कामचलाउ प्रधानमन्त्री बाबुराम भट्टराई ‘जनताको कुरो सुन्न’ महिनाको एकपटक गाउँ गएर बास बस्छन् । काठमाडौबो काठबाट थालिएको अभियान जारी छ । भदौ ३१ गते प्रधानमन्त्री जुम्लाको राका गाउँ पुगे । राकामा मानसिङ सार्की र चाउरी सार्कीको घरमा बास बसे । चुलाछेउ बसेर रातो भात खान लागेका प्रधानमन्त्रीको फोटो कान्तिपुरले असोज १ मा छाप्यो । एलपी देवकोटाले खिचेको फोटोमा प्रधानमन्त्री भट्टराईको टाउकामा हेडलाईजस्तो केही चीज जोडिएको थियो । उनी थकित देखिन्थे, चाउरी र मानसिङ चकित । प्रधानमन्त्रीको जात तिनले पक्कै थाहा पाएका हुदाहुन् । गामका बिष्टले पक्कै भनिदिए होलान् । प्रधानमन्त्री, त्यसमाथि बाहुनलाई भान्छामा भेट्दा तिनलाई देवदूत भेटेझै भो होला । आफ्ना हातको पानी चलाईदिएका प्रधानमन्त्रीप्रति ती दम्पती अवश्य कृतज्ञ होलान् । दलितको घरमा बास बसिदिएर, तिनका भान्छामा खाईदिएर प्रधानमन्त्रीले सो समुदायलाई न्याय गरेका छन् । यो समाचारको सकारात्मक प्रभाव देशभर पक्कै परेको छ । चाउरी दम्पतीलाई गाउँका विष्टले अलिट्याम हेप्ने छैनन् । चाउरीको भान्छाको फोटो हेर्नलायक थियो । बडेमाको डेक्चीभरी कालीमार्सी भात। बडाबडा दुईटा कुकर र एउटा डेक्चीमा दाल तरकारी केकेकेके । चाउरीका घरमा के खाएर त्यत्रा कुकर हुदा हुन बरा ? गाउँलेले सापटी दिएका हुदा हुन् । भाडाकुडा र तिहुनताहुन त गाउलेले सापटी दिए होलान नाई । तर, त्यत्रो कालीमार्सी भातको उरुङ ? चाउरी दम्पतीले प्रधानमन्त्रीसहित १४ जनाको ‘भतेर’ उम्काए अरे । प्रधानमन्त्रीले धेरथोर ‘पईसो’ चाउरी दम्पतीलाई सहयोगस्वरुप दिएको खबर कही कतै पढ्न पाईएको छैन । दिदै नदिदा पनि दिएझै हल्ला गर्ने नेताले तिलकै गेडो दिएको भए पनि उत्पात हल्ला गर्ने थिए । त्यसकारण चाउरी दम्पतीले फुटेको कौडी पाएझै मलाई लागेन । चाउरीको खेतपाखो कति नै होला र बरा ? भातबाहेक १४ जना ‘विशिष्ठ’को भतेर उम्काउन नुन, तेल, आलु, प्याज,चिनी,मसला आदि पनि त चाहियो । त्यो गरिब दम्पतीले कसरी उम्कायो होला यत्रो कार्जे ? चाउरी दम्पतीले ‘पईसो’ पाएको खबर नपाएपनि प्रधानमन्त्रीको भ्रमणमा १५ लाख खर्च भएको हिसाबचाहि सुन्न पाईएको छ । केही युवा पत्रकारले लामो जोडघटाउ गरेर निकालेको हिसाब हो यो । १५ लाखको मार्सीभात भन्दैछन उनीहरु । १५ लाख खर्चप्रति म उत्पात चिन्तित छैन । त्यत्रोबिधि टाढा मुस्ताङ गाडी चढेर जाने कुरो आएन । प्रधानमन्त्रीजस्तो मान्छे एक्लै लुरुलुरु जाने कुरो पनि आएन । विदेश भ्रमणको खर्च केही करोडको हुन्छ । जनताको घर जादा लाखमा काम सकिएछ । राष्ट्रप्रमुख र सरकारप्रमुखको देशदर्शन गर्दा ‘त नघुम, यति पैसा लाग्यो’ भन्नु त्यति न्यायोचित नहोला । उनीहरु घुमेवापत त्यहाँका जनताले के पाए भन्ने प्रश्न मुख्य हो । प्रधानमन्त्रीले १५ लाख खर्च गरेर चाउरी दम्पतीको पानी चलाईदिएवापत उनीहरुको परिवारले पाएको सास्तीको कथाले म दुखी छु । चाउरीका बेरोजगार छोराले रातभर प्रधानमन्त्री टोलीको जुठाभाडा माझ्ने जागीर पाएछन् । जम्मा एक रात, त्यो नी विनापैसा । यो काम चाउरीकी नयाँ बुहारीले पनि पाईछन् । प्रधानमन्त्री घरमा आएका बेला दुखका पटुका फुकाउन मन थियो रे मानसिङ र चाउरीलाई । बाबुराम भट्टराईको जनयुद्धले मानसिङ दम्पतीको फूलजस्ती छोरीलाई सम्झना सार्कीलाई खाईदिएछ । २०६० सालमा सुरक्षाकर्मीले मारिदिएछन् । यो दुखको कथा उनीहरुले आफ्नै घरमा प्रधानमन्त्री आउदासमेत सुनाउन पाएनन, किनकि उनीहरुलाई भात पकाउने र भाडा माझ्ने चटारो थियो । जनताको पीरमर्का सुन्न अर्को महिना प्रधानमन्त्री अरु कुनै नयाँ गाउँ जालान । चाउरीजस्तै गरिबको घरमा बस्लान । उनीहरुकै भान्छामा खालान् । खाने, घुम्ने र माला लाउने काम त भईहाल्छ । तर, एउटा कुरो मैले पटक्कै बुझिन । आफू बास बस्ने घरवेटीको समेत पीरमर्का सुन्ने मेसो नमिलाउने प्रधानमन्त्रीले अरु कसका पीरमर्का सुनेर फर्केलान ? तिनलाई कसरी दुखको भवसागरबाट तार्लान ? प्रधानमन्त्री १५ लाख खर्चेर गरिबको घरको कालीमार्सी चामलको भात खान मात्र राकागाउँ गएका हुन ? यो देशले चाउरीजस्तै चाउरिएका अरु गरिबका कथाब्यथा कहिले सुन्छ खै ? चाउरीहरुको जय होस् ।
|
No comments:
Post a Comment