जाडो छल्न मुसहरलाई परालको भर

पर्सा, पुस २ - सोमबार रातभर सिमसिमे पानी परेपछि मंगलबार बिहान घाम लाग्नासाथ पर्साको लिपनीमाल ९ चैनपुरकी लखपतिया माझीलाई भ्याइनभ्याई भयो । वर्षाले प्लास्टिकको छानो चुहिएर बिछ्यौना बनाएको पराल भिजेपछि सुकाउने हतारो थियो । अर्कोतिर लालाबालालाई परालको घुर बालेर न्यानो पार्ने चटारो ।
एक सरो धोती लगाएकी लखपतियाका लालाबालाको आङमा पातला लुगा थिए । 'के गर्नु आगो नतापी जाडो छल्नै सकिँदैन,' उनले भनिन्, 'प्लास्टिकको छानो पनि तपतप चुहिने, रात काट्न गाह्रो भो ।' उनको परिवार परालमा सुत्ने, परालै ओढ्ने गर्छ । जाडाले निद्रा नलागे राति पनि आगो तापेर बस्छन् । 'हाम्रा लागि पराल सबैथोक हो,' उनले भनिन्, 'कहाँबाट पाउनु सिरक, कम्बल ।' ३ धुर जग्गामा बनेको कच्ची घरमा फुसको छानोसमेत छैन । ओत लाग्न थोत्रा प्लास्टिकले छाएकी छन् ।
पानी नपरेको दिन शीत चुहिएर कष्टकर बनाउँछ । उनको ७ जनाको परिवार छ । पति हीरा र उनको मजदुरीका भरमा चुलो चलेको छ । जायजेथाका नाममा कच्ची घर हो । १ दिन काम नपाइए हातमुख जोर्न पुग्दैन । टोलमा अन्य मुसहर परिवारको घर भए पनि उनको जस्तो बिजोग छैन । सबैको घरको छानो फुस वा खपडाले छाएको छ ।
'के गर्नु कमाउँदै खाँदै पुग्दैन,' हीराले भने, 'छानो छाउनु त धेरै ठूलो कुरा, जुनी नै यसैगरी बित्लाजस्तो छ ।' ५ सन्तानमध्ये जेठी छोरीको विवाह गरिदिए पनि यो दम्पतीको बाँकी २ छोरी र २ छोरा सानै छन् । यीमध्ये कोही पनि नियमित विद्यालय जाँदैनन् । 'पठाउने रहर त छ,' हीराले भने, 'तर के गरौं, कापीकलम किनिदिने पैसा पनि त पुग्नुपर्‍यो ।' बस्तीका डेढ दर्जन मुसहर परिवारको घर हीराको तुलनात्मक रूपमा राम्रो भए पनि आर्थिक अवस्था भने कसैको राम्रो छैन ।
अधिकांश परिवार परालका भरमा जाडो छलिरहेका छन् । दलित बस्तीमै रहेको करिब १ सय चमार परिवारको अवस्था नाजुक छ । स्थानीय दलित अगुवा महन्थ राम अशिक्षा, गरिबी र बेरोजगारी गाउँको मुख्य समस्या रहेको बताउँछन् । पर्सा-बारा औद्योगिक करिडोरसँगै जोडिएर रहेको यो बस्तीलाई यहाँका उद्योगले पनि रोजगारी दिन नचाहने गरेकाले आफूहरूलाई करिडोर शोभा मात्र बनेको राम बताउँछन् ।
असिनापछि चिसो
कपिलवस्तुमा सोमबार राति परेको असिनाले चिसो बढेको छ । कठ्याङग्रने जाडो भएको छ । रातभर पानी परेपछि मंगलबार अन्य दिनभन्दा धेरै चिसो भयो । मंगलबार वर्षकै सबैभन्दा बढी जाडो छ । न्यूनतम ७ दशमलव ६ र अधिकतम १४ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभाग रामनगर इकाइले जनाएको छ । त्यस्तै, १० मिलिलिटर पानी परेको जनाएको छ । चिसो बढेपछि न्यानो कपडा खरिद गर्ने सर्वसाधारणको भीड बजारमा बढेको व्यवसायी शंकर कान्दुले बताए । उनले भने, 'सधैं ६ हजारभन्दा बढीको व्यवसाय गर्ने गरेकामा मंगलबार १५ हजार कटेको छ ।' अन्य दिनभन्दा मंगलबार बढी जाडो भएको कवनपा- ७ की सृजना ज्ञवालीले बताइन् । घाम लागेको भए पनि अरू बेला लागेको र तेजिलो नहुँदा दिनभरि चिसो भयो ।
यसैगरी नवलपरासीमा पनि २ दिनदेखि परेको पानीले चिसो बढाएको छ । दिउँसो घाम लागे पनि साँझबिहान प्रभाव परेको छ । चिसोेले दम, खोकी र नियोनियाँका बिरामी बढेको जिल्ला अस्पतालले जनाएको छ । जाडाको असर बालबालिका र वृद्धवृद्धामा बढी परेको छ । आगो ताप्दै ग्रामीण भेगका बासिन्दा जाडो झेल्दै आएका छन् । सहरी क्षेत्रमा पनि नगरपालिकासँग आगो ताप्न दाउरा वितरण हुनुपर्ने नगरवासीले माग गर्दै आएका छन् ।
चितवनलगायत मध्य तराईका जिल्लामा मंगलबार बिहानैदेखि घाम लागेकाले सर्वसाधारणलाई राहत मिलेको छ । सोमबार राति पानी परेपछि चिसो बढेको हो । यस क्षेत्रका सदरमुकाम तथा बजारमा चहलपहल र भीडभाड बढी देखिन्थ्यो ।
शीतलहरपीडित पहिचान गरिँदै
जिल्ला विपत् व्यवस्थापन समिति चितवनले शीतलहर प्रभावित सामुदाय तथा परिवारको पहिचान गर्न आवश्यक तयारी थालेको छ । केही दिनयता बढेको चिसोका कारण प्रभावित समुदाय तथा परिवारको विवरण संकलन गरी जिल्लामा पठाउन समितिले गाविस, नगरपालिका तथा उपमहानगरपालिकालाई निर्देशन दिएको छ । स्थानीय अधिकारीले संकलन गरी पठाउने विवरणका आधारमा प्रभावितको व्यवस्थापनका लागि आवश्यक सामग्री लत्ताकपडा, दाउरा, औषधोपचारलगायत तयारीमा समिति जुटेको जिविसका सूचना अधिकृत बलराम लुइँटेलले बताए ।
जिल्लास्थित सामुदायिक वन, निकुञ्ज, जिल्ला वनलाई प्रभावित परिवार, व्यक्तिलाई आवश्यकअनुसार दाउरा निःशुल्क उपलब्ध गराउन समितिले पत्राचारसमेत गरिसकेको उनले बताए । शीतलहरबाट यहाँका सीमान्तकृत वर्ग चेपाङ, मुसहर, कुमाल, बोटे, माझी, दराईलगायत बढी प्रभावित हुने गर्छन् ।

No comments:

Post a Comment