मेचीकाली जागरण अभियानलाई संस्थापन पक्षका नेताले बहिष्कार गर्ने घोषणा

काठमाडौं,२०१४-१२-०३÷रास– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघमा विवाद उत्पन्न भएको छ । दलित संघले सोमबारदेखि सुरु गरेको मेचीकाली जागरण अभियानलाई दलित संघका संस्थापन पक्षका नेताले बहिष्कार गर्ने घोषणा गरेका छन् ।
मेची अञ्चलको इलामबाट ४५ दिने मेचीकाली जागरण अभियान सोमबारदेखि दलित संघको नामबाट सुरु गरिएको छ । सो अभियानको उद्घाटन कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले गरेका थिए । संस्थापन पक्षका नेताहरूले सो अभियान अवैधानिक भएको आरोप लगाएका छन् । संस्थापन पक्षबाट दलित संघका संस्थापक अध्यक्ष बिजुल विश्वकर्मा र दलित संघका वर्तमान उपाध्यक्ष छत्र टेलरले आइतबार संयुक्त विज्ञप्ति निकाली दलित संघको नामबाट सुरु गरिएको मेचीकाली अभियान अवैधानिक भएको दाबी गरेका छन् ।
पार्टीको केन्द्रीय समितिको बैठकबाट निर्णयसमेत नगराई दलित संघका अध्यक्ष मीन विश्वकर्माको मनोमानीबाट मेचीकाली अभियान सुरु गरिएको आरोप विज्ञप्तिमा लगाइएको छ । ‘दलित संघको नामबाट सुरु गरिएको भनिएको मेचीकाली अभियान अवैधानिक छ । यस्तो अवैधानिक अभियानमा हाम्रो सहभागिता हुँदैन,’ दलित संघका संस्थापक अध्यक्ष बिजुल विश्वकर्माले भने ।
दलित संघका वर्तमान अध्यक्ष मीन विश्वकर्मा देउवा पक्षीय नेता मानिन्छन् । सो अभियानलाई सफल बनाउन देउवा पक्षीय दलित संघका नेताहरूले आह्वान गरेका छन् । तोकिएको समयमा संविधान बनाउन दबाब दिन अभियान सुरु गरिएको आयोजक नेताहरूले बताएका छन् । दुई वर्षअघि भएको दलित संघको निर्वाचनमा मीन विश्वकर्मा अध्यक्षमा चुनिएका थिए । दलित संघको चुनाव भएदेखि नै संघमा विवाद उत्पन्न हँँुदै आएको छ । यसैबीच, तरुण दलका केही जिल्लाहरूमा पनि देउवा पक्षीय नेताहरू र संस्थापन पक्षीय नेताहरूबीच विवाद उत्पन्न भएको छ । 

No comments:

Post a Comment