ध्रुव अधिकारी÷राजधानी, हेटौंडा,
१९ असोज, महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत प्रतिनिधित्व गराउने भनिए
पनि मकवानपुरका ठूला दलले व्यवहारमा भने त्यो देखाउन सकेनन् । आशन्न
संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्दा ठूला दलले
महिलाको सहभागितालाई न्यून गराएका छन् ।
ठूला दलहरू नै महिलामैत्री बन्न नसक्दा
प्रत्यक्षतर्फ महिलाको सहभागिता न्यून हुन पुगेको छ । ठूला दलले महिला
सहभागिताका लागि प्रतिबद्धता जनाए पनि उम्मेदवारी दर्तामा महिलालाई
प्राथमिकता दिएनन् । जिल्लाका ठूला
दुई दलले निर्वाचनमा प्रत्यक्षतर्फ
उम्मेदवार नै बनाएका छैनन् । एकीकृत नेकपा माओवादी र नेकपा एमालेले
प्रत्यक्षतर्फ एकजना पनि महिला उम्मेदवार उठाएका छैनन् । नेपाली कांग्रेसले
भने क्षेत्र नम्बर–४ मा उमा सुवेदीलाई उम्मेदवार बनाएको छ । एमाओवादी र
एमालेले उम्मेदवारका लागि नाम सिफारिस गरे पनि टिकट भने दिएन ।
समावेशी संविधान बनाउन ठूला कुरा गर्ने
दुवै दलमा महिलाको कुनै सहभागिता देखिएन । दलहरूले ३३ प्रतिशत महिला
उम्मेदवार उठाउने प्रतिबद्धता गरे पनि मकवानपुरमा १९ प्रतिशत मात्रै महिला
उम्मेदवार रहेका छन् । मकवानपुरका साना दलले भने महिलालाई प्राथमिकता दिएका
छन् । यद्यपि, कतिपय दलले भने महिलालाई मात्रै उम्मेदवार बनाएका छन् ।
साना दलमा राप्रपा नेपालले क्षेत्र
नम्बर–१ बाट प्रलिता थापा, जनमोर्चा नेपालले क्षेत्र नम्बर–२ बाट निरा
खड्का, अखण्ड नेपालले क्षेत्र नम्बर–२ बाट संगीतादेवी क्षत्री, नेमकिपाबाट १
मा सुनिता मगर, २ नम्बरबाट पुतलीमाया तामाङ, संघीय गणतान्त्रिक समाजवादी
पार्टीले १ नम्बर क्षेत्रबाट मिनुकुमारी वाइबा, सहकारी पार्टीले क्षेत्र
नम्बर–३ बाट मुनु श्रेष्ठ र क्षेत्र नम्बर–४ बाट स्वरूपा खरेल, मातृभूमिबाट
नेपाल पार्टीले क्षेत्र नम्बर–३ बाट अम्विका ढकाल र क्षेत्र नम्बर–४ बाट
दिलमाया ढकाललाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएका छन् ।
मकवानपुरमा सबै दलले गरेर प्रत्यक्षतर्फ
१७ जना महिलालाई उम्मेदवार बनाएका छन् । एमाओवादी र एमालेले जस्तै नेकपा
माले, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय शिवसेना, संघीय
समाजवादी नेपाललगायतका पार्टीले महिलालाई उम्मेदवार बनाएका छैनन् ।
स्वतन्त्रमा नौजनाको उम्मेदवारी परे पनि एकजना पनि महिला छैनन् ।
मकवानपुरमा सधंै पुरुषको तुलनामा महिलाहरूलाई कम अवसर दिने गरिएको आरोप
लाग्ने गरेको छ । २०६४ सालको संविधानसभाको चुनावमा नेकपा मालेले तीर्थदेवी
सिलवाल र नेपाली कांग्रेसले निर्मला उप्रेती, एकीकृत नेकपा माओवादीबाट
कुमारी मोक्तान र जनमोर्चा नेपालबाट रञ्जना श्रेष्ठलाई उम्मेदवार बनाइएको
थियो ।
प्रत्यक्षमा उम्मेदवार बनेका मध्ये ४
नम्बर क्षेत्रबाट कुमारी मोक्तानले चुनाव जितिन्, ४ नम्बर क्षेत्रका
उम्मेदवार उप्रेती र ३ नम्बर क्षेत्रका सिलवाल र श्रेष्ठ पराजित भए ।
एमालेले भने प्रत्यक्षमा महिला उम्मेदवार बनाएको थिएन । समानुपातिकबाट
जुनेली श्रेष्ठ र विष्णु ओझालाई उम्मेदवार दिए । सामानुपातिकबाट नेपाली
कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना सभासद् भइन् भने
समानुपातिककै अर्का उम्मेदवार रिता खनालले अवसर पाइनन् । उपाध्यायलाई
कांग्रेसले २०५१ र २०५६ सालमा प्रत्यक्षतर्फ उम्मेदवार बनाए पनि चुनाव
जित्न सकेकी थिइनन् । राज्यले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरे पनि
मकवानपुरमा ३३ प्रतिशत सहभागिता छैन ।
एक अध्ययनअनुसार मकवानपुरका दलमध्ये
राप्रपामा ३३ प्रतिशत रहे पनि एकीकृत नेकपा माओवादीमा १८, नेकपा एमालेमा
२४, नेपाली कांग्रेसमा १९, नेकपा मालेमा २३ प्रतिशत महिला सहभागिता छ ।
निर्वाचनमा मकवानपुरबाट प्रत्यक्षतर्फ कुनै पनि दलले दलितलाई टिकट दिएको
छैन् । तर, जनजातिको भन्ने उलेख्य सहभागिता रहेको छ । मकवानपुरका दलबाट
प्रत्यक्षमा टिकट पाउने ४३ जना उम्मेदवार रहेका छन् ।
No comments:
Post a Comment