गाउँ निकालिएकी कुष्ठरोगी मुना नेपालीले घर पाइन्

आफूले पाएको नयाँ घर अगाडि मुना नेपाली । तस्बिरः अगन्धर/कान्तिपुर
पर्वत, मंसिर १९ - कुष्ठरोग लागेको भन्दै ६ वर्षसम्म गाउँनिकाला गरिएकी एक महिलासहित उनका तीन भाइले घर पाएका छन् । २०६५ सालमा कुष्ठरोगको लक्षण देखिएपछि गाउँबाट निकाला भएकी ठुलीपोखरी ६ की मुना नेपालीलाई तिलाहार ८, दराकमा घर उपलब्ध गराइएको हो । दराकका स्थानीय तुलसी गिरीको पहलमा नेपाल अपांग उत्थान समाज र आईएनएफ पुनःस्थापनाका लागि हातेमालो पोखराको सहयोगमा ३ लाख २४ हजार रुपैयाँको लागतमा घर बनाइएको हो ।
नेपालीलाई २३ औं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले दुईकोठे घरको साँचो हस्तान्तरण गरे । ७ आना ३ पैसा दुई दाम क्षेत्रफल जग्गाको लालपुर्जा छ ।
२०६३ सालमा स-साना भाइ छाडेर आमाले दोस्रो बिहे गरेपछि तीन भाइको लालनपालन गर्ने जिम्मा मुनाका काँधमा थियो । मजदुरी गरेर जेनतेन भाइहरूको स्याहार गर्दै आइरहेकी मुनालाई २०६५ जेठताका शरीरका विभिन्न भागमा एक्कासि अनौठा दाग देखिन थाले । फुपू पर्ने महिलाले अस्पताल पुर्‍याएपछि उनमा कुष्ठरोग भएको पुष्टि भयो । कुष्ठरोग लागेको थाहा पाएपछि गाउँले सबैले पापिनी भन्दै गाउँमा टेक्न नदिएपछि आफूहरू रुँदै गाउँबाट बाहिरिएको घटना मुनाले स्मरण गरिन् । 'गएका ६ वर्षमा हामी कैयौं दिन सडकमा सुत्यौं, कति दिन भोकै बस्यौं, 'नेपालीले रुँदै भनिन्, 'लगातार सात दिन जंगलमा एक्लै सुत्दा रातभर निदाइएन ।' नेपालीले आफू यो अवस्थामा आउँछु र कसैले घर बनाइदेला भनेर सपनामा समेत नसोचेको बताइन् ।
'एक दिन बुचरले मासु काटेको बोरा भेटाएर त्यसैमा सुतेका थियौं,' मुनाले बितेका दिनबारे गहभरि आँसु पार्दै भनिन्, 'मध्यरातमा स्यालले बोरा तानेपछि भाइहरू चिच्याए, त्यो रात बाँचिन्छ जस्तै लागेको थिएन ।' सहयोगी निकायले घर बनाइदिए पनि आउँदा दिन कसरी अघि बढाउने भन्ने चिन्ता भने नहटेको नेपालीले बताइन् । 'यो घर पाउँदा मलाई स्वर्गमै पुगेको अनुभव भएको छ, 'नेपालीले भनिन्, 'अब कमाइ खाने सीप भए केही पेसा गर्न हुने थियो ।'
लामो समय गाउँबाट बहिष्कृत भएकी नेपालीका बाबुको सानैमा मृत्यु भएका कारण उनको नागरिकता बनाउनसमेत कठिन भएको गाविस सचिव कुलप्रसाद लामिछानेले बताए । 'बाबुको नागरिकता रहेनछ, कुष्ठरोगी भनेर गाउँका कोही सनाखत बस्नै नमानेपछि मुनालाई नागरिकता बनाउन दुई साता हामी प्रशासनसँग लड्नुपरेको थियो,' सचिव लामिछानेले भने ।
पुनःस्थापनासँगै उनका कान्छा भाइ आशिष नेपाली स्थानीय एक विद्यालयमा कक्षा ३ मा भर्ना भएका छन् । 'ठूलो भाइ केही समयदेखि पोखरामा बसेर आफ्नो ज्यान पाल्दै आइरहेको छ, माइलो बाबुराम र कान्छो आशिष सानै छन्,' मुनाले भनिन्, 'भाइहरूलाई पढाउन र आफ्नो ज्यान पाल्ने गरी केही सीप सिक्न पाए घरमै बसेर पनि काम गर्न हुने थियो ।' अहिले उनी पोखरास्थित हरियो खर्क अस्पतालको नियमित निगरानीमा औषधि सेवन गर्दै आइरहेकी छन् ।

No comments:

Post a Comment