दलित र विपन्न परिवार दाउरा बालेर आगो ताप्दै रात काट्न बाध्य

बेनी (म्याग्दी), ७ पुस ।
पुस महिनाको सुरुवातसँगै भएको हिमपात र बढेको चिसोका कारण म्याग्दी जिल्लाको विभिन्न क्षेत्रमा बसोवास गर्ने विपन्न परिवार दाउरा बालेर आगो ताप्दै रात कटाउन विवश बनेका छन् ।भकिम्ली गाविस–९ लहरेनी र बेनी नगरपालिका–४ बगरफाँटका दलित र विपन्न परिवार दाउरा बालेर आगो ताप्दै रात काट्न बाध्य बनेका हुन् ।
आर्थिक अवस्था कमजोर भएका कारण सिरकको उचित व्यवस्थापन गर्न नसक्दा अहिले चिसो बढेसँगै राति आगो बालेर आगोको छेउमा रात काट्न बाध्य हुनुपरेको लहरेनीका ७६ वर्षीय दलवीर किसानले बताउनुभयो ।“जाडोको कहर कहिनसक्नु भयो हजूर ! न्यानो कपडा छैन, रातभरि आगो तापेर जिउ सेक्छाँै,” किसानले बताउनुभयो ।
बगरफाँट सामुदायिक वन र भकिम्ली वन क्षेत्रका बीचमा पर्ने घना जङ्गलको मध्य भागमा अवस्थित लहरेनीमा बसोवास गर्ने १३ घर परिवारमध्ये अहिले नौ घरका विपन्न दलित जातिले गतिलो ओढ्नेको अभावमा राति आगो बालेर आगोको छेउमा बस्ने र सुतेर रात काट्न बाध्य भएको अर्का स्थानीय भवबहादुर विकले बताउनुभयो ।
आफ्नो जग्गा पनि नभएको र ऐलानी जग्गामा बसोवास गर्दै आएका यी दलित जाति लामो समयदेखि खरको सानो छाप्रोमा बस्दै आएका छन् । दिनभरि वनमा दाउरा खोज्ने र भोलिपल्ट बिहान दाउराको भारी बोकेर दुई घन्टाको दूरीमा रहेको म्याग्दी सदरमुकाम बेनी बजारमा बिक्री गरी आएको पैसाले गुजारा चलाउने ती विपन्न दलित परिवारका बालबालिकाले विद्यालयमा पढ्ने खर्च पनि दाउरा बेचेर नै जुटाउने गर्दछन् ।
वर्षांैदेखि दाउरा बेचेर गुजारा चलाउँदै आउनुभएकी ५३ वर्षीया सेती विक भन्नुहुन्छ – श्रीमान् र मैले दाउरा काटेर बिक्री गरी घरपरिवार चलाउँछौँ तर आवश्यक कमाइ गर्न नसक्दा छोराछोरीलाई राम्रो लुगाफाटा लगाइदिन र ओढ्ने ओछ्याउने बन्दोबस्त गर्न सकिएन । उहाँका तीन छोरी र दुई छोरा छन् ।
यता बेनी नगरपालिका क्षेत्रकै वडा नं ४ स्थित मसिनी कार्की पनि न्यानो कपडाको अभावमा मरणासन्न अवस्थामा पुग्नुभएको छ । कोटखोलाबारी अग्लो डाँडोमा खरको सानो छाप्रोमा बस्दै आउनुभएकी मसिनी राम्रोसँग कान सुन्न र आँखा देख्न सक्नुहुन्न । अडसठ्ठी वर्ष पार गरेकी मसिनी पाँच वर्षअघि उहाँका श्रीमान्को मृत्यु भएपछि बेसहारा बन्नुभएको हो । 
श्रीमान्ले कटुवालको काम गरी उठाएको अन्नले उहाँको गुजारा चल्ने गरेको थियो । श्रीमान्को मृत्युपछि ‘एक छाक मकै र एक छाक भोकै’ रहने गर्नुभएकी मसिनीलाई जाडोको समयमा निकै नै गाह्रो पर्ने गरेको स्थानीय राजु रिजालले बताउनुभयो । 
रिजालका अनुसार मसिनीले अहिले आफ्नो बहिनी ज्वाइँलाई समेत घरमा राख्नुभएको छ । आँखा नदेख्ने उनका ज्वाइँ र कान नसुन्ने बहिनीलाई पाल्नुपर्ने बाध्यताले उहाँ झन पीडित बनेको रिजालले बताउनुभयो । सरकारी जग्गामा बस्दै आउनुभएकी मसिनीको अवस्था अत्यन्त दयनीय रहेको र उहाँलाई तत्कालै न्यानो कपडा र खानेकुराको आवश्यकता भएको स्थानीयवासीले बताएका छन् । 
केही दिनयता चिसो बढेसँगै नगरको अन्य क्षेत्रका स्थानीय बासिन्दासमेत आगोको सहारा लिन बाध्य हुन थालेका छन् ।यसैगरी उच्च ग्रामीण क्षेत्रका अधिकांश स्थानीय चिसो बढेसँगै अहिले बिहान, बेलुकी र रातमा समेत आगोको सहारामा रहनुपरेको भकिम्ली डाँडाखानीका मनबहादुर थापाले बताउनुभयो । कतिपय स्थानीय आर्थिक अवस्था राम्रै भए पनि चिसोको समयमा घरमा ओढ्ने ओछ्याउने कपडाको व्यवस्थापन गर्नुभन्दा पनि प्रायः घरको छेउ तथा चोकमा बिहान–बेलुकी आगो तापेर बस्ने प्रचलन रहँदै आएको अर्का स्थानीय भलक पुन बताउनुहुन्छ । रासस

No comments:

Post a Comment