तेह्रथुम, फागुन २८– गत साता हमरजुङ–४ की दिलकुमारी बराइलीको घरमा अचानक आगलागी हुँदा उनको घर र घरमा रहेको अन्न, लत्ताकपडा जलेर नष्ट भयो । स्थानीय प्रहरी चौकीले घटनाको मुचुल्का तयार गरी आगलागीको कारण खोजी गर्ने भन्दै आगलागीबाट करिब साढे दुई लाखको क्षति भएको निश्कर्ष पनि निकाल्यो । घटनाबारे प्रहरी र संचारमाध्यम तथा स्थानीय सामाजिक परिचालकहरुमार्फत सबैले जानकारी पनि पाए, घर जलेसँगै दिलकुमारीको खाने बस्ने र दैनिकी गुजार्ने ठाउँ पनि सकियो । तर, राहत र पुनस्थापनाका विषयमा भने अहिलेसम्म कसैले सोचेको छैन । घरमा एक्लै बस्दै आएकी दिलकुमारीले आँखा भरि आँसु पारेर भनिन्–बुबा बितेपछि मेरो आफ्नो आफन्त कोही पनि थिएन, घरमा एक्लै बस्थें, भएको एउटा घर पनि जलेपछि मेरो आड भरोसासँगै सबथोक टुटेको छ । कमजोर आर्थिक अवस्था र पारिवारिक समस्याका कारण लेखपढ समेत गर्न नपाएकी १७ वर्षीय दिलकुमारी बाबु बितेपछि सात वर्षदेखि घरमा एक्लै बस्दै आएकी थिइन् ।
बाबु विरामी भएर थला परेपछि आमाले सानी बहिनीलाई साथ लिएर घर छाडेर गएको दिलकुमारीले बताइन् । आमा हिडेपछि झन् रोगिएर केही महिना नबित्दै बुबाको मृत्यु भयो । उनले भनिन्–बुवा बितेपछि मेरो जीवनमा खडेरी प¥यो र दुःखका दिन सुरु भए, तर जसो तसो जीवन चाँहि धानेकी नै थिएँ । बुवा बितेपछि आफन्तको शरणमा बसेकी दिलकुमारी धेरैजेल अरुको बन्देजमा बस्न सकिनन् । उमेर छिप्पिदै गएपछि काम गरेर खान सक्छु भन्ने आँटले उनी आफ्नै घरमा बस्दै आएकी थिइन् । भएको थोरै बारीमा लगाएको बालीले एक्लो ज्यान नधान्दा खर्च चलाउन मेलापात गर्दैमा उनका दिनहरु बित्थे । फागुन १६ को साँझ पनि काम सकाएर सामान्य विरामी समेत रहेकी दिलकुमारी छिट्टै सुतेको बताउँछिन् ।
उनले भनिन्–मध्यरातमा अचानक कुखुरा कराउँदै छेउमा आएपछि ब्युझिँएर हेर्दा घरको माथिबाट आगोको ज्वाला दन्किरहेको देखेँ, धन्न समयमै व्युझिँएछु र मुस्किलले झ्यालबाट भागेरै भएपनि ज्यान सम्म चाँहि जोगाउन सकेँ । घर र घरमा रहेको सर्वस्व खरानी भएपछि दिलकुमारी फेरि साइनोले ठुलो बुवा पर्ने छिमेकका पुखलबहादुर बराइलीको आश्रयमा बसेकी छिन् । गहभरि आँसु पारेर उनले भनिन्–चार वर्षदेखि आफ्नै घरमा बस्दै थिएँ, अब भएको त्यही घर पनि रहेन, कहाँ जाने ? के गर्ने ? कसरी दैनिकी गुजार्ने ? टुङ्गो छैन । दिलकुमारीका घरमा आगलागी भएपछि उनको घर बनाइदिने विषयमा गाउँमा छलफल पनि भयो । तर अन्य आय श्रोत र बचत रकम केही नभएकी उनलाई गाउँलेले दिएको दुई पैसाले घर नबन्ने देखिएपछि त्यो विषयमा त्यतिकै टुङ्गिएको छ । छिमेकी र आफन्तको शरणमा कतिन्जेल बाँच्नु र ? दिलकुमार भन्छिन्–अरुका घर जल्दा त संघ–संस्था र सरकारले राहत दिन्छन्, मलाइ त घरसँगै संसार जल्दा पनि कसैले केही दिएन, दिलाएनन् । हुन पनि आगलागी भएको यतिन्जेल बितिसक्दा पनि राहतको पोको लिएर न रेडक्रसकर्मी नै गए न त कुनै संघ संस्था र समाजसेवी नै पुगे दिलकुमारीको घरमा ।
आर्थिक अबस्था कमजोर भएकै कारण पीडित दिलकुमारीलाई अहिलेसम्म घर जलेबापत जिल्ला दैवी प्रकोप उद्दार समितिमार्फत पाउने राहत रकम पनि प्रक्रिया नमिल्दा पाउन सकेकी छैनन् । आफु लेखपढ गर्न नसक्ने दिलकुमारीलाई अरुले प्रक्रिया पु¥याएर निवेदन गरिदिने मान्छे नहुँदा अहिलेसम्म कतैबाट राहत नमिलेको हो । यता जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने आफुलाई औपचारिक रुपमा जानकारी सहितको निवेदन नआएको बताए । प्रक्रिया पु¥याएर आए सरकारले गरेको प्रावधान अनुसारको क्षतिपुर्ति रकम दिने उनले बताए ।
- साभार्# रातोपाटि
No comments:
Post a Comment