नाबालकलाई आगोको भुतभुते खन्याएको आरोपमा सम्झना दनुवार गिरफ्तार

उदयपुर । ०७१ पुस १ गते
त्रियुगा नगरपालिका-११ मोहनपुरकी २३ वर्षीया मुना सार्की (दनुवारर उनका एक वर्षीय नाबालक छोरा अरुण दनुवारलाई आगोको भुतभुते (तातो खरानीखन्याएको आरोपमा २० वर्षीया सम्झना दनुवारलाई प्रहरीले मङ्सिर २९ गते गिरफ्तार गरेको छ । मुनाले मङ्सिर २७ गते इलाका प्रहरी कार्यालय जलजलेमा दिएको जाहेरीका आधारमा सम्झनालाई मङ्सिर २९ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर डिल्लीबहादुर चौहानले बताए । मङ्सिर २६ गते साँझ सामान्य वादविवादमा सम्झनाले चुलोमा बलिरहेको आगोको भुतभुते झिकेर नाबालक पिठ्युँमा बोकिरहेको अवस्थामा मुनाको घाँटीमा खन्याएको इन्स्पेक्टर चौहानले बताए । तातो भुतभुतेले मुनाको घाँटीको पछाडि र नाबालक अरुणको छाती र खुट्टाको ‍औँलाको भाग डढेको छ । दुवैको जिल्ला अस्पताल बोक्सेमा उपचार भइरहेको छ ।

सम्झना मुनाकी आफ्नै साहिली नन्द हुन् । सम्झनाका दाइ मुकेशले मुनालाई ०६३ सालमा काठमाण्डौँको गोठाटार-७ माईतीघरबाटै मागी विवाह गरेका थिए । विवाहपश्चात उनलाई घरपरिवारले सहजरुपले स्वीकार गरेका थिएनन् । बेलामौकामा आफूभन्दा तल्लो जात त्यो पनि दलितसँग विवाह गरेको भन्दै परिवारले होच्याउने र घर व्यवहार हुन नसक्ने बताउँदै आएका थिए । मुनाको ६ वर्षीया छोरी र एक वर्षीय छोरा छन् ।

No comments:

Post a Comment