मुसहर बस्तीका बालबालिका शिक्षाको पहुँचभन्दा अझै पनि बाहिर

वीरगन्ज (पर्सा), ७ पुस । पर्साको ग्रामीण भेगमा रहेको मुसहर बस्तीका बालबालिका शिक्षाको पहुँचभन्दा अझै पनि बाहिर रहेका छन् ।  स्थानीय शिक्षकका अनुसार मुसहर बस्तीका अभिभावकले नै उनीहरुलाई विद्यालयमा  पठाउँदैनन् । जिल्लाको सेढवा, महादेवपट्टी, पटेर्वासुगौली, जगरनाथरपुर, बिजबनियालगायतका गाविसमा रहेको दलित समुदाय मुसहरका बालबालिका शिक्षाको पहुँचबाट अझै पनि बाहिर रहेका छन् । 
सरस्वती निमावि शैकरशरैयाका शिक्षक रामदेवप्रसाद थारूले विद्यालयमा मुसहर जातका बालबालिकाको उपस्थिति एकदमै न्यून हुने गरेको र अभिभावकले नै जानीजानी विद्यालयमा विद्यार्थीलाई नपठाएको जानकारी दिनुभयो । 
जिल्लाको सेढवाका स्थानीय मुसहर अगुवा शिवनाथ माझी मुसहरले आफ्नो बालबालिकालाई विद्यालयमा पठाउनुभन्दा पनि काम सिकाउनु महत्वपूर्ण हुने भएका कारणले विद्यालय नपठाएको बताउनुभयो । 
जिल्ला शिक्षा कार्यालय पर्साका अनुसार जिल्लामा अझै पनि ४४ प्रतिशत बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर छन् । शिक्षा अधिकारी बरखु रजकले सबै तहमा निःशुल्क शिक्षाको व्यवस्था गरिएको र दलित बस्तीमा अझै विशेष भर्ना अभियान सञ्चालन गर्दै आइरहेको जिकिर गर्नुभयो । रासस

No comments:

Post a Comment