दलित समुदायका साझा समस्या समाधानका लागि २६ बुँदे प्रतिबद्धतापत्र जारी

बाबियाचौर (म्याग्दी), पुस १४ गते  । म्याग्दीमा आइतबार दलित समुदायका साझा समस्या समाधानका लागि २६ बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ ।संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति म्याग्दीले आयोजना गरेको संविधानसभामा ‘दलितका साझा सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सभासद्, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला कार्यालयका प्रमुखहरूले हस्ताक्षर गरी प्रतिबद्धतापत्र जारी गरिएको हो ।
जातीय छुवाछूत, सामाजिक विभेदको व्यावहारिक अन्त्य, दलितका पक्षमा बनेका ऐननियमको कार्यान्वयन र आगामी संविधानमा दलित समुदायको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिकल अधिकार सम्बोधन गर्न पहल गर्ने लगायतका २६ बुँदे प्रतिबद्धतापत्र जारी गरिएको समितिका प्रचार संयोजक अमित विकले बताउनुभयो ।
कार्यक्रममा सभासद् नवराज शर्माले दलितका पक्षमा बनेका ऐनकानुन तथा व्यवस्थाको व्यावहारिक कार्यान्वयन हुन नसक्नु दुखद् पक्ष भएकाले त्यसका लागि सम्बन्धित समुदायले अन्य पिछडिएका वर्ग र समुदायसँग सहकार्य गरेर राज्यले दिएका सुविधाको उपयोग गर्नु आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा सहभागी हुन विभिन्न ठाउँबाट आएका दलित समुदायका प्रतिनिधिले जातीय छुवाछूत र विभेद अन्त्य नभएको, दलित भएकै कारणले सहकारीले दूध खरिद नगरेको, बेनीमा कोठा भाडा नपाएको, बास नपाएको लगायतका समस्या भोग्नुपरेको भन्दै भएका ऐननियम र कानुनको व्यावहारिक कार्यान्वयन गर्न माग गरेका थिए । रासस

No comments:

Post a Comment