डोमले पानी खाएको चापकल अझैसम्म सञ्चालनमा आउन सकेन

पर्सा । ०७१ मङ्सिर २५ गते
पर्साको बैरीयाविर्ता गाविस-५ नौतज टोलमा दलितलाई चापाकलको पानी खान नदिएका स्थानीय ब्रम्हदेव यादव र चोकट यादवले आफनो गाँउमा छुवाछूतको प्रथा अझै पनि कायम रहेको बताएका छन् । नौतज टोलमा रहेको मठ परिसरको चापाकलमा स्थानीय लक्ष्मी राउत डोमले पानी खाए पछि धारा छोइएको भन्दै गाँउका कथित उपल्लो जातिका व्यक्तिहरुले गाँउ भेला नै गरेर नयाँ चापाकल गाड्नुपर्ने निर्णय गरेको समाचार सार्वजनिक भएपछि मङ्सिर २५ गते सोही गाँउमा पुगेका सञ्चारकर्मीहरुसँग  ब्रम्हदेव यादव र चोकट यादवले आफनो गाँउमा छुवाछुतको प्रथा अझै कायम रहेको बताएका हुन् । लक्ष्मी डोमले छोएको चापकल (धारा)  छोइछिटो भएकोले त्यसबाट पानी नखाने भन्दै दुवै जनाले मठमा अर्को चापाकल गाड्नुपर्ने बताएको आज गाँउमा पुगेका सञ्चारकर्मी धर्मेन्द्र चौरसीयाले बताए । लक्ष्मी डोमले पानी खाएको चापकल अझैसम्म सञ्चालनमा नआएको बरु उल्टै माथिबाट पराल र बोराले छापेर राखेको अवस्थामा भेटिएको आज गाउँमा पुगेको सञ्चारकर्मीले बताएका छन् । गत कात्तिक ८ गते खेतमा काम गर्ने बेला तिर्खा लागेपछि नजिकैको मठमा रहेको चापाकलबाट लक्ष्मी डोमले पानी खाएपछि आफूलाई कथित उपल्लो जातिको भन्ने स्थानीय ५७ वर्षीय ब्रम्हदेव यादव , ५६ वर्षीय चोकट यादव लगायतका व्यक्तिहरुले गाउँ भेला गरी उक्त चापकल पानी खान अयोग्य भएको घोषणा गर्दै डोमलाई गालीगलौज र धम्की दिनुका साथै चापकलको हेड खोलेर लगेका हुन् । गाँउ भेलामा लक्ष्मी डोमले पानी खाएकै कारण आफूलाई दण्डित गर्ने प्रयास गरेको भएपनि आफूले कुनै पनि हालतमा कुनै किसिमको दण्ड जरिवाना नतिर्ने बताए पछि ब्रम्हदेव यादव , चोकट यादवलगायतका व्यक्तिहरुले चापाकलको हेड नै खोलेर लगेका थिए । चापकलको  हेड खोलेर लुकाइएपछि मठ नजिकै घर भएका स्थानीय नागा सहनीले आफूहरु खोलाको दुषित पानी पिउन बाध्य भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी गरेका थिए । सहनीको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका तत्काल चापकल जडान गर्न इलाका प्रहरी कार्यालय पोखरीयालाइ निर्देशन दिएको भएपनि अहिले सम्म उक्त चापकल सञ्चालनमा आउन सकेको छैन ।

No comments:

Post a Comment