मेरो बाआमाको उपचार ऊ त्यो घरमा भैरहेको छ- सागर ढोली (नागरी)

तपाईहरुको सल्लाह, सुझाव र सहयोगको अपेक्षा साथ साथै यस ब्लक alldalit.blogspot.com र  सामाजिक संजाल फेसबुकमा www.facebook.com/DalitSolidaritynepal पेजलाई सक्दो सेयर र लाईक गरि सहयोग गर्दिनु हुन्छ भने अपेक्छा गरेको छु ।
धनगढी, १५ मंसिर । १२ वर्षीय सागर ढोली (नागरी) आफ्ना आमाबुबा निको भएर आउने आसामा धनगढीस्थित सेती अञ्चल अस्पताल परिसरमा दुई दिनदेखि कुरेर बसेका छन् । आफन्तसँगै रहेका सागरलाई उनका आमाबुबा घाइते अवस्थामा रहेको उनका आफन्तले बताएका छन् । उनी त्यही आसामा दिन विताइरहेका छन् ।
तीन दिनदेखि राम्रोसँग खान, बस्न समेत नपाएर थकित देखिएका सागर आमाबुबा निको भएपछि उहाँहरुलाई सँगै लिएर बम्बई जाने प्रतिक्षामा छन् । तर, अबोध बालक सागरलाई आमाबुबा कहिल्यै नफर्कने गरी गइसकेको पत्तो अझै छैन ।
सागरसँगै रहेका आफन्तजनले उनका आमाबुबा सामान्य घाइते अवस्थामा रहेको र चाँडै निको हुने भनेर ढाँटिरहेका छन् ।
सेती अञ्चल अस्पताल परिसरमा भेटिएका सागरले आमाबुबा सँगै बम्बई जान भनेर आएको बताए । पहिलोपटक बम्बई जान लागेका सागर बसमा आउँदा आमा र बुबाको गोडा (खुट्टा) मा सुतेर आएका थिए । ‘बस खस्दा करालो (ओरालो) ठाउँ आयो होला भने सोचेँ,’ उनले भने, ‘तर बस एकै पटक ठूलो आवाज सहित पल्टियो ।’ उक्त बस दुर्घटनामा परी घाइते भएका सागरले त्यसपछि आमा–बुबाको अनुहारसम्म देख्न पाएनन् ।    अत्तरियास्थित पद्मा अस्पतालमा उपचारपश्चात् आमाबुबालाई भेट्ने उनी धनगढीस्थित सेती अञ्चल अस्पताल परिसरमा शनिबार साँझ आइपुगेका हुन् । तर, दुर्भाग्य उनका आमाबुबालाई अञ्चल अस्पतालको शव गृहको कोठामा पोष्टमार्टमका लागि राखिएको छ ।
सागरलाई तिम्रा आमाबुबा कहाँ छन्, थाहा छ बाबु ? भनेर प्रश्न गर्दा उनले शव गृहतिर औलाले देखाउँदै भने– ‘ऊ त्यो घर भित्र मेरो बुबा–आमाको उपचार भइरहेको छ । उहाँहरु निको भएर आएपछि हामी सँगै बम्बई जान्छौँ ।’
सागरका काका भरतको वेदना झन मार्मिक छ । उनले सागरको प्रश्नको झुट्टो उत्तर दिन परेकोमा भक्कानो छोड्दै भने– तिम्रा बुबा–आमा विते भनौ भने उसलाई सम्झाउँनै मुस्किल पर्छ, नभनौँ कति दिन ढाट्नु ?’
सागरजस्तै यतिबेला सेती अञ्चल अस्पतालमा आफन्तलाई भेट्ने भनेर डोटी डौड गाविसका मानिसहरुको भीड लागेको छ । तर, अस्पतालमा बस दुर्घटनामा मृत भएकाहरुको मात्र शव राखिएको छ ।
शुक्रबार राति साढे बाह्रबजे कैलालीको सहजपुर २ स्थित दमाईडाडामा महाकाली यातायातको ना ५ ख ५४२० नंम्बरको बस दुर्घटना हुँदा सागरका बुबा तुली र आमा रिनुवा ढोली (नागरी) सहित १३ जनाको मृत्यु भएको थियो ।
मृतक १३ जना मध्ये पाँच जनाका आफन्तले शव बुझिसकेका छन् भने सात जनाका आफन्तले उचित क्षतिपूर्ति नपाएसम्म शव नउठाउने भनेर शव गृह बाहिर बसेका छन् । मृतक सातै जना डौड गाविसका बासिन्दा हुन् ।
अहिलेसम्म महाकाली बस ब्यवसायी समितिका कोही पनि पदाधिकारीहरु भेट्न आएका छैनन् ।

No comments:

Post a Comment