रुकुम बाफीकोट ९ की ६० वर्षकी मुगा विश्वकर्माको पीडा


यस्तै छ रुकुम बाफीकोट ९ की ६० वर्षकी मुगा विश्वकर्माको पीडा । मुगाको उमेर ढल्केर उहाँ डाँडा माथिको घाम भैसक्नु भयो । तर छोराछोरीले आफूलाई स्याहार गर्नुपर्ने उमेरमा पनि मुगालाई भने सन्तानकै स्याहार गर्नुपरेको छ । ३८ वर्षका छोराको सबै काम गरिदिनुपर्ने अनि कमाएर खुवाउनु पर्ने भएपछि उहाँको दैनिकी कष्टकर बन्दै गएको छ ।  १० वर्षको उमेरमा छारे रोग लागेपछि मुगाका छोरा शान्तबहादुर केही गर्न नसक्ने त छँदै थिए, त्यसमा पनि मानसिक रोग लागेपछि जीवन थप कष्टकर बन्यो । जेठा छोराले घर छोडेर हिडेको १५ वर्ष भयो । श्रीमानको पनि २० वर्ष अघि मृत्यु भएपछि मुगालाई आड भरोसा दिने कोही भएन । 

आदर्श के.सी./उज्यालो । रुकुम, मंसिर २८ – बुढेसकालमा छोराछोरीसँगै बसेर जिन्दगी बिताउने धेरै आमाबाबुको सपना हुन्छ । तर छोराछोरीले आफुलाई भन्दा पनि आफुले छोराछोरीको ख्याल गर्नुपर्ने अनि उनीहरुलाई खान जुटाइदिनुपर्ने, अझ जुटाएर पनि नपुग्ने आफैले खुवाइदिनुपर्ने भएपछि कुन आमाबाबुलाई पीडा हुँदैन ?
उहाँले भन्नुभयो ‘कहिलेकाँही त छोरा मरिसक्यो जस्तै लाग्छ तर दुई तीन घण्टापछि फेरि होसमा आउँछ’ आँखाबाट आँसु खसाल्दै भन्नुहुन्छ ‘मलाई भन्दा अघि यसको काल आए हुने ।’ त्यसमा पनि दलित समुदायको भएकाले दैनिक गुजारा गर्नै पनि मुस्किल छ । काममा गएका बेला छोराकै मात्र पिर लाग्ने मुगा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘काम गर्न गएका बेलामा पनि छोरालाई केहि भैसक्यो कि भनेर डर लाग्छ, पहिले काम गर्न जाँदा घर बाहिरै छाडिदिन्थे तर घर फर्कदा बारीमा खस्ने अनि बेहोस हुने गरेकाले आजकल घरभित्रै थुनेर हिँड्न थालेकी छु । घरभित्र हुलेर दिन भरी काम गरेर फर्कदा छोरा कहिले चुलोमा जलिरहेको हुन्छ त, कहिले बेहोस भएर लडिरहेको हुन्छ । म एक्ली मान्छे के गर्नु ?’ खेतबारी पनि थोरै छ । उत्पादन कम हुन्छ । सधै अर्काकै काम गरेर खाने हो । बिरामी हुँदा उपचार गर्ने पैसा पनि छैन उहाँसँग । तर छोराको रोगको उपचार गर्ने आशा भने मरेको छैन । ‘के गर्नु मर्नु न बाच्नु भएको छ ।’ मुगा दुख पोख्नुहुन्छ ‘आफन्तसँग भारतमा तीन वर्ष मजदुरी गरेर ठुलठुला अस्पतालमा समेत उपचार गराउँदा पनि सन्चो भएन । धार्मिक गडबढीले पो यस्तो भएको हो की भन्ने लाग्न थालेको छ ।’ 
अहिलेसम्म उहाँले अस्पतालको उपचार र औषधीसँगै देवी देवता मनाउनको लागि सय बढी भेडा, बोका मन्दिरमा चढाई सक्नुभएको छ । छारे रोगको उपचार सजिलै हुने चिकित्सकहरुले बताउने गरेपनि सन्तको उपचार किन हुन नसकको भन्ने बारे कसैसँग तर्क छैन ।
जिल्लामा यस्ता रोगीहरु कमै मात्रामा भएपनि जिल्ला अस्पताल सल्लेमा अहिलेसम्म कोही उपचारको लागि नआएको अस्पतालले जनाएको छ । ‘छारे रोग हो या के हो त्यो बिरामीलाई चेक गरेपछि थाहा हुन्छ, यदि छारे रोग नै भए उपचार हुन्छ’ जिल्ला अस्पताल सल्ले रुकुुमका प्रमुख डाक्टर भोजराज गौतम बताउनुहुन्छ ।  गाउँमा छारे रोगलाई चरिभाइ रोग भनेर पनि बुझिन्छ । यो रोगका बिरामीमा एक्कासी बेहास भएर लडने लक्षण देखा पर्छ ।

No comments:

Post a Comment