य राख्नुपर्ने प्रावधान छ । यस अनुसार ३ सय ३५ जनाको समानुपातिक सूचि बुझाएको कांग्रेसले त्यसमा न्युनतम ४४ जना दलित उम्मेद्वार उठाउनुपर्ने बाध्यता छ । यीमध्ये आधा अर्थात २२ जना दलित महिला कानूननतः सूचीमा पर्नुपर्छ ।यसैवीच एमाओवादीमा १० जना दलित समुदायका नेताहरुले टिकट पाएका छन् भने एमालेमा २ सय ४० उमेद्वारमध्ये छ जना दलितले टिकट पाएका छन् ।
- Source:-onlinekhabar

No comments:

Post a Comment