जातीय विभेदका घटना घट्दै गए पनि सचेतनाका कारण उजुरी बढ्दोः अध्यक्ष नेपाली

ललितपुर । ०७१ पुस ४ गते
राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले जातीय विभेदका घट्ना घट्दै गए पनि नागरिकमा सचेतना बढेका कारण जातीय छुवाछुत तथा विभेद घटनाका उजुरी बढ्न थालेको बताएका छन् ।इन्सेक ललितपुर प्रतिनिधिसँग पुस ४ गते उनले कुरा गर्दै जातीय विभेदका घटना बढ्दै गएको नभइ सचेतनाका कारण उजूरी बढ्न थालेको तथा न्यायको आन्दोलनमा सहभागी हुन थालेको बताएका हुन् ।

गएको साउन महिनादेखि मङ्सिर मसान्तसम्म आयोगमा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी सात ओटा निवेदन दर्ता भएको उनको भनाइ छ ।त्यस्ता निवेदनहरूमा विशेषगरी अर्न्तजातीय विवाह गरेका कारण गाउँनिकाला गरिएको घटना भएको आयोगका अध्यक्ष नेपालीले जानकारी दिए ।

उनले आयोगमा परेका निवेदनका आधारमा छानबिन प्रक्रिया अगाडि बढाइ क्षतिपूर्तिसहित पीडितलाई न्याय दिलाउने कुरामा आयोगले भूमिका निर्वाह गर्दै आएको पनि बताए ।अध्यक्ष नेपालीले भने-'पहिलाको जस्तो स्थिति छैन । सहेर बस्न हुँदैन भन्ने जागरुकता आएको छ । त्यसकारण उजुरी गर्ने र न्यायको ढोका ढक्ढक्याउने प्रवृत्ति बढेको छ ।'

छुवाछुत अन्त्यका लागि जातीय भेदभाव तथा छुवाछुत (कसुर सजाय) ऐन, २०६८ पारित भई लागु भएकाले यसको सफल कार्यान्वयनका लागि सम्पूर्ण व्यक्ति तथा संस्था र सरोकारवालाहरू एक हुनुपर्ने बताए ।

No comments:

Post a Comment